जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकार असोजमा तेस्रो पटक विस्तार हुन लाग्दा अचानक चर्चा सुरु भयो– हुम्लाकी टासी ल्हाजोम पनि मन्त्री बन्दैछिन्।
न त टासी यसअघि राजनीतिमा थिइन्, न जेनजी आन्दोलनको नेतृत्व नै गरेकी थिइन्। उनी त हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर दुनियाँलाई सुनाउन लागिपरेकी अभियन्ता थिइन्। त्यसैले उनी मन्त्री बन्ने खबरले थुप्रै मान्छे चकित भए, अनि थुप्रै खुसी पनि भए– टासीले मन्त्रिपरिषदमा हुम्लाको विकटतम क्षेत्र र जलावायु मुद्दाको समेत प्रतिनिधित्व गर्ने भइन् भनेर।
उनी महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्ने चर्चा थियो। उनलाई मन्त्री बनाउन जेनजी अगुवा सुदन गुरुङले लबिइङ गरेका थिए।
यसबाट टासी पनि औधि खुसी थिइन्। तर, उनको खुसी लामो समय टिकेन।
मन्त्री बन्ने चर्चा सुरु भएसँगै उनको नागरिकता शंकास्पद रहेको झुटा आरोप राप्रपा ज्ञानेन्द्र शाहीले लगाए। कर्णाली जेनजी नामको एउटा समूहले पनि विज्ञप्ति जारी गर्दै उनको नागरिकतादेखि राजनीतिक संलग्नतासम्मा विभिन्न प्रश्न उठायो। ‘फ्री तिब्बत आन्दोलन’लाई उनले समर्थन जनाएको सो समूहको आरोप थियो। यी आरोप सामाजिक सञ्जालमा डढेलोजसरी फैलिए। मानिसहरूले सरकारको नियतमाथि नै शंका गर्न थाले। चिनियाँ दूतावासले समेत जानकारी मागेको खबर आए।
यो विवादसँगै प्रधानमन्त्री कार्की पछि हटिन्। झुटा आरोपले धमिल्याएको माहोल सङ्लिँदासम्म टासीको मन्त्री बन्ने मौका गइसकेको थियो।
सरकारमा जाने प्रयास असफल भएपछि टासी संसदमा जाने कोसिसमा लागिन्। प्रत्यक्ष लडेर हुम्लामा चुनाव जित्ने सम्भावना थिएन। त्यसैले समानुपातिक सांसद बन्ने उनको योजना थियो।
त्यो मौका राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई दियो। रास्वपाको समानुपातिक बन्दसूचीको जनजाति क्लस्टरमा उनको नाम पहिलो नम्बरमा थियो। तर, अहिले रास्वपाले पनि उनको नाम सूचीबाट हटाइदिएको छ।
यसपछि दोस्रो पटक मुखैमा आएको गाँस खोसिएको महसुस टासीले गरेकी छन्। उनले रास्वपाको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने पनि बताएकी छन्। सामाजिक सञ्जालबाट आफूविरुद्ध लगाइएका आरोपहरूलाई पुष्टि गर्न चुनौती दिएकी छन्।
‘मैले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको छैन र फिर्ता हुने प्रक्रियामा सहभागी पनि छैन। मैले बारम्बार भन्दै आएकी छु। म तिब्बती नागरिक होइन। म ‘फ्री तिब्बत एक्टिभिजम’ मा कुनै पनि तवरमा संलग्न भएकी छैन। मेरा प्रेमी तिब्बती होइनन्,’ उनको स्पष्टीकरण छ।
सार्वभौम देशको नागरिक भएको हिसाबले समानुपातिक र प्रत्यक्ष दुवै तरिकाले चुनाव लड्न पाउने उनको भनाइ छ। र, यो संवैधानिक अधिकारको हनन विरुद्ध कानुनी कारबाही अघि बढाउने उनको भनाइ छ।
रास्वपाको यो निर्णयबाट उनलाई मन्त्री–सांसद बनाउन प्रयास गरेका सुदन पनि क्रुद्ध छन्।
‘जनजाति समेट्न त खोजिरहेको छ रास्वपाले, तर गर्न चाहिँ सकिरहेको छैन। टासी बहिनी कर्णालीको धेरै दुर्गम ठाउँको मान्छे हो, छात्रवृत्तिमा पढेर आएर यति राम्रो काम गरेको मान्छेलाई मन्त्री बन्न खोज्दा नि खेदो गरेको छ, अहिले आएर यता (रास्वपामा) पनि खेदो गरेको छ। किन गरेको छ, बुझ्न सकेको छैन। अब म बुझ्छु,’ सुदनले नेपालखबरसँग भने, ‘अब रास्वपाले जनजाति बहिष्कार गरेर सबै खसआर्य मात्र बनाउन खोजेको हो कि के हो!’

‘बिनाकाम बदनाम’
टासी हुम्लाको नाम्खा–६ लिमी उपत्यकामा जन्मिएकी हुन्। जहाँ उनी हुर्किंदा स्कुल समेत थिएन। त्यसैले ६ वर्षको उमेरमा उनी एउटा संस्थाको सहारामा गाउँका अरु बालबालिकासँगै पढ्नका लागि काठमाडौँ आइन्।
आठ कक्षादेखि छात्रवृत्तिमा अध्ययन गर्न भारत गइन्। टासीले स्नातक तहको अध्ययन भने दिल्ली विश्वविद्यालयबाट गरिन्।
टिकटकमार्फत उनले भ्रष्टाचार, नातावातका विरुद्ध हुन लागेको जेनजी आन्दोलनबारे थाहा पाएकी थिइन्। त्यसैले टासी पनि आफ्ना साथीहरूसँग भदौ २३ गते जेनजी आन्दोलनमा भाग लिन माइतीघर पुगिन्। तर, उनी कुनै समूहमा नेतृत्वदायी पंक्तिमा थिइनन्। बस समर्थन जनाउन गएकी थिइन्। टासी आफ्ना साथीहरूसँग भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदै माइतीघरदेखि बानेश्वर पुगेकी थिइन्। बानेश्वर पुगेको केही समयमा नै त्यहाँ पानीको फोहोरा हानियो। फोहोरा हान्दा टासीको कानमा पानी पस्यो। र, उनी साथीहरूलाई छाडेर फर्किन्।
एकैछिनमा उनले थाहा पाइन्, त्यहाँ त गोलीको वर्षा भएछ। कयौँ युवाहरूको हत्या भएछ।
‘त्यसपछि मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै जेनजीको माग र उनीहरूको मर्म हो। जेनजीको मर्म कुनै पनि हालतमा मर्न दिनु हुँदैन,’ उनी भन्छिन्।
समय बदलियो, सहरको रूपरेखा फेरियो, तर हुम्लाको मुहार फेरिएन। हुम्लाको मुहार बदल्छु भन्दै धेरै नेता आए अनि गए पनि तर ती सोझा हुम्लेलीको स्थिति सुध्रिएन।
त्यहाँ ठूला दलले गाडेको जरा जेनजी आन्दोलनले पनि उखेल्न सकेको छैन। टासीलाई पनि आफ्नो ठाउँबाट प्रत्यक्ष चुनाव लड्न त मन थियो तर उनलाई थाहा छ त्यहाँ उनले पुराना दलहरूलाई जित्न सक्दिनन्।
‘मैले अहिले हुम्लाबाट प्रत्यक्ष उठेर जित्छु जस्तो लाग्दैन, मलाई जेनजीका मागहरू लिएर सदनमा जानु छ, त्यसको लागि रास्वपालाई माध्यम बनाएकी थिएँ,’ टासी भन्छिन्, ‘तर, बारम्बार मैले नेपाली भएको पुष्टि गर्नुपरेको छ। के मेरो आँखा सानो हुँदैमा मलाई नेपाली होइन भन्न पाइन्छ? के मलाई प्रस्ट नेपाली बोल्न आउँदैन भन्दैमा म नेपाली हुँदिनँ?’
मन्त्री बन्न नपाएपछि रास्वपाका थुप्रैले उनीप्रति सहानुभूति जनाएका थिए। कतिपयले उनलाई भनेका थिए, ‘सुशीला कार्की नेतृत्वको सरकारले मन्त्री बनाएन, अब हामी बनाउँछौँ।’
सोही अनुसार उनले समानुपातिक उम्मेदवारी दिएकी थिइन्। उनको नाम जनजातितर्फ पहिलो नम्बरमा आएकाले सांसद बन्ने पनि पक्कापक्की थियो। तर, अब दलले हात झिकेसँगै उनको उम्मेदवारीबारे अन्योल छ। रास्वपाकै नेताहरू पनि जवाफ नदिई पन्छिन खोज्छन्।
रास्वपा प्रवक्ता मनीष झाले पार्टीका निकायबाट आफूलाई यसबारे आधिकारिक जानकारी नआएको बताए। बरु, टासी आफैँले नाम फिर्ता लिएको आफूले सुनेको उल्लेख गरे।
‘निर्वाचन कार्यदलले मलाई आधिकारिक जानकारी केही पनि गराएको छैन, मैले अघि सचिवालयमा यसबारे प्रश्न गरेको थिएँ,’ झाले भने, ‘तर, उहाँ आफैँले फिर्ता लिएको भन्ने पनि सुनेको छु। यसमा थप स्पष्ट हुन अझै बाँकी नै छ।’
यसबारे रास्वपाकै एक जेनजीले पनि असन्तुष्टि जनाए।
‘विकट ठाउँबाट आएर उनले यति धेरै शिक्षा आर्जन गरेकी छन्, जलवायुको क्षेत्रमा त्यत्रो काम गरेकी छन्। उनको आवाज त संसदमा गुञ्जिनु पर्छ नि,’ उनले भने, ‘तर उनलाई बिनाकाममा बदनाम गराइराखिएको छ।’
Shares

प्रतिक्रिया