कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपालसँग एकता गरेको राष्ट्रिय परिवर्तन पार्टीप्रति प्रश्न उठेको छ। भक्तकुमार राईले चलाएको ‘प्रेमवाद’ नामक धार्मिक पन्थसँग सम्बन्धित रहेको दाबी गर्दै सो पार्टीप्रति सामाजिक सञ्जालमा प्रश्न उठेको हो।
सो पार्टीका अध्यक्ष भने जेनजी आन्दोलनमा खुट्टा गुमाएका घाइते राजेश पोर्तेल छन्। उनी उज्यालो नेपालको उपाध्यक्ष बन्नेगरी बिहीबार एकता भएको हो। सो पार्टीले उनेपामा सात जना केन्द्रीय सदस्य पाउने बताइएको छ।
काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङले पनि सो पार्टीप्रति आशंका जनाएका छन्। पार्टीको पारदर्शिता, आर्थिक स्रोत र विदेशी प्रभावका बारेमा प्रश्न उठाउने उनले बहिष्कारको चेतावनी समेत दिएका छन्।
उपार्जुनले सामाजिक सञ्जालमा सो पार्टीको आर्थिक स्रोतको पारदर्शिता, कुनै धार्मिक समूह र विदेशी नागरिक तथा शक्तिको स्वार्थ अनुसार नचल्ने प्रतिबद्धता र कुनै पनि समुदायको संस्कृति र पहिचानविरुद्ध नकारात्मक गतिविधि नगर्ने प्रतिबद्धता माग गरेका छन्।
‘यदि आवश्यक स्पष्टता र प्रतिबद्धता नआएमा प्रदेश–१ का चौधै जिल्लामा उक्त पार्टीप्रति बहिष्कारको नीति अपनाउन काउन्सिल बाध्य हुने स्पष्ट जानकारी गराइन्छ। यसबाट उत्पन्न हुने सम्पूर्ण राजनीतिक, सामाजिक र नैतिक परिणामको जिम्मेवारी सम्बन्धित पक्ष (उज्यालो नेपाल समेत) ले नै वहन गर्नुपर्नेछ,’ उपार्जुनले लेखेका छन्।
सो पार्टी यसअघि परिवर्तन संघ भनेर दर्ता भएको र दुर्गा प्रसाईंलाई प्रमुख अतिथि बनाएर घोषणा गरिएको उपार्जुनको दाबी छ।
‘हाल पार्टीको मुख्य भूमिकामा घाइते जेनजीलाई राखेको भए तापनि विदेशी नागरिकबाट परिचालित पार्टी हो,’ उनले भने।
यो समूहले पहिले हर्क साम्पाङलाई सहयोग गरेको थियो। र, पछि कुरा नमिलेपछि अलग भएको थियो।
Shares

प्रतिक्रिया