राजनीति


नयाँ रणनीति लिएर झापा झर्दै ओली, चुनावी कमान्डर दाहाल भन्छन् : बालेनले हल्ला गरेजस्तो स्थिति छैन

नयाँ रणनीति लिएर झापा झर्दै ओली, चुनावी कमान्डर दाहाल भन्छन् : बालेनले हल्ला गरेजस्तो स्थिति छैन

सागर न्यौपाने
माघ २, २०८२ शुक्रबार २१:२९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माघ ५ गते झापा जाने भएका छन्। प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवारी दर्ता गर्न उनी झापा जान लागेका हुन्। त्यसअघि चुनावी तयारी गर्न उनले नेताहरूलाई झापा उतारिसकेका छन्। 

बिहीबार र शुक्रबार सय बढी विभिन्न जिम्मेवारीमा रहेका नेताहरू दमक पुगेका छन्।

जेनजी आन्दोलनले सत्ता गुमाएपछि असोज १२ गते स्थानहद तोकिएका ओली जिल्लाबाहिर जान पाएका थिएनन्। पुस २१ गते स्थानहद फुकुवा भएपछि पहिलोपटक उपत्यकाबाहिर जाने कार्यक्रम अन्तर्गत ओली गृहनगर पुग्न लागेका हुन्। 

माघ ५ गते बिहान ११ बजे ओली भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

विमानस्थलमा उनको भव्य स्वागत हुने र पाँच हजार बढी मानिसको ¥यालीसहित दमक पु¥याउने कार्यक्रम रहेको एमाले कोसी प्रदेश सभा सदस्य होम थापाले बताए। 

जेनजी आन्दोलनकारीले झापामा रहेको घर आगजनी गरेकाले ओली बस्ने घरको खोजीमा नेताहरू जुटेका छन्। चुनावी अभियानभर बस्नको लागि घर खोजिरहेको उनको भनाइ छ। 

माघ ६ गते झापा ५ बाट उम्मेदवारी दिएपछि आक्रामक रुपमा चुनावी प्रचार अभियान सुरु गर्ने थापाले जानकारी दिए।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि यसपटकको प्रतिनिधि सभा चुनाव झापा ५ बाटै लड्ने तयारीमा छन्। बालेनले टक्कर दिने भएपछि अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रको चुनावी रणनीति तयार पारिसकेका छन्।

उनले निकट नेतालाई झापा पठाइसकेका छन्। सो क्षेत्रको नयाँ मतदाता, मत प्रभावित पार्नसक्ने सम्भावित व्यक्ति र समुदायलाई भड्किन नदिन उपाय खोजी गर्न भनिसकेका छन्।

चुनावी कमान्डर देवेन्द्र दाहाल 
ओलीले चुनावी कमान्डर देवेन्द्र दाहाललाई बनाएका छन्। दाहालले २०६४ को पहिलो संविधान सभाबाहेक लगातार ओलीको चुनावी कमान्डर बनेर काम गरिरहेका छन्।

यसपटक पनि उनले ओलीको निर्वाचन क्षेत्रमा रणनीति बनाउनेदेखि नेता परिचालन थालिसकेका छन्। उनी निर्वाचन क्षेत्र सबै घुमेर त्यसको रिपोर्ट ओलीलाई दिन काठमाडौँ आइपुगेका छन्।

एमालेका केन्द्रीय सदस्यमध्ये ११ जना झापाका छन्। यिनै नेताहरूले झापा ५ का विभिन्न ठाउँमा चुनावी गतिविधि थालिसकेका सुरु गरिसकेका छन्। प्रदेश सभाका सांसद, केन्द्रीय सदस्य लगायतलाई झापा केन्द्रित गराइसकिएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन झापा जाने भएपछि चुनावी रणनीति बदलेको दाहालले बताए।

‘रणनीति बदल्नैपर्छ। सामाजिक सञ्जाललाई व्यवस्थित गर्दैछौँ, सुरु गरिसकेका छौँ। हरेक घरघरमा पुग्ने, मतदातालाई सम्बोधन गर्दै अध्यक्ष आफैँले सन्देश पठाउनुहुन्छ,’ उनले नेपालखबरसँग भने। 

बालेन पक्षकाले निर्वाचन क्षेत्रमा व्यापक हल्लाखल्ला गरेको उनी बताउँछन्।

‘मतदाताको मनस्थिति बिगार्न सकिन्छ कि भनेर बालेनका सहयोगीहरूले हल्ला बढी गरेका छन्। तर, हल्ला गरेजस्तो होइन,’ दाहालले थपे। 

एमाले कमल गाउँपालिकाका अध्यक्ष हरि ढकालले पनि अघिल्ला चुनावभन्दा यसपटक धेरै कुरामा ध्यान दिनुपर्ने अवस्था आएको बताए।  

‘०७०, ०७४ र ०७९ को चुनावमा पुरातन शैलीमै चुनाव प्रचार गरेका थियौँ, तर यसपटक डिजिटल, फिजिकल लगायत सम्भव भएसम्मका उपायबाट गर्नुपर्छ ,’ उनले भने, ‘मतदातालाई ओलीसँग सिधै सम्पर्क गराउँछौँ।’ 

सो क्षेत्रमा ओली विरोधी धारणा राख्नेहरू पनि छन्। तर, पार्टी संगठन एकताबद्ध र एकमतले खटिएको चुनावी कमान्डर दाहाल बताउँछन्। 

चुनावमा खटिएका एमाले केन्द्रीय सदस्य होम थापाले समर्थक, शुभेच्छुक र पार्टी कार्यकर्तालाई कुनै पनि हालतमा बिच्किन नदिने  र उत्साहित भएर खटिने वातावरण बनाएको बताए। 

‘हामी जनताका बीचमा गइरहेका छौँ। मिसन ०८४ हामीले चलाइरहेकै थियौँ। हाम्रो टोलटोलसम्म संगठन छ र त्यो क्रियाशील छ। जेनजी आन्दोलनपछि हामी जनताकै घरदैलोमा पुगेका थियौँ। निर्वाचन क्षेत्रमा केन्द्रित भएका थियौँ,’ थापाले भने, ‘अन्य राजनीतिक दलका नेता कार्यकर्ताले पनि ओलीलाई मत दिनुहुन्छ। अघिल्लो पटक पनि गरेको हो। यसपटक झन् गर्नुहुन्छ।’

नेताहरूका अनुसार बालेनले झापा ५ मा उठ्ने तयारी गरेपछि एमालेले सक्रियता अझ बढाएको हो। युवाहरूलाई मतदाताको चाहना बुझ्न खटाइएको र जनप्रतिनिधि र अन्य नेताले सम्भावित चुनावी कार्यक्रम बनाइरहेको एमालेको भनाइ छ।

‘यो क्षेत्र र राष्ट्रका निम्ति ओली प्रिय नेता हुनुहुन्छ,’ थापाले भने।

सो क्षेत्रबाट ओलीले २०४८ देखि ०७९ सम्म ६ पटक चुनाव लडिसकेका छन्। २०६४ बाहेक उनी सो क्षेत्रमा पराजित भएका छैनन्।

यसपटक सभा र कार्यक्रम भन्दा मतदातासँग प्रत्यक्ष भेटवार्ता र सामाजिक सञ्जालमार्फत प्रचार गर्ने तयारी भइरहेको नेताहरू बताउँछन्। चुनावी कमान्डर दाहालले सबै हिसाबले तयारी गरिएको बताए।

एमालेले चुनावका लागि गठन गरेको नेसनल भोलेन्टियर्स फोर्सलाई पनि खटाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad