राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा समर्थक र बाजागाजासहित पुगेर उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।
शाहको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेसराज भट्टराई समर्थक रहेका छन्। स्थानीय संस्कृति झल्किने विभिन्न झाँकी र र्यालीसहित निर्वाचन कार्यालय पुगेका शाहलाई स्वागत गर्न रास्वपाका कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।
पेसाले स्ट्रक्चरल इन्जिनियर रहेका बालेन शाह पछिल्लो समय नेपाली राजनीतिको केन्द्रमा रहेका पात्र हुन्। र्याप संगीत र युवापुस्तामाझ लोकप्रिय छवि बनाएका शाहले २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको प्रमुख निर्वाचित भएसँगै देशव्यापी चर्चा कमाएका थिए। उनले चालेका कदमहरूले उनलाई एक 'मिसन' बोकेको नेताका रूपमा स्थापित गर्यो।
परम्परागत राजनीतिक शक्तिहरूलाई चुनौती दिँदै 'पर्फमेन्स'मा आधारित राजनीति गर्नुपर्ने वकालत गर्ने शाहले झापा ५ लाई आफ्नो नयाँ राजनीतिक गन्तव्य बनाएका हुन्। विशेष गरी युवा मतदाता र सुशासनका पक्षधरहरू माझ उनी आशाको केन्द्र बनेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको यस क्षेत्रमा शाहको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक र त्रिपक्षीय बनाउने अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया