प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार भव्य स्वागत गरिएको छ।
मंगलबार बिहानैदेखि कार्यकर्ताको बाक्लो उपस्थितिबीच उनले दमक क्षेत्रको अवलोकन गरे। मनोनयन दर्दा गर्ने क्रमम ओलीलाई कार्यकर्ताले शक्ति प्रदर्शनसहित स्वागत गरेका हुन्।

दमकस्थित निर्वाचन अधिकृतको कार्यालय आसपासको क्षेत्र बिहानैदेखि एमालेका राता झण्डा र चुनाव चिह्न सूर्य अङ्कित ब्यानरले भरिएको थियो। ओली आउने सूचनाले उत्साही कार्यकर्ता नाराबाजीसहित सडकमा उत्रिएका थिए।
सुरक्षा व्यवस्था कडा पारिए पनि समर्थकहरूको भीड व्यवस्थापन गर्न हम्मे–हम्मे परेको देखिन्थ्यो।
चुनावी रौनक र क्रेज ओलीको सवारी चल्दा सडकको दुवै किनारमा उभिएका शुभेच्छुकहरूले ताली बजाएर र फूलमालाले उनको स्वागत गरे। विशेषगरी दमक, लखनपुर र गौरादह क्षेत्रबाट आएका कार्यकर्ताले चर्का नारा लगाउँदै माहोल तताएका थिए।
आठौँ पटक झापा-५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका ओलीको क्रेज युवादेखि वृद्धवृद्धासम्ममा उत्तिकै देखियो।
केही ठाउँमा 'असभ्य व्यवहार'
केही स्थानमा भने संशय र आक्रोशको स्वर पनि सुनिएको थियो। मनोनयनपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष ओलीले विपक्षी दल, विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले अवरोध सिर्जना गरेको भन्दै असन्तुष्टि जनाए। 'केही ठाउँमा असभ्य व्यवहार गरियो, जसले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ,' ओलीले सञ्चारकर्मीसँग भने।
झापा–५ मा ओलीको उम्मेदवारीसँगै चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। एकातिर भव्य स्वागत र अर्कोतिर विपक्षीको अवरोधका बीच ओलीको यो पटकको झापा यात्रा राजनीतिक रूपमा निकै 'हाइभोल्टेज' बनेको छ।
मनोनय दर्ता क्रममा देखिएका दृश्य





Shares

प्रतिक्रिया