वैकल्पिक राजनीतिको प्रारम्भिक लहरमा चर्चाको केन्द्रमा रहेकी रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएकी छिन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएकी हुन्।
बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले घन्टी चुनाव चिह्नबाट मनोनयन दर्ता गराइन्। २०७४ स्थानीय चुनाबमा काठमाडाैं महानगरपालिकाको मेयरकी उम्मेदवार बनेकी उनका लागि निर्वाचन संसदीय यात्राको पहिलो खुड्किलो हो। मेयरको उम्मेदवार हुँदा उनले २३ हजार ४३९ मत पाएकी थिइन्। राजनीतिमा युवा हस्तक्षेपको प्रतीकका रूपमा लिइएको त्यो मत परिणामले उनलाई राष्ट्रिय चर्चामा पुर्याएको थियो ।
विवेकशील र साझा पार्टीबीचको टुटफुट र एकताको श्रृङ्खलापछि स्वतन्त्र रहेकी उनी अन्ततः रास्वपाको निलो कोटमा सजिएर मैदानमा फर्किएकी छिन् ।
पुरानो विरासत र नयाँ चुनौती कांग्रेसको गढ मानिने काठमाडौं–१ मा रञ्जुको उम्मेदवारीले चुनावी समीकरणलाई रोचक बनाएको छ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले भनिन्, 'हिजो म मेयरको उम्मेदवार हुँदा काठमाडौंले मलाई एउटा आशाका रूपमा हेरेको थियो, आज म त्यो आशालाई विश्वासमा बदल्न संसदीय मैदानमा आएकी छु।' सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र र नेपाली कांग्रेसका प्रवल थापा उम्मेदवार छन्।
Shares

प्रतिक्रिया