राजनीति


पहाड उक्लिँदै बालेन: पाथीभरा दर्शन गर्ने, तीन जिल्लाका उम्मेदवार भेट्ने

पहाड उक्लिँदै बालेन: पाथीभरा दर्शन गर्ने, तीन जिल्लाका उम्मेदवार भेट्ने

रास्वपा वरिष्ठ नेता बालेन साह


सुमन सुस्केरा
माघ ७, २०८२ बुधबार १९:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा क्षेत्र नं.५ का उम्मेदवार बालेन्द्र (बालेन) शाह बिहीबारदेखि पूर्वी पहाडी जिल्लाको भ्रमणमा निस्कने भएका छन्। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवीको दर्शन गर्ने उद्देश्यले निस्कन लागेका शाहले भ्रमणका क्रममा तीन जिल्लाका उम्मेदवार र कार्यकर्तासँग चुनावी रणनीतिबारे छलफल गर्ने कार्यतालिका छ।

शाहको सचिवालयका अनुसार भ्रमणको सुरुवात बिहीबार बिहान इलामबाट हुनेछ। उनले इलाम क्षेत्र नं. १ का रास्वपाका उम्मेदवार विमल गदाल र क्षेत्र नं. २ का उम्मेदवार गोकुलबहादुर राईसहित स्थानीय नेताहरूसँग अनौपचारिक संवाद गर्नेछन्। इलाममा बिहीबारदेखि नै रास्वपाको चुनावी अभियान सुरु हुने तयारी छ।

रास्वपा इलामका सभापति टीका वडारीले शाहको उपस्थितिबारे अनौपचारिक सल्लाह भए पनि ठूला सभाको भने तय नभएको जानकारी दिए। 'उहाँ उम्मेदवारहरूसँगको भेटघाट र आन्तरिक छलफलमा केन्द्रित हुनुहुनेछ', स्रोतले भन्यो।

बिहीबार साँझ ताप्लेजुङ पुग्ने शाहले त्यहाँको बजार आसपासका शुभेच्छुक र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ। रास्वपा ताप्लेजुङका उपसभापति दावा शेर्पाका अनुसार शाह बिहीबार ताप्लेजुङ सदरमुकाममा बस्ने र शुक्रबार बिहानै पाथीभरा दर्शनका लागि प्रस्थान गर्नेछन्। ताप्लेजुङमा रास्वपाले वीरेन्द्र श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ।

ताप्लेजुङबाट फर्किने क्रममा शुक्रबार दिउँसो शाह पाँचथर पुग्ने र त्यहाँका नेता-कार्यकर्तासँग चुनावी वस्तुस्थितिबारे जानकारी लिनेछन्। पाँचथरमा बसाईपछि उनी शनिबार झापा फर्किने सचिवालयले जनाएको छ।

काठमाडौँ महानगरका मेयरसमेत रहेका शाहको यो भ्रमणलाई 'धार्मिक र अनौपचारिक' भनिए पनि चुनावी सरगर्मी बढेका बेला यसले पूर्वी पहाडमा रास्वपाको माहौलमा ऊर्जा थप्ने स्थानीय नेताहरूको बुझाइ छ। उनी जाने जिल्लाहरूमा औपचारिक जानकारी पुगे पनि सुरक्षा र समयको संवेदनशीलताका कारण कार्यक्रमलाई लो-प्रोफाइल राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad