सिन्धुली २ मा आफूले खडा गरेको बागी उम्मेदवारी फिर्ता लिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले अस्वीकार गरेका छन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले गजुरेललाई बागी उम्मेदवारी फिर्ता लिन लिखित निर्देशन दिए पनि उनले अस्वीकार गरेका हुन्।
प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले संयोजक र सहसंयोजकले गजुरेललाई बागी उम्मेदवारी फिर्ता लिन लिखित निर्देशन दिएको बताए।
‘पार्टीको नीति विपरित बागी उम्मेदवारका प्रस्तावक बनेका गजुरेल र उम्मेदवार महेश्वर दाहाल दुवैलाई प्रस्तावक र उम्मेदवारी फिर्ताको लागि संयोजक र सहसंयोजकबाट लिखित निर्देशन भएको छ,’ आचार्यले नेपालखबरसँग भने, ‘यस्तै समस्या कालीकोटमा पनि थियो। केन्द्रको निर्देशनपछि त्यहाँका बागी उम्मेदवार जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ।’

आज बिहान भर्चुअल माध्यमबाट भएको बैठकमा संयोजक प्रचण्डले बुढालाई उम्मेदबारी फिर्ता लिन भनेपछि बुढा उम्मेद्वारी फिर्ताका लागि सहमत भएका हुन्।
तर सिन्धुली २ मा भने कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नहुने दाबी गजुरेलले गरे।
‘अब हामी पछाडि हट्ने अवस्था छैन, उनले भने, ‘पछाडि भिर छ, अगाडि पहरो छ। अब पछाडि हट्ने भनेको भिरबाट खस्ने हो। बरु अगाडिको चट्टानसँग टकराउने हो। भिरबाट लडेर नमर्ने नीति हाम्रो छ। चट्टानसँग टकराएर मरिएछ भने अलग कुरा भयो। महेश्वर दाहालको उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुँदैन।’
उनले महेश्वरको उम्मेदवारी फिर्ताको लागि संयोजक प्रचण्डबाट पत्र आएको बताए। ‘उहाँले हामीलाई पत्र लेख्नु भएको छ। तर, हामीले राजन दाहाललाई ब्याक गर्नुस् भन्ने जबाफ दिएका छौँ,’ गजुरेलले भने।
सिन्धुली २ मा नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन)को उम्मेदवारीविरुद्ध नेकपाकै अर्का नेता महेश्वर दाहाललाई गजुरेलले बागी उम्मेदवार खडा गरेका छन्। बागी उम्मेदवारी दिएका महेश्वरको प्रस्तावक गजुरेल आफैँ छन्।
सिन्धुलीमा देखिएको विवाद सुल्झाउन प्रचण्डले गजुरेललाई काठमाडौँ बोलाएका थिए।
सुनसरी भूगोल भएका नेकपाका केन्द्रीय सदस्यहरूले सिन्धुलीमा नेकपाका उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गर्ने गजुरेललाई कारबाही गर्न माग गरेका छन्।
गजुरेल हाल नेकपाको कोसी प्रदेशको इन्चार्ज छन्।
०७९ को निर्वाचनमा पनि सिन्धुली २ बाट लेखनाथ दाहाल ‘राजन’ नै विजयी भएका थिए। दाहाल २७ हजार ५१७ मत ल्याएर विजयी हुँदा एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याएका थिए।
०७४ को निर्वाचनमा सो क्षेत्रबाट हरिबोल गजुरेल निर्वाचित भएका थिए। आफू निर्वाचित हुँदै आएको क्षेत्रमा राजन दाहाल उम्मेदवार बनेपछि गजुरेल रुष्ट छन्।
Shares

प्रतिक्रिया