‘हामीलाई गोर्खाली हुनमा गर्व छ, तिम्रो जित होस्।’
‘जित हामी सबैको होस्।’
‘तिम्रो जित भएपछि हाम्रो जित त्यत्तिकै हुन्छ। विश्व हल्लायो एउटा गुरुङको छोराले!’
प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेर गोरखा पुगेका सुदन गुरुङलाई एक स्थानीय महिलाले माला लगाइदिँदै गर्दाको कुराकानी हो यो। यसअघिका चुनावमा फरकफरक उम्मेदवारप्रति आशा राख्दै निराश भएकी ती महिला यसपालि सुदनले केही गर्लान् कि भन्ने आशामा छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा–१ को उम्मेदवार बनेपछि सुदन घरदैलो अभियानमा लागिरहेका छन्। जेनजी आन्दोलनसम्म उनको राजनीतिमा लाग्ने कुनै सोच थिएन। तर, आन्दोलनले उनलाई एकाएक स्थापित गरिदियो।
तर, त्यसपछि उनको भूमिकामा कतिपयले प्रश्न उठाए। उनको नागरिकताबारे नै अनेक हल्ला चल्यो। त्यसको जवाफ दिन भन्दै जन्मथलो चुमनुब्री गए। र, गाउँ पुगेपछि, त्यहाँको अवस्था बुझे।
‘त्यहाँको दुःख, भौतिक पूर्वाधारको अवस्था, विकासको गति र सबै हिसाबले पिछडिएको देखेपछि यहीँबाट चुनाव लड्छु भन्ने अठोट गरेँ,’ सुदन भन्छन्, ‘यो ठाउँले कहिल्यै पनि राम्रो नेता पाएनछ, जहिले पनि पिछडिएको ठाउँ, चुनावमा नेताहरू आउने, आशा देखाउने अनि चुनाव जितेर जाने ठाउँ रहेछ।’
‘गोरखा मेरो जरा हो, आफ्नो पुर्खा, जरा अनि इतिहास बिर्सिनु हुँदैन भनेर चुनाव लड्ने निर्णय गरेँ,’ उनले सुनाए।
सुदन राष्ट्रिय चर्चामा अचानक उदाएका व्यक्ति हुन्। जेनजी आन्दोलनमा स्वयंसेवक बनेर गएका उनी आन्दोलन सकिँदा सरकार बनाउने ‘किङमेकर’ बनिसकेका थिए। सुशीला कार्कीको अन्तरिम सरकार गठन र मन्त्रीहरूको नियुक्तिमा उनको प्रत्यक्ष भूमिका थियो।
तर, आन्दोलनताका जति सजिलै उनले आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गरे, त्यसलाई निरन्तरता दिन भने उति नै कठिन छ। अर्को शब्दमा भन्दा, जति सजिलै उनी जेनजीका नेता बने, संसदमा पुग्न त्यति सहज छैन।
मूलधारको राजनीतिमा प्रवेश गर्ने उनको इच्छालाई सम्मान गर्दै रास्वपाले गोरखा १ को टिकट सुम्पेको छ, तर त्यसलाई चुनावी जितमा बदल्न सुदनलाई सहज देखिँदैन।
यही दुसाध्य काम फत्ते गर्न उनी अहिले आफ्नो क्षेत्रमा मेहनत गरिरहेका छन्। दौरासुरुवाल र कालो टोपी लगाएर घरदैलो गर्दै हिँडेका छन्। स्थापित दलको दबदबा रहेको गोरखामा कतिपयले उनलाई प्रतिस्पर्धी नै मानेका छैनन्। तर, सुदन आफूलाई जितको दाबेदार मान्छन्।
‘यहाँ जितको आधार भन्दा पनि जनताको दुःख बुझ्न जरुरी छ। म त मलाई भोट दिनुस् भन्नको साटो तपाईंको दुःख के छ, हामीले कसरी समाधान गर्न सक्छौँ र यो कुरालाई केन्द्रसम्म कसरी पुर्याउन सक्छौँ भनेर बुझ्ने हो। किनकि गाउँठाउँको समस्या कहिल्यै केन्द्रसम्म पुगेको देखेको छैन। त्यही भएर हाम्रो रणनीति र चुनावी अभियान भनेकै जनताको दुःख बुझ्नु हो,’ सुदन भन्छन्।
रातिसम्म घरदैलो गर्ने, मन्दिरहरूको दर्शन गर्ने गर्दै प्रचार गरिरहेका छन् उनी। मतदाता आफूप्रति सकारात्मक देखिएको उनको भनाइ छ।

चुनावी प्रचारप्रसारकै क्रममा ठूलो भारी बोकेर हिँडेको उनको भिडिओ हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ बाट हरिराज अधिकारी नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) बाट २९ हजार ८६० मत ल्याएर विजयी भएका थिए। त्यस्तै, नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६४३ मत ल्याएका थिए। सो समयमा उनीहरूको मतान्तर ३ हजार २१७ थियो।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं ३३ हजार ४२८ मत ल्याएर विजयी भए। उनलाई माओवादी केन्द्रको साथ थियो। एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ र रास्वपाका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत ल्याएका थिए।
फागुन २१ को चुनावमा पनि नेकपाका हरिराज अधिकारी, कांग्रेसका प्रेमकुमार खत्री र एमालेबाट केदारमणि खनाल उम्मेदवार छन्।
हरिराज अधिकारी गोरखा–१ का लागि परिचित अनुहार हुन्। संगठनको बल र एमालेको समर्थनमा ०७४ को चुनाव उनले जितेका थिए।
यसपटक कांग्रेसबाट उम्मेदवार बनेका प्रेमकुमार खत्री सफल व्यवसायी हुन्। यद्यपि, कांग्रेसका महासमिति सदस्य खत्री पहिलो पटक चुनावमा उठ्दै छन्।
तर, रास्वपा वैकल्पिक शक्तिका रूपमा उदाएकाले आफूले जित्ने सुदनको तर्क छ। जेनजी आन्दोलनपछि धेरै मतदाताको मनस्थिति बदलिएको उनले दाबी गरे।
आफूलाई कांग्रेस कार्यकर्ताहरूले खुलेआम सघाउने वाचा गरेको उनको भनाइ छ।
नतिजा जेजस्तो आए पनि गोरखा–१ मा सुदनको उम्मेदवारीले प्रतिस्पर्धा रोचक बनाएको स्थानीयहरू बताउँछन्।
Shares

प्रतिक्रिया