राजनीति


उपत्यकाभित्रका रास्वपा उम्मेदवारसँग बालेन्द्र साहको छलफल

उपत्यकाभित्रका रास्वपा उम्मेदवारसँग बालेन्द्र साहको छलफल

नेपालखबर
माघ ११, २०८२ आइतबार १५:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरूसँग छलफल गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता साहले आइतबार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन्। नेता साहले उम्मेदवारहरूसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरूले बताए। 

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहकी नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन्। उनले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गरिन्। 

उनकाअनुसार नेता साहले उम्मेदवारहरूलाई आफूहरूको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनताका समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गरे। 

नेतृ तोषिमा कार्कीले भनिन्,  ‘उहाँले हामीहरुसँग अपडेट लिनुभएको हो। अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो। उहाँले स्पष्ट रुपमा भन्नुभएको छ–सरकार हाम्रो बन्दैछ। ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस्। उहाँहरुको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ।’

पार्टीकी नेतृ रञ्जु दर्शनाले पनि चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन्। 

उनले भनिन्, ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नुभयो। अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो।’ 

रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता शाहसँग भेट भएको बताए। उनले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे।

उनले आफूहरू सौहाद्र्धपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्साथ गरेको पाइएको पनि बताए।

उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३  मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङको लागि म आएको थिएँ। हामी सौहार्द्धपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौँ। नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसाथ गरेको देखिन्छ। हामीलाई बहुमतले अनुमोदन गर्नुहुन्छ भन्ने विश्वास छ।’

अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता बालेन्द्र साहले झापा–५ बाट उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad