नवलपरासी पूर्व–२ मा २०७४ देखि नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो चलिरहेको छ।
०७४ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका तिलबहादुर महत क्षेत्री (तिलक) ३९ हजार ५३ मतका साथ निर्वाचित भएका थिए। उनलाई कांग्रेसका विष्णुकुमार कार्कीले टक्कर दिएका थिए।
०७९ को निर्वाचनमा भने कार्कीले नतिजा उल्ट्याए। ३६ हजार १३२ मतका साथ उनी निर्वाचित भएका थिए।
यसपटक कांग्रेसका कार्की चुनावी दौडमा छैनन्। तर, एमालेका तिलबहादुर महत तेस्रो पटकका लागि मैदानमा उत्रिएका छन्।
कांग्रेसले भने यसपटक नयाँ अनुहारलाई मौका दिएको छ। कांग्रेसका तर्फबाट ओमकुमार घर्तीमगर उम्मेदवार छन्। जो कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका विश्वासपात्र मानिन्छन्।
नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका उनी नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सभापति पनि हुन्। नवलपुर–२ आदिवासी जनजातिको बाहुल्य भएको क्षेत्र हुनाले घर्ती प्रमुख दाबेदार हुन्।
कांग्रेस र एमालेको बर्चस्व तोड्न भन्दै नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट गणेशमान महतो अगाडि सरेका छन्। महतो नवलपुर क्षेत्रमा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। तर पछि उनी नेकपामा प्रवेश गरे। उनी पनि यो क्षेत्रका प्रभावशाली नेता मानिन्छन्।
तीन स्थापित दलले तीन प्रभावशाली उम्मेदवार अघि सारेकाले नवलपरासी–२ को चुनावी प्रतिस्पर्धा रोचक बनेको छँदैछ, त्यसमाथि रास्वपाले अघि सारेका जेनजी उम्मेदवारले पनि अलग चर्चा कमाइरहेका छन्। उनी हुन्– मनिष खनाल। जो मात्र २६ वर्षका भए।
जेनजी आन्दोलनको जगमा हुन लागेको यस निर्वाचनमा रास्वपाले खनाललाई टिकट दियो। जो यस क्षेत्रको सबैभन्दा कान्छा उम्मेदवार पनि हुन्।
पुराना राजनीतिक दलहरूल खेलेको ‘म्युजिकल चेयर’ र जितेर गएका प्रतिनिधिहरू सदनमा कहिल्यै सक्रिय नभएको हुनाले उनीहरूको प्रभाव मतदातामा कम भएको मनिषको दाबी छ।
‘यो क्षेत्रबाट जितेर गएका नेता सदनमा कहिल्यै पनि सक्रिय भएनन्। त्यसैले अब नयाँ उम्मेदवार छान्नेमा म विश्वस्त छु,’ उनी भन्छन्।
खनाल नेपाल जेनजी फ्रन्ट (रक्षा बम समूह) का संवाद समिति संयोजक हुन्। उनी अधिवक्ता पनि हुन्। त्यसैले सरकार र जेनजीबीच भएको जेनजी जनआन्दोलनको सम्झौता तयार पार्नमा उनले मुख्य भूमिका खेलेका थिए।
उक्त सम्झौता गर्दै गर्दा त्यसको अपनत्व अन्य राजनीतिक दलहरूले पनि लिनुपर्छ भन्ने उनको राय थियो। त्यही भएर दलहरूसँग पनि सम्झौता गरिनुपर्ने प्रस्ताव उनले राखेका थिए।
तर त्यसो हुन सकेन। सरकार र जेनजीबीच मात्र सम्झौता भयो।
उक्त सम्झौता कागजमा मात्र सीमित हुन नदिन पनि जेनजी नै सदनमा पुग्नुपर्ने उनको तर्क छ।
‘त्यो काम मैले गर्न सक्छु भनेर उम्मेदवारीमा दाबेदारी प्रस्तुत गरेको थिएँ। त्यसलाई रास्वपाले स्वीकार गर्यो,’ उनले भने।
कानुनी ज्ञान, शैक्षिक योग्यता र सामाजिक सक्रियताले आफू भरोसायोग्य भएको उनको भनाइ छ।
हाल मनिष नवलपुरमा निरन्तर छलफल र परिचयात्मक कार्यक्रम व्यस्त छन्। आफू चुनिने सम्भावनाले नवलपुरका युवाहरू उत्साहित भएको उनको भनाइ छ।
‘जेनजी आन्दोलनकै जगमा हुन लागेको निर्वाचनमा विद्रोहमै होमिएको मान्छे उम्मेदवार हुँदा स्थानीय उत्साहित हुनुहुन्छ,’ उनले भने।
कतिपयले भने कम उमेर हुनाले आलोकाँचो हो कि भनेर प्रश्न गर्ने गरेको उनले सुनाए। तर, आफू परिपक्व भएको उनको जवाफ छ।
मनिषले पूर्वसांसद असीम साहको स्वकीय सचिवको रूपमा काम गरेका थिए। त्यसकारणले संसदीय अनुभव केही हदसम्म आफूलाई भएको उनको भनाइ छ।
‘मेरो क्षेत्रमा पहाड पनि छ, भित्री मधेस पनि छ र तराई पनि छ। त्यसकारण भौगोलिक कठिनाइलाई कसरी चिर्ने भन्ने खालको चुनौती छ,’ उनले नेपालखबरसँग भने।
यी चुनौतीका बाबजुद स्थापित दलका अनुभवी नेतालाई आफूले टक्कर दिनसक्ने उनी बताउँछन्।
‘म यही क्षेत्रमा हुर्केबढेको मान्छे हुँ। संविधानसँगै संसदीय अनुभव पनि छ। जेनजी विद्रोहको मर्मलाई पनि बोक्न सक्ने हुनाले अन्य उम्मेदवारलाई टक्कर दिन सक्छु,’ मनिष भन्छन्।
सांसदले के काम गर्नुपर्छ, संसदमा कसरी प्रस्तुति दिनुपर्छ, विधेयकहरू कसरी बन्छन् जस्ता सम्पूर्ण प्रक्रिया आफूले बुझेको उनको छ।
‘यही कुरा म नवलपूर–२ का मतदातालाई पनि बुझाइरहेको छु,’ उनले भने।
Shares

प्रतिक्रिया