राजनीति


ओखलढुंगामा एमाले भताभुंग हुँदा नेकपा दाबेदार, कांग्रेसलाई आफ्नै मत जोगाउन मुस्किल

रामहरि खतिवडातिर औँला उठाउँदै एमाले
ओखलढुंगामा एमाले भताभुंग हुँदा नेकपा दाबेदार, कांग्रेसलाई आफ्नै मत जोगाउन मुस्किल

उजिर कार्की
माघ १२, २०८२ सोमबार ६:१५, काठमाडौँ

फागुन २१ को निर्वाचनले ओखलढुंगामा डेढ महिना पहिले नै राजनीतिक उथलपुथल ल्यायो। २०७९ को निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत पाएको नेकपा एमालेको जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा विलय भयो। 

यसअघि जितेका कांग्रेसका रामहरि खतिवडाको टिकट बाटैमा खोसियो। खतिवडाको टिकट खोसिँदा कांग्रेसमा पनि असन्तुष्टि चुलियो। 

तर, यसअघिको निर्वाचनमा कांग्रेस र एमालेको भन्दा आधा कम मत ल्याएको नेपाली कम्युनिस्ट पार्टी भने (पूर्व माओवादी) चुनावको मुखमा एकाएक बलियो बनेर आएको छ। 

यी घटनाले यसपटकको चुनाव कसले जित्छ भन्ने आकलन गर्न कठिन हुन पुगेको छ। अघिल्ला दुई चुनावमा गठबन्धन गर्ने दलले सहजै नतिजा आफ्नो पक्षमा पारेका थिए।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा नेपाली कांग्रेसले कुमार लुइँटेललाई अगाडि सार्दा एमालेले केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार उठाएको छ। उनी लिखु गाउँपालिकाको उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएकी हुन्। एमालेका पूर्व प्रदेश सांसद अम्बिरबाबु गुरुङ भने नेकपाबाट उम्मेदवार बनेका छन्। नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। 

ओखलढुंगामा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। चुनाव जित्ने दाबी भने प्रमुख तीन दलको छ। 

२०७९ सालको निर्वाचनमा माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका थिए। खतिवडाले ३३ हजार ५५६ ल्याउँदा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाएका थिए। जुन निर्वाचनमा रास्वपाकी शोभा कार्कीले ७१४ मत ल्याएकी थिइन्। 

तर समानुपातिक मत एमालेको बढी छ। एमालेले २५ हजार २४५ मत पाउँदा कांग्रेसले २३ हजार ९९९ मत ल्याएको थियो। माओवादीको ७ हजार १७२ मत छ। रास्वपाले २ हजार ४१८ मत ल्याएको थियो। अहिले नेकपामै मिसिएको एकीकृत समाजवादीको मत जिल्लामा ४३० थियो। 

२०७४ मा पनि गठबन्धन नै थियो। तर त्यतिबेला एमाले र माओवादीले गठबन्धन गरेर कांग्रेसलाई पराजित गरेका थिए। एमालेका यज्ञराजले ३२ हजार ५८० मत ल्याउँदा रामहरिले २७ हजार ३२७ मत ल्याएका थिए। 

समानुपातिकमा २०७९ मा जस्तै एमालेकै बढी थियो। एमालेको २५ हजार ८५८ मत थियो। कांग्रेसको २५ हजार ११४ र माओवादीको ६ हजार ५०२ मत आएको थियो। अरु पार्टीको एक हजारभन्दा कम थियो।

२०७० सालमा यज्ञराजलाई हराउँदै रामहरि विजयी भएका थिए। पालैपालो पछिल्ला तीन चुनाव जितेका यज्ञराज र रामहरिले यसपटक टिकट पाएनन्। उनीहरूले टिकट नपाउँदा जिल्लाको चुनावी माहोल नै बदलिएको छ। 

एमाले ओखलढुंगाका पूर्वउपाध्यक्ष हर्कबोल राईले टिकट वितरणको विषयमा असन्तुष्टि जनाउँदै जिल्ला अध्यक्षसहितले पार्टी छाडेको बताए। तर पार्टी छाडेका भनिएका केही नेताहरू एमालेमै फर्किएको र एमाले उम्मेदवारलाई जिताउन लागेको उनको दाबी छ। 

यसअघि पार्टीमा निष्क्रिय रहेका पूर्व जिल्ला अध्यक्ष शंकर कट्वाल जीबी खड्का नेतृत्वको कार्यसमिति नेकपामा गएपछिसक्रिय भएका छन्। यस्तै नेकपामा गएका चम्पादेवी राई, झनक कार्की, विशाल राई लगायत २० जना एमालेमै फर्किएको पनि हर्कबोलले बताए। केही नेताले पार्टी छाड्दैमा कमजोर नबन्ने दाबी एमालेको छ।

‘उहाँहरू हुँदा पनि पार्टीमा प्रभावकारी काम भएको थिएन। उहाँहरूको बसाइ काठमाडौँमा जिल्लामा मिटिङमा आउने, भोलिपल्टै फर्किनुहुन्थ्यो। गएका धेरै साथीहरू पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ। अन्तिमसम्ममा छाड्ने ५–७ जना मात्रै हुनुहुन्छ, अरु साथीहरूलाई फर्काउँछौँ,’ हर्कबोलले भने, ‘कांग्रेस पनि एकजुट छैन। अम्बिरजीले पनि हाम्रो भन्दा बढी मत कांग्रेसको काट्नुहुन्छ। कांग्रेससँग कडा प्रतिस्पर्धा भए पनि चुनाव हामी नै जित्न सक्छौँ। नभए कांग्रेसले जित्छ लेखेर राखे हुन्छ।’ 

जिल्लामा माओवादीको मत निकै कम रहेको र एमालेको टोली जाँदा पनि प्रतिस्पर्धी मत नपुग्ने उनको दाबी छ। तर अन्तिमसम्म यही परिस्थिति रहन्छ वा रहँदैन भन्ने कुराले नतिजा फरक पर्न सक्ने आशंका उनलाई छ। 

असन्तुष्टि कांग्रेसभित्र पनि छ। रामहरि खतिवडाले टिकट नपाएपछि अम्बिरबाबु गुरुङ नेकपाबाट उम्मेदवार बन्न तयार भएको जिल्लाका नेताहरू बताउँछन्। रामहरि खतिवडा नउठेपछि कांग्रेसको पनि असन्तुष्ट मत आफूले पाउन सक्ने आकलन गरेर उनी चुनावमा होमिएको हुनसक्ने एमाले नेता हर्कबोलको आशंका छ।

‘केही शंका गर्ने ठाउँ छ। अम्बिरजीले पार्टी प्रवेश गर्दै केही संकेत गर्नु भएको छ। तर भोलि सबैको राजनीतिक जीवन छ। उहाँहरूले (कांग्रेस नेता खतिवडा) गर्दा पनि जित्ने अवस्थामा पुग्नुहुन्न,’ राईले नेपालखबरसँग भने। 

नेपाली कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना भने कांग्रेस एक ढिक्का भएको बताउँछन्। यसभन्दा पहिलेको चुनाव जितेको, स्थानीय तहमा पनि बहुमत सिट जितेको र एकलौटी जिल्ला समन्वय समिति बनाएकाले जिल्लामा सांगठनिक तागत बलियो रहेको उनको भनाइ छ।

रामहरि खतिवडाले टिकट नपाए पनि जिल्लामा असन्तुष्टि नरहेको दाबी उनले गरे। 

‘उहाँ त हाम्रो अविभावक हो। उम्मेदवारसँगै हुनुहुन्छ। आशीर्वाद लिएर कुमार लुइँटेल अगाडि बढ्नु भएको छ। अब सँगै जिल्ला घुम्ने र चुनाव जित्ने हो,’ ढुंगानाले भने। 

तर यसपालि चुनाव जित्ने लक्ष्यसहित नेकपाको तयारी तीव्र छ। चुनाव जित्नकै लागि भन्दै नेकपाले रामकुमार कार्कीलाई दिइसकेको टिकट उम्मेदवार मनोनयनकै दिन एमालेबाट प्रवेश गरेका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलाई दियो। 

टिकट खोसिएका जिल्ला संयोजक कार्की नै अम्बिरले चुनाव जित्ने दाबी गर्छन्। उनको दाबीमा दुई आधार बलिया छन्। पहिलो त अम्बिरसँगै एमालेबाट जिल्ला नेतृत्वसहित ठूलो पंक्ति नेकपामा प्रवेश गर्‍यो। अर्को जनता समाजवादी पार्टीले पनि ओखलढुंगामा गुरुङलाई नै सहयोग गर्ने सहमति भएको कार्कीले बताए। 

‘यसअघि गठबन्धनका बेलाको भोट गनेर हामीलाई कमजोर भन्न मिल्दैन। त्यतिबेला मत बिग्रेला भनेर सबै छाप एउटैलाई दिने भनिएको हुन्छ। यसपालि त्यस्तो हुँदैन,’ कार्कीले भने, ‘संसदीय चुनावमा अघिल्लो चुनाव हेरेर हुँदैन। २०६४ सालको चुनावमा त हाम्रो पनि १२० सिट थियो। तर २०७० मा हाम्रो सिट घट्यो नि। यसअघि गठबन्धन गरेर धेरै सिट ल्याएका दलहरूले फेरि ल्याउँछन् भन्ने ग्यारेन्टी हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad