प्रदेश २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि २ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले २ अर्ब रुपैयाँ रकम निकासा गरेको हो।
चालू आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले विनियोजन गरेको कूल ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ छ। जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि २ अर्ब रुपैयाँ निकासा भएको र खर्च हुने क्रममा रहेको आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालय अन्तर्गत ८६ करोड रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १० करोड ४५ लाख रुपैयाँ पठाइएको छ।
यस्तै, लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई ३३ करोड ७० लाख र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३६ करोड रुपैयाँ निकासा गरिएको छ।
त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १ करोड, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको ४ वटा डिभिजनलाई २५/२५ लाख रुपैयाँको दरले पैसा पठाइएको सचिव श्रेष्ठले बताए।
यस बाहेक प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा २५ करोड रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।
कोरोना रोकथाम, नियन्त्रण, उपचार काममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकार लगायतका व्यक्तिहरुको ज्यान गएमा ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ।

प्रतिक्रिया