नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट फेरि सभापति बन्नु पर्ने भएकाले सर्लाही-४ मा जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन्।
मंगलबार सर्लाहीको बलारा नगरपालिकामा अगुवा कार्यकर्तासँगको भेटघाटमा थापाले आफू भागेर सर्लाही नआएको बताए। काठमाडौँ-४ का कार्यकर्ताले त्यहीबाट चुनाव लड्न आग्रह गरेको सुनाए।
‘अर्को पटक यहाँका जनताले सर्लाही-४ छोड्न पर्दैन भन्ने बनाई छाड्छु,’ उनले भने, ‘म भाग्ने मान्छे होइन।’
मधेससँगै कांग्रेसमा बल्ल आफूले काम गर्ने समय आएको बताए। विशेष महाधिवेशनबाट सभापति बनेका थापाले भने, ‘कांग्रेसको बल्ल सभापति बनेको छु, अधिवेशन आउँदै छ, फेरि बन्नु छ।’
सर्लाही-४ मा जिम्मेवारीपूर्वक काम गर्ने उनको भनाइ थियो। आफूले सक्ने समस्यता तत्कालै समाधान गर्ने बताउँदै उनले आफ्नो प्रतिनिधिसँग जनताको पनि हक लाग्ने बताए।
काठमाडौँमा जस्तै सर्लाही-४ मा २४सै घण्टा काम लाग्ने टेलिफोन नम्बर रहेको बताए। स्थानीय बासिन्दाले त्यस नम्बरमा आफूलाई गुनासो सुनाउन सक्ने बताँउदै थापाले भने, ‘अहिले मात्रै होइन, चुनाव पछि पनि टेलिफोन नम्बर रहन्छ।’
उनले घरदैलो अभियानलाई तिव्रता दिन स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए। ‘एउटा पनि घर नछोड्नु होला। प्रत्येक घरमा जानुपर्छ, प्रत्येक मान्छेलाई भेट्नुपर्छ,’ थापाले भने।

प्रतिक्रिया