राजनीति


हरेक पटक दल फेर्ने भक्तपुर-२ ले यसपटक कसलाई रोज्ला?

हरेक पटक दल फेर्ने भक्तपुर-२ ले यसपटक कसलाई रोज्ला?

निर्दोष घोरसाइने
माघ १३, २०८२ मंगलबार १९:४१, काठमाडौँ

चुनावैपिच्छे फरक दलका उम्मेदवार जिताउनु भक्तपुर २ को विशेषता हो। विगतमा भएका सात वटा चुनावले यही देखाउँछ। फागुन २१ को चुनावमा चाहिँ भक्तपुर २ ले के गर्छ? इतिहास दोहोर्‍याउँछ कि नयाँ लेखाउँछ त?

निर्वाचनमा होमिएका उम्मेदवारहरूको स्थिति नियाल्दा यो क्षेत्रले नयाँ इतिहास लेख्ने सम्भावना पनि देखिन्छ।

विगतमा यो क्षेत्र नेमकिपा र नेपाली कांग्रेसको गढका रूपमा चिनिन्थ्यो। २०४८ सालमा कांग्रेस र २०५१ सालमा नेमकिपाले विजय हासिल गरेको थियो। २०५६ सालमा फेरि कांग्रेस, २०६४ सालमा नेमकिपा र २०७० सालमा कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका थिए। २०७० सालसम्म भक्तपुर २ मा नेपाली कांग्रेस र नेपकिपाको आलोपालो चलिरह्यो।

तर, २०७४ सालमा एमालेका महेश बस्नेतले वाम गठबन्धनको साथमा त्यो आलोपालोको शृंखला तोडे। २०७९ को प्रतिनिधि सभामा माओवादी सहित एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीसहित गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दुलर्भ थापा विजयी भए। थापाले २४ हजार २३९ मत ल्याउँदा बस्नेत २३ हजार २८२ मतमा रोकिए। आगामी फागुन २१ गते हुने चुनावमा महेश बस्नेत दोहोरिँदा बाँकी उम्मेदवार नयाँ छन्। 

कांग्रेसले कबिर राणालाई चुनावी मैदानमा उतारेको छ। यस्तै नेपाली कम्युनिस्ट पार्टीले रामप्रसाद सापकोटा (दीपशिखा) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री मैदानमा छन्। 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापा, जनता समाजवादी पार्टी, नेपालका नवीन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, प्रगतिशील लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी, मंगोल नेसनल अर्गनाइजेसनका पेम्बा घले, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का लोककृष्ण दाहाल, नेपालका लागि नेपाली पार्टीका राजेश बाडे, श्रम संस्कृति पार्टीका अर्जुन बासु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रकाशराज ढुंगेल, अनि स्वतन्त्र सविन महत र साजन ढकालले उम्मेदवारी दिएका छन्।

२०६४ पछिको समीक्षा
नेपकिपाले अन्तिम पटक २०६४ सालमा चुनाव जितेको थियो। पछिल्लो समय नेमकिपाको मतमा संकुचन आउँदा कांग्रेस र एमालेका उम्मेदवारहरू हाबी हुँदै आएका छन्। संगठन र विगतको चुनावी नतिजालाई हेर्दा यो पटक एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

तर एमालेका महेश बस्नेत अध्यक्ष केपी शर्मा ओलीको एकदमै निकट रहेर पार्टीमा सचिव पदमा ‘अपग्रेड’ हुँदै चुनावी मैदनमा आउँदा बलिया उम्मेदवार मानिएका छन्। कांग्रेसले पत्रकारिता क्षेत्रबाट आएका कविर राणालाई उम्मेदवार बनाउँदा एमालेका बस्नेत झन् उत्साहित देखिएका छन्।

तर जेनजी आन्दोलनपछि रास्वपाले पनि नसोचेको मत ल्याउन सक्ने अड्कलबाजी हुन थालेको छ। रास्वपाले पनि पत्रकारिता क्षेत्रबाटै आएका खत्रीलाई उभ्याएको छ। 

पछिल्ला दिन विभिन्न वाम घटकसँग एकता गरेर बनेको नेकपाले सो क्षेत्रमा युवा नेता तथा वाईसीएलका पूर्वइन्चार्ज रामप्रसाद सापकोटालाई उम्मेदवार बनाएकाले यसअघि माओवादीले ल्याएको भोट बढाउन पनि सक्नेछन्।

नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले यस निर्वाचन क्षेत्रमा रहेका दुवै नगरपालिकामा पार्टीको संगठन बलियो भएकाले महेशको जित हुने दाबी गरे।

‘भक्तपुरका मतदाताले विकासका लागि राष्ट्रियस्तरको नेताको आवश्यकता महसुस गर्नु भएको छ। अघिल्लो पटक हराएर भक्तपुर पछाडि पर्‍यो भन्ने अनुभूति गर्नु भएको छ,’ देउजाले भने, ‘यो पटक महेश बस्नेत चाहिन्छ र जिताउँछौँ भन्ने जनभावना विकास भएको छ।’

बस्नेतलाई जेनजी विद्रोहको विरोधीका रूपमा चित्रण गरिए पनि उनले जेनजीको नभई विध्वंश मच्चाउनेहरूको मात्रै विरोध गरेको उनको भनाइ छ। 

‘२३ र २४ को घटना के कारण घट्यो, यो खुल्ने क्रममा छ। कतिपय विषय हामीले मतदातालाई बुझाउनु पर्नेछ,’ देउजाले भने। 

अघिल्लो निर्वाचनमा आन्तरिक द्वन्द्व र केही प्राविधिक त्रुटिका कारण पार्टी पराजित भए पनि यसपटक गल्ती सुधार गर्न सूक्ष्म ढंगले काम गर्ने उनले जानकारी दिए। 

नेपाली कांग्रेसले यो पटक पत्रकार कविर राणालाई मैदानमा उतारेको छ। अघिल्लो पटकको नतिजा र पार्टी एक ढिक्का भएकाले चुनाव जित्नेमा राणा विश्वस्त सुनिन्छन्। 

पार्टीमा चार दशक भन्दा बढीको लगानी र लोतन्त्रको पक्षमा ३५ वर्षभन्दा बढी निष्पक्ष पत्रकारिता गरेकाले भक्तपुरका जनताले आफूलाई रोज्ने राणाको तर्क छ।

‘पार्टीले पहिलो पुस्ताबाट चौथो पुस्तामा फट्को हानेको छ। जेनजी आन्दोलनको माग रहेको सुशासनको पक्षपाती हुँ। जनताले विकास निर्माण भन्दा पनि मुलुकमा व्याप्त भ्रष्टचारको विरोध गरेका छन्। प्रधानमन्त्री पदलाई नेताहरूले म्युजिकल चेयर बनाए। पहिलो पटक चुनाव लड्न लागेको नयाँ अनुहार हुँ। जेनजी विद्रोहलाई आत्मसात गर्दै अघि बढ्ने मेरो नारा हो,’ राणाले भने। 

बेरोजगारीका कारण दैनिक युवाहरू विदेसिइरहेका छन्। यसका लागि शिक्षा प्रणाली सुधार गर्नु पर्ने उनी बताउँछन्। यसका लागि सैद्धान्तिक भन्दा पनि प्राविधिक शिक्षामा आफूले जोड दिने उनी बताउँछन्। मुलुकमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

दीपशिखाले भने गणतन्त्र स्थापनापछिको राज्य व्यवस्थामा मतदाताको जीवन बदल्न आफूले उम्मेदवारी दिएको बताए।

‘परिवर्तनको एजेन्डा जसले ल्यायो त्यसले काम गर्न सक्छ। व्यवस्था बदल्न हामीले जुन काम गर्‍यौँ, अवस्था बदल्न हामी मात्र सक्छौँ। साढे दुई दशकदेखि भक्तपुरको मतदातासँग जोडिएको छु। सुखदुःखमा साथै छु,’ उनले भने, ‘२०७४ सालमा एमाले र २०७९ मा कांग्रेससँगको गठबन्धनका कारण भक्तपुर २ का मतदाताले हालको नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न पाइरहेका थिएनन्। एमाले, कांग्रेस र नेमकिपालाई भोट गएको थियो।’

२०७९ को प्रतिनिसभा निर्वाचनमा माओवादी र एकीकृत समाजवादीले यहाँ करिब ४५ सय समानुपातिक मत ल्याएका थिए। उम्मेदवार नै नहुँदा पाएको सो मतले आफू उत्साहित भएको उनी बताउँछन्।  

‘धेरै वटा चुनावमा उम्मेदवारविहीन हुँदा पनि पार्टीलाई माया गर्नेले भोट हालेका छन्। उहाँहरूको माया र विश्वासको आधारमा यो पटक चुनाव जित्छु,’ उनले थपे, ‘एमाले, कांग्रेसमा सेवक हैन शासक बन्ने प्रवृत्ति छ। त्यसबाट जनता आजित छन्। हामी नयाँ छौँ, अनुहारमा दाग छैन। कलंक, विवाद छैन। जनताले विवेक प्रयोग गर्छन् भन्नेमा विश्वस्त छु।’

रास्वपाका उम्मेदवार राजीव खत्री जनताले जनमत फेर्न खोजेकाले आफू विजयी हुने बताउँछन्। 

देशभरका जनता भष्टचार, बेथिति, विसंगति, कानुनी अराजकताबाट आजित छन्। भक्तपुरका जनता पनि यसबाट आजित छन्। रूपान्तरण र पुस्तान्तरणबिना परिवर्तन असम्भव छ। यसका लागि मेरो उम्मेदवारी हो,’ खत्रीले भने। 

पुराना दलका नेताले जनतालाई झुक्याउने काम गरेकाले आफू प्रतिनिधि सभाका सांसदको अधिकार, काम र कर्तव्य के हो भनेर निर्वाचनमा जाने खत्री बताउँछन्। 

‘पुराना दलका उम्मेदवारले प्रत्येक पटक सडक, पुल, ढल बनाउने आश्वासन बाँड्ने एजेन्डा बोकेर आए। सांसदको काम, कर्तव्य र अधिकार यो थिएन भनेर उनीहरूले बुझाएनन्। अहिले जनताले यो बुझेका छन्,’ खत्रीले भने।   

मुलुक रास्वपामय बनेको र भक्तपुरका जनताले पनि रास्वपा रोज्ने भएकाले आफ्नो जित सुनिश्चित भएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad