यसपालिको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र जितको स्वाद वा हारको ह्याट्रिकनजिक छन्। काठमाडौँ क्षेत्र नं १ का राप्रपा उम्मेदवार मिश्रले यसपटक पनि चुनाव हारे लगातार तेस्रो पालि हुनेछ। जुन नतिजा यो क्षेत्रका कुनै पनि उम्मेदवारले भोगेका छैनन्।
कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले यहीँ दुई पटक चुनाव हारेपछि पर्साबाट संसदीय यात्रा तय गरे। त्यसपछि कांग्रेसकै लोकेश ढकालले पनि यही क्षेत्रबाट दुई पटक हार भोगे।
तर काठमाडौँ ३ र ४ मा दुई वटा चुनाव हारेर क्षेत्र नं १ मा सरेका प्रकाशमान सिंहका लागि फलिफाप बन्यो।
विगतमा यहाँको चुनावी नतिजा बहुत रोचक छ।
२०४८ सालदेखि २०५६ सालसम्म एमालेमय रहेको यो क्षेत्र २०६४ सालपछि कांग्रेसको गढ बन्यो। कांग्रेसको गढ बनाउने प्रकाशमान सिंह यसपटक चुनावी प्रतिस्पर्धामा नभएकाले पनि नयाँ प्रतिनिधिमाथि चासो बढेको छ।
२०४८ सालको निर्वाचनमा यही क्षेत्रमा भिडेका थिए कृष्णप्रसाद भट्टराई र मदन भण्डारी। जुन चुनावमा एमालेका भण्डारी विजयी भए।
तर कार्यकाल नसकिँदै २०५० जेठ ३ गते मदन भण्डारीको निधन भयो। त्यसपछि २०५० सालको माघ २५ गते उपनिर्वाचन भयो। एमालेबाट मदनपत्नी विद्यादेवी भण्डारी उपनिर्वाचन लडिन्। कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई नै अगाडि सारे पनि पार लागेन। भण्डारी विजयी भइन्।
तर त्यसको ९ महिनापछि २०५१ कात्तिकमा मध्यावधि निर्वाचन भयो। त्यसअघि ५ क्षेत्र रहेको काठमाडौँमा ७ वटा क्षेत्र बनाइयो। ती मध्ये काठमाडौँ १ र ३ मा एमालेबाट मनमोहन अधिकारीले चुनाव लडे। दुवै क्षेत्रबाट निर्वाचित भएका अधिकारीले क्षेत्र नं १ मा कांग्रेसका हरिबोल भट्टराईलाई र क्षेत्र नं ३ मा प्रकाशमान सिंहलाई पराजित गरे।
तर दुईमध्ये एक क्षेत्र छाड्न पर्ने भयो। मनमोहनले क्षेत्र नं ३ रोजेपछि रिक्त भएको १ मा २०५३ सालमा उपनिर्वाचन भयो। एमालेबाट नारायण ढकाल र कांग्रेसबाट लोकेश ढकाल उम्मेदवार बने। फेरि पनि एमालेकै नारायण निर्वाचित भए, कांग्रेसका लोकेश पराजित।
२०५६ सालको निर्वाचनमा पनि मनमोहनले काठमाडौँ १ र ३ मै उम्मेदवारी दिएका थिए। कांग्रेसबाट कृष्णप्रसाद भट्टराई प्रतिस्पर्धामा थिए। उपनिर्वाचनमा हारेका कांग्रेसका लोकेश ढकालले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
तर काठमाडौँको गोठाटारमा चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ढलेका मनमोहन अधिकारीको निधन भयो। उम्मेदवारकै निधन भएपछि काठमाडौँ १ र ३ को चुनाव रोकियो। ०५६ वैशाखमा सबैतिर चुनाव भयो। यहाँको चुनाव असारमा सर्यो।
तर काठमाडौँ १ र पर्सा ३ बाट उम्मेदवार बनेका कृष्णप्रसाद भट्टराई पर्साबाट वैशाखमै निर्वाचित भए। चुनाव सरेपछि काठमाडौँ १ मा उम्मेदवार रहेनन्। कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएका लोकेश ढकाललाई नै अगाडि सार्यो। एमालेबाट प्रदीप नेपाल उम्मेदवार बने।
‘म त्यो चुनावमा पनि थोरै भोटले हारेँ। मेरो भागमा त सधैँ हार्ने नै परेको थियो,’ मंगलबार नेपालखबरसँग कुरा गर्दै लोकेशले स्मरण गरे, ‘प्रदीप नेपालले चुनाव जिते।’
२०६४ सालमा निर्वाचन क्षेत्र बढ्यो। काठमाडौँमा ३ क्षेत्र थपियो र १० वटा क्षेत्र बनाइयो। २०४८ सालको निर्वाचनमा काठमाडौँ ४ बाट र २०५१ सालमा काठमाडौँ ३ बाट पराजित भएका प्रकाशमान सिंह काठमाडौँ १ मा सरे।
प्रकाशमानले क्षेत्र नं १ मा सरिसकेपछि कुनै पनि चुनाव हार्नु परेन। २०६४, २०७०, २०७४ र २०७९ मा लगातार विजयी भए। यही क्षेत्रबाट तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहालदेखि जनार्दन शर्माका भाइ अनिल शर्मा पनि भिडे। तर प्रकाशमानको पकड भत्काउन सकेनन्।
प्रकाशमानलाई सबैभन्दा कडा टक्कर दिने रवीन्द्र मिश्र नै हुन्। यसपालि राप्रपाका मिश्रले नयाँ प्रतिस्पर्धी पाएका छन्।
१३ स्वतन्त्रसहित २९ उम्मेदवार
काठमाडौँ १ मा २९ जना उम्मेदवार छन्। नेपाली कांग्रेसले प्रबल थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ। एमालेका मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रन्जु न्यौपाने (रन्जु दर्शना) उम्मेदवार छन्।
राइड सेयरिङ (पठाओ) का सञ्चालक असीममान सिंह बस्न्यातसहित १३ स्वतन्त्र उम्मेदवार छन्। यसपटक तेस्रो हार नभोग्न रवीन्द्रले उनीहरूलाई जित्नु पर्नेछ।
रवीन्द्र २०७९ सालको निर्वाचनमा प्रकाशमानसँग १२५ मतले पराजित भएका थिए। तर प्रकाशमानलाई तत्कालीन माओवादी र एकीकृत समाजवादीको पनि साथ थियो। यसपालि सबै दल एक्लाएक्लै चुनावमा छन्।
गएको निर्वाचनमा प्रकाशमान ७ हजार १४३ मतसहित निर्वाचित हुँदा रवीन्द्रको ७ हजार १८ मत आएको थियो। रास्वपाका पुकार बमले ४ हजार ११५ मत ल्याएका थिए। एमालेका उम्मेदवार किरण पौडेलले ३ हजार ५३२ मत पाएका थिए।
तर त्यो चुनावमा काठमाडौँ ५ मा पराजित भएकी रन्जु यसपटक यो क्षेत्रमा आएकी छन्। यहाँका उम्मेदवार पुकार बम काठमाडौँ ४ मा सरेका छन्।
स्वतन्त्र उम्मेदवार बन्दा काठमाडौँ ५ मा रञ्जुले ६०० मत पाएकी थिइन्। उनको चुनाव चिन्ह सेलरोटी थियो। जुन क्षेत्रबाट कांग्रेस महामन्त्री प्रदीप पौडेल १५ हजार २६९ मतसहित विजयी भएका थिए। पौडेल अहिले पनि त्यही क्षेत्रबाट उम्मेदवार छन्।
रन्जु २०७४ सालमा काठमाडौँ महानगरपालिकाको मेयरमा पनि भिडेकी थिइन्। विवेकशील नेपाली दलबाट चुनाव लड्दा उनी २३ हजार ४३९ मतसहित तेस्रो भइन्। एमालेका विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए। उपमेयर जितेको कांग्रेस मेयरमा निकटतम प्रतिस्पर्धी बन्यो।
२०७४ सालको निर्वाचनमा पनि रवीन्द्र भने काठमाडौँ १ बाटै उम्मेदवार थिए। त्यतिबेला विवेकशील साझा पार्टीबाट उठ्दा उनले १० हजार ११८ मत पाएका थिए। तर प्रकाशमान १० हजार ९३६ मतसहित विजयी भए।
यो चुनावमा रवीन्द्र वा रन्जुले नै कांग्रेसलाई धक्का दिन सक्ने धेरैको आकलन छ।
‘यसपालि रवीन्द्र मिश्रबाहेक कसले जित्छ त त्यहाँ? दुई पटक पराजित भए पनि क्षेत्र छाडेर अर्को क्षेत्र जानु भएन। त्यही क्षेत्रमा तेस्रो पटक उम्मेदवार बन्नु भएको छ, उहाँले नै चुनाव जित्नुहुन्छ,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन्।
कांग्रेसमा चुनाव जित्दै आएका प्रकाशमानले टिकट नपाएको भन्दै एउटा समूहमा असन्तुष्टि छ। कांग्रेस उम्मेदवार थापा असन्तुष्टि व्यवस्थापनमा पनि लागिरहेका छन्। तर, प्रकाशमान हुनु र नहुनुले फरक नपर्ने राप्रपाको दाबी छ। यो चुनावमा रास्वपाको पनि लहर देशव्यापी बढ्दो छ। राप्रपाको नजरमा त्यो क्षणिक हो।
काठमाडौँ १ मा पनि आफ्नै उम्मेदवार विजयी बन्ने रास्वपाको दाबी छ। सहमहामन्त्री प्रतिभा रावल भन्छिन्, ‘रवीन्द्र मिश्र हाम्रो प्रतिस्पर्धी नै होइन। उहाँ त पहिल्यै हारिसक्नु भएको हो। रन्जुजी त वैकल्पिक शक्तिको सुरुवातकर्ता पनि हो। पदमा नभए पनि काठमाडौँका जनतासँग सधैँ नजिक बसेर काम गर्नु भएको छ। उहाँजस्तो सशक्त महिलाले जित्न जरुरी छ।’
नयाँ दलका उम्मेदवार उत्साहित भए पनि उनीहरूलाई यसअघिकै जस्तो डर छ। यसअघि पुकार बम, रवीन्द्र मिश्र र रमेश खरेल एउटै क्षेत्रबाट भिड्दा प्रकाशमानलाई हराउन नसकेको उनीहरूको बुझाइ छ। आफूहरूको मत बाँडिएको र प्रकाशमान झिनो मतान्तरले विजयी हुन सफल भएको दाबी राप्रपाको छ। पुकार बम र रमेश खरेलले ७ हजार बढी मत ल्याएका थिए।
यसपटकको चुनौती पनि यही देखेका छन् यी दलले। कांग्रेस, एमाले र नेकपाको वडासम्म बलियो संगठन छ। उनीहरूका केही मतदाता निश्चित छन्। तर वैकल्पिक उम्मेदवारहरू धेरै हुँदा फेरि पुरानै दल दोहोरिने सम्भावना पनि उतिकै छ।
Shares

प्रतिक्रिया