राजनीति


न्युरोड-चन्द्रागिरि जोड्ने काठमाडौँ-९ मा बालेन क्रेजमा ब्रेक लगाउन गगन लहर कुर्दै कांग्रेस-एमाले

प्रत्यक्षमा निकटतम् प्रतिद्वन्द्वी र समानुपातिकमा पहिलो दल रास्वपाले जित्ने आधार देखेर पठायो उपसभापति अर्याल
न्युरोड-चन्द्रागिरि जोड्ने काठमाडौँ-९ मा बालेन क्रेजमा ब्रेक लगाउन गगन लहर कुर्दै कांग्रेस-एमाले

सागर न्यौपाने
माघ २०, २०८२ मंगलबार १८:५४, काठमाडौँ

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ न्युरोडदेखि चन्द्रागिरिको डाँडासम्म फैलिएको छ। काठमाडौँ महानगरपालिकाका वडा नम्बर १२, १४, २१ र २२, चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४ र १५, नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडा यस क्षेत्रमा पर्छन्।

फागुन २१ मा तय भएको निर्वाचन नजिकिँदै गर्दा यहाँका मतदाताको मन विभाजित छ। कोही परीक्षित नेतृत्व भन्दै पुरानै दलतिर खुलेका छन्। कोही नयाँ विकल्पतिर आँखा लगाउँदैछन्।

नेकपा एमालेले अजयक्रान्ति शाक्यलाई चुनावी मैदानमा पठाएको छ। यस्तै, नेपाली कांग्रेसले नानु बास्तोलालाई उम्मेदवार बनाउँदा नेपाली कम्युनिस्ट पार्टीले राधाकृष्ण महर्जनलाई उठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई काठमाडौँ ९ बाट उम्मेदवार बनाएको छ। उता, राप्रपाबाट दिलकुमार कार्कीसहित अन्य दलबाट २४ जना उम्मेदवार छन्।  

यसपटक दलहरूले उठाएका उम्मेदवार सो क्षेत्रका लागि नयाँ अनुहार हुन्। 

तर, उम्मेदवार नयाँ भए पनि कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीमाथि पुरानै भन्ने ट्याग लागेको छ, जसकारण आफ्नो पक्षमा माहोल ल्याउन उनीहरूलाई गाह्रो भइरहेको छ।

त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागका उपप्राध्यापक डा श्रीराम पौडेल काठमाडौँ ९ का मतदाता तीन खालको रहेको बताउँछन्।

‘एउटा दलको संगठन, इतिहासमा विश्वास गर्ने मतदाता छन्, उनीहरू पटकपटक निर्वाचनमा सहभागी भएका दलकै साथमा हुन्छन्,’ उनले नेपालखबरसँग भने, ‘जेनजी आन्दोलनबाट प्रभावित अर्काथरी मतदाता छन् जसले नयाँ र वैकल्पिक धार समाउन खोजेको देखिन्छ। तेस्रो, चुनावको दिनसम्म कतैतिर नखुली बस्ने अर्का मतदाता पनि छन्।’

उनका अनुसार महानगरका मतदाताको चिन्ता एकातिर छ भने नागार्जुन र चन्द्रागिरिका मतदाताको मन अर्काेतिर छ। 

‘यसअघिको चुनावमा जस्तै मत जाने सम्भावना छैन, धेरै पटक परीक्षण भएका दलप्रति जनता रुष्ट भएर प्रतिशोधको हिसाबले गयो भने त्यसको फाइदा रास्वपाले लिन सक्छ,’ उपप्राध्यापक डा पौडेलको विश्लेषण छ, ‘बालेन क्रेज त्यसै भएको होइन, ऊ टेस्टेड छैन भन्ने परेको छ।’

त्यसो त, २०७४ र २०७९ मा सो क्षेत्रबाट एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका हुन्। २०७४ मा ६ हजार बढी मतको अग्रताले जितेका श्रेष्ठले ०७९ मा ९९५ मतको झिनो अन्तरले जित निकालेका थिए।

एमालेका श्रेष्ठले ११ हजार ९५६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत पाए। त्यसबेला माओवादीकी कल्पना धमलाले ६ हजार ४०२ मत मात्र पाइन्, जबकि त्यसबेला कांग्रेससहित पाँच दलको गठबन्धन थियो। 

यसले के देखाउँछ भने, यो क्षेत्रमा परीक्षण भइसकेका दल जोखिममा छन्। झन् यसपटक कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतका सबै दल एक्लाएक्लै चुनावमा होमिएका छन्।

प्रत्यक्षमा निकटतम् प्रतिद्वन्द्वी भएको रास्वपाले समानुपातिकमा ११ हजार ५०२ मत पाएर सबै दललाई उछिनेको थियो। एमालेले ९ हजार ४०७ मत पाउँदा कांग्रेसले ८ हजार ०५ मत पाएको थियो। राप्रपाले ६ हजार १२८ मत पाउँदा तत्कालीन माओवादी केन्द्रले १ हजार ५ सय, एकीकृत समाजवादीले ६५८ मत पाएको थियो। 

प्रत्यक्ष र समानुपातिक मतबाट हौसिएको रास्वपाले सोही कारण यसपालि उपसभापति डीपी अर्याललाई मैदानमा उतारेको हो। 

एमालेले पनि सो क्षेत्रमा यसपटक अजयक्रान्ति शाक्यलाई उठाएको छ। महानगरका २१ र २२ वडाका रैथाने नेवार समुदायको मत र चन्द्रागिरि–नागार्जुन नगरपालिकाको वडाबाट संगठित मत पाउन सके उनले जित्न सक्छन्। तर, त्यसका लागि कृष्णगोपालले शाक्यलाई साथ दिनुपर्ने हुन्छ।

एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेलको टिमबाट उठेका श्रेष्ठ पराजित भएका थिए। त्यसयता उनी ओलीसँगको सम्बन्धबारे केही बोलेका छैनन्।

त्यसमाथि नेकपाले उठाएको राधाकृष्ण महर्जनले पनि स्थानीय समुदायको राम्रै मत पाउने जानकारहरु बताउँछन्। काठमाडौँ क्षेत्र नम्बर ९ मा मिश्रित बस्ती छ। धादिङ लगायत आसपासका मानिसको बसोबास पछिल्ला दिन यो क्षेत्रमा बढेको छ।

तर, जेनजी आन्दोलनपछि थपिएका नयाँ मतदाताको मन जित्नुपर्ने अर्काे चुनौती छ।  

उपप्राध्यापक पौडेल कांग्रेस, एमाले, नेकपा र रास्वपाकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने बताउँछन्।

‘काठमाडौँ र सहरिया मत प्रतिशोधी हुन्छन्,’ उनले भने, ‘विगतको मत जोगाउन दलहरूले कति मेहनत गर्छन्, त्यो अझै प्रष्ट भइसकेको छैन।’

दलहरूले फागुन ३ गतेपछि मात्र चुनावी अभियान थाल्नेछन्। त्यसबेला नयाँ लहर ल्याउने सम्भावनालाई नकार्न नहुने उनको भनाइ छ। 

‘नेपाली कांग्रेसमा गगन थापाले नेतृत्व लिएपछि छुट्टै आशा बढेको देखिन्छ, यो मतमा बदलिन्छ कि बाहिरी चर्चा मात्र हुन्छ, त्यो प्रतीक्षाको विषय हो,’ पौडेल भन्छन्। 

पहिले–पहिले चुनावमा दलका नीति, योजना र एजेन्डा हेरेर मत दिने मतदातालाई अहिलेका नयाँ पुस्ताले पछि पारिसकेका छन्– उनीहरूलाई लामो भाषण सुन्न मन पर्दैन। उनीहरूलाई बाजेको पालाको राजनीति दिक्क लाग्दो भइसकेको छ। सामाजिक सञ्जालमा उम्मेदवारको इन्गेजमेन्ट, रिल्स हेरेर धारणा बनाउने क्रम बढेको छ।

यही कारण पनि पटकपटक चुनावमा भाग लिएका दलहरू यसपटक डराएका देखिन्छन्। सञ्जालमा देखिएको बालेनको क्रेजले यहाँको मत पनि यताउता पार्न सक्ने जानकारहरुको भनाइ छ।

यद्यपि, फागुन २१ गते ७८ हजार ४९५ मतदाताले यसबारे निर्णय नै दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad