आफ्नो पार्टीको पक्षमा मत माग्दै देशका विभिन्न जिल्ला पुगेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अब आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत भएका छन्।
पूर्वमन्त्रीसमेत रहेका घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार छन्। उनले बुधबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु गरेका हुन्।
आज बिहान गोकर्णेश्वर मन्दिर प्राङ्गणबाट घरदैलो अभियान सुरु हुने घिसिङको सचिवालयले जनाएको छ।
गोकर्णेश्वर मन्दिर प्राङ्गण हुँदै देशे गाउँ-हनुमान चोक-उत्तर बाहिनी चोक-उत्तर बाहिनी मन्दिर-किसिगाल-नाम्गेल चोक-भैरव चौर-माईती नेपाल-ढोका भन्ज्याङ-पाखाथोक-नयाँपाटी -गलमटी-नयाँपाटी-राईटार-बनगाउँ-भिमदेव स्कुल-देवि बालसुधार स्कुल-महांकाल-हनुमान चोक लगायतका ठाउँमा आज घरदैलो हुनेछ।
यसअघि उनी काेसी र मधेस प्रदेशका विभिन्न जिल्लामा भएका पार्टीका कार्यक्रममा सहभागी भएका थिए।
नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी प्रमुखसमेत घिसिङले अरुलाई प्रधानमन्त्री बनाउन नभएर आफैँ प्रधानमन्त्री बनेर देश परिवर्तन गर्न राजनीतिमा लागेको बताउने गरेका छन्।
उनेपालले देशभरका १६५ मध्ये १२१ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ।
Shares

प्रतिक्रिया