दलाई लामाका आध्यात्मिक गुरु क्याब्जे लिङ रिन्पोछे ३४ औँ नेपाल गेलुग महाप्रणिधान कार्यक्रममा भाग लिन यही फागुन १५ गते नेपाल आउने कार्यक्रम तय भएको छ। उनले दलाई लामाको गेलुक स्कुलको कपन गुम्बामा हुन लागेको प्रार्थना र बौद्ध क्षेत्रमा रहेकोे तिब्बती शरणार्थीहरूको गुम्बा साम्तेलिङमा ‘धर्म देशना’ कार्यक्रममा पनि भाग लिनेछन्।
गत माघ १० गते तिब्बती धर्म गुरु जोनाङ रिन्पोछे काठमाडौँ आएर फर्केको एक महिना पनि नबित्दै लिङ नेपाल आउन लागेपछि फेरि दलाई लामासम्बन्धी विषय थप तरंग ल्याउने देखिएकोे छ।
नेपालखबरलाई प्राप्त लिङ रिन्पोछेको कार्यक्रम सूचीअनुसार उनी फागुन १६ गतेदेखि २० गतेसम्म कपन गुम्बाको मोन्लम (प्रार्थना) कार्यक्रममा सहभागी हुने छन्। प्रार्थना पर्व गेलुग परम्पराका मुख्य गुम्बाहरू ड्रेपुङ, सेरा र गादेन गुम्बाहरूबाट तिब्बतमा सुरु भएको हो। शान्ति, करुणा, बुद्धको शिक्षाको प्रचार र विश्वमा समृद्धि ल्याउने उदेश्यले मोनलम कार्यक्रम गर्ने तिब्बती परम्परा छ।
त्यसैगरी लिङ रिन्पोछे फागुन २३ गतेदेखि २४ सम्म साम्तेनलिङ (बौद्ध) गुम्बामा ‘धर्म देशना कार्यक्रम’मा सहभागी हुनेछन्। तिब्बती बौद्ध धर्ममा ‘धर्म देशना’ भनेको कुनै उच्च लामा/रिन्पोछेले बुद्धका उपदेश, दर्शन, र साधनासम्बन्धी शिक्षा सार्वजनिक रूपमा प्रदान गर्ने धार्मिक–आध्यात्मिक कार्यक्रम हो।
लिङ रिन्पोछेले यसअघि मुस्ताङ, काठमाडौँ र लुम्बिनी भ्रमण गरिसकेका छन्। उनले सन् २०१९ मा नेपाल आउँदा काठमाडौँको फर्पिङ, २०२४ मा स्वयम्भू र २०२५ मा पनि कपन गुम्बा भ्रमण गरेका थिए।
नेपालमा जेनजी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई दलाई लामा, उनको निर्वासित सरकार र संसदले बधाई दिएपछि तिब्बती लामा/रिन्पोछेहरूको नेपाल भ्रमण विवादित र भूराजनीतिक चासोको विषय बन्न थालेको छ। जेनजी प्रर्दशनभन्दा अघि यी लामा/रिन्पोछेहरू नेपाल आउँदा यस्तो विवाद हुने गरेको थिएन।
को हुन् लिङ रिन्पोछे?
लिङ रिन्पोछे तिब्बती बौद्ध धर्मको गेलुग परम्पराका अत्यन्त सम्मानित गुरु हुन्। यसअघिका छैटौँ लिङ रिन्पोछे दलाई लामाका महत्वपूर्ण गुरुहरूमध्ये एक हुन्। हालका सातौँ लिङ (थेप्तेन लुङतोक नामग्याल) छैटौँ काब्जे लिङ रिन्पोछेका उत्तराधिकारी हुन्। छैटौँ क्याब्जे लिङ रिन्पोछेले दलाई लामालाई दर्शन, तर्कशास्त्र, विनय (अनुशासन) र ध्यान/योग विद्यामा दीक्षित गराएका थिए।
सन् १९५९ मा भारत निर्वासित हुँदा दलाई लामा र लिङ रिन्पोछे दुवैले सँगै भारतमा शरण लिएका थिए। चीन–तिब्बत राजनीतिक संकटपछि दलाई लामालाई साथ दिने गुरुहरूमा लिङ रिन्पोछे महत्वपूर्ण मानिन्छन्। छैटौँ लिङ रिन्पोछे शिक्षक मात्र होइन, उनी दलाई लामाका जीवन–मार्गदर्शक, आध्यात्मिक सरंक्षक र शिक्षा–गुरु समेत थिए।
लिङ रिन्पोछेलाई निर्वासनकालीन तिब्बती सरकारको सांस्कृतिक निरन्तरताको संरक्षक मानिन्छ।
हाल नेपाल आउँदै गरेका सातौँ लिङ रिन्पोछे हुन्। उनको वास्तविक नाम तेन्जिङ लुङतोक थ्रिन्ले चोपाक हो। उनलाई अहिलेका १४ औँ दलाई लामाले छैटौँ लिङ रिन्पोछेको उत्तराधिकारीको रूपमा सन् १९८७ मा औपचारिक रूपमा मान्यता दिएका थिए।
दक्षिण भारतको कर्नाटक राज्यको मुनदोगमा अवस्थित ड्रेपुङ लोसेलिङ गुम्बा लिङ रिन्पोचेको आवास गृह हो। दलाई लामा जाडो याममा चिसो छल्न दक्षिण भारत जाँदा प्रायः यही गुम्बामा बस्ने गरेका छन्।
Shares

प्रतिक्रिया