नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घरघरमा पुगेका छन्।
झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका २९ वटै वडामा नेकपा एमालेले मतदातालाई सम्बोधन गरेको पत्र लिएर घरघरमा कार्यकर्ता परिचालन गरेको हो। नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार, कार्यकर्ता यो क्षेत्र भरिका प्रत्येक टोलका घरघरमा पार्टी अध्यक्षको पत्र लिएर जनतासँग पुगिरहेका छन्।
निर्वाचन लक्षित घरदैलो अभियानमा जाँदा मतदातालाई सम्बोधन गरेको पार्टी अध्यक्षको पत्र, पार्टीको प्रतिबद्धता पत्र, र विभिन्न जनवर्गीय सङ्गठनका छुट्टा छुट्टै प्रतिबद्धता पत्र सहित टोल टोलमा पुग्ने गरिएको उनले बताए।
अध्यक्षको पत्रमा फागुन २१ गते नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने दिनको रूपमा मानेर निर्वाचनमा सहभागी हुन आह्वान गरिएको छ।
पत्रमा भनिएको छ, ‘मुलुक यति वेला गम्भीर सङ्कटको अवस्थामा रहेको छ, त्यसैले एकतामा बाँधिएको हाम्रो समाजलाई एकै परिवारका बुबा आमा र छोराछोरी बिचमा सम्बन्ध नै विभाजन गरिँदै आएको छ। यसले अभिभावक र सन्तान बीचको सम्बन्धमा सङ्कट ल्याइँदैछ। क्रमशः परिवार कमजोर भएपछि समाज र देशमा नै कमजोर हुन्छ। यसले मुलुकमा नै एकताको सङ्कट ल्याउँछ।’
पार्टी अध्यक्षको पत्र लिएर जनताको घरघरमा एमालेको समूहगत रूपमा पुगिरहेको दाहाल बताउँछन्।
यस अन्तरगत दमक नगरपालिकाको वडा नम्बर ६ र ७ मा दोस्रो चरणको घरदैलो कार्यक्रम समेत सम्पन्न गरिएको छ। बाँकी अन्य वडामा समेत अन्तिम चरणमा पुगेको जनाइएको छ।
दमक नगरपालिकामा बाँकी ८ वटै वडाका विभिन्न टोल टोलमा घरदैलो कार्यक्रम अभियानको रूपमा चलिरहेको दाहालले बताए।
सबै टोलमा घरदैलो गर्दा स्थानीय भूगोलमा रहेका केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा र टोल कमिटीका सबै पदाधिकारी, सदस्य, सल्लाहकार, तथा शुभचिन्तकहरू समेत सहभागी भएर अभियान गर्दै आएका छन्।

Shares

प्रतिक्रिया