राजनीति


बागमतीका केही क्षेत्रमा रास्वपालाई कुलमानले दिन सक्छन् धक्का

बागमतीका केही क्षेत्रमा रास्वपालाई कुलमानले दिन सक्छन् धक्का

सागर न्यौपाने
फागुन १२, २०८२ मंगलबार १३:४८, काठमाडौँ

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग राप्रपाका रवीन्द्र मिश्रले जम्मा १२५ मतले हार बेहोरे। मिश्रका लागि रास्वपाका पुकार बमले पाएको ४ हजार ११५ मत नै भारी बन्यो भन्ने विश्लेषण अझै गर्ने गरिन्छ। 

त्यसबेला पुकारले मत नकाटेको भए मिश्र संसद् छिर्ने अनुमान पनि भए। 

त्यो चुनावमा मिश्रका लागि बम जसरी बाधा बने, यसपालिको चुनावमा त्यसैगरी रास्वपाका कतिपय उम्मेदवारका लागि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी बाधा बन्ने अनुमान हुन थालेको छ।

सबैभन्दा ठूलो पार्टीको दाबेदार रास्वपाले कांग्रेस–एमाले र नेपाली कम्युनिस्ट पार्टीको मत तान्ने प्रयत्न गरिरहेको छ। देशैभर आफ्नो पक्षमा बढेको माहोलले रास्वपाका उम्मेदवार उत्साहित छन्। यसपटक घण्टी बज्नेमा अधिकांश ढुक्क देखिन्छन्। तर, उनीहरूमा बलेको चिमले मत काटिदिन सक्ने भय पनि उत्तिकै देखिन्छ। 

ठूलो शक्ति बन्ने महत्वाकांक्षासहित २०८२ पुस १४ गते रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच ७ बुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति बन्ने र घण्टी चिह्नबाटै चुनाव लड्ने तय भएको थियो।

तर, त्यो एकता १२ दिन मात्र टिक्यो। पदको बाँडफाँट लगायतमा कुरा नमिलेपछि पुस २६ गते रास्वपाले एकतर्फी रुपमा एकता भंग भएको घोषणा ग¥यो।

उज्यालो नेपाल पार्टीका तर्फबाट कुलमानले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्नुपर्ने, पार्टीका अन्य पदाधिकारीमा पनि आफ्नो पार्टीका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भंग गर्नुपर्ने अवस्थामा पुगेको रास्वपाको निष्कर्ष थियो।

चुनावको मुखैमा रास्वपा र उनेपाबीचको एकता भंगको असर भने कतिपय निर्वाचन क्षेत्रमा अहिले देखिनसक्ने नेताहरू बताउँछन्। 

त्यसो त, कुलमानको पार्टी पहिलोपटक चुनावी मैदानमा ओर्लिएको हो। उनको संगठन कति छ, स्पष्ट छैन।

सो पार्टीका प्रवक्ता राजु थापा उपत्यका, बागमती प्रदेश, लुम्बिनी, सुदूरपश्चिम र मधेसका केही क्षेत्रमा आफ्नो पार्टीले मेहनत गरिरहेको बताउँछन्।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा नेपालबाट लोडसेडिङ हटाएका कुलमान काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन्। त्यसबाहेक उज्यालो नेपाल पार्टीले उपत्यकाका १५ वटै क्षेत्र, बागमती प्रदेशका सबैसहित ५४ जिल्लाका ११६ क्षेत्रमा उम्मेदवार उठाएको प्रवक्ता थापाको भनाइ छ।

यता, रास्वपाले कांग्रेस–एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई प्रतिस्पर्धीको रुपमा हेरेको छ। हरेक निर्वाचन क्षेत्रमा यिनै दलसँग प्रतिस्पर्धा हुने बताए पनि काठमाडौँ क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धा उज्यालो नेपाल पार्टीसँगै हुँदैछ। यस्तै, ललितपुर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम ताण्डुकारले चर्चा बटुलेका छन्। 

रास्वपाका एक नेताका अनुसार थोरै मतले हारजित हुने ठाउँमा उज्यालो पार्टीका उम्मेदवारले अप्ठेरो पार्नसक्छन्।

रास्वपाले आफूलाई युवा र वैकल्पिक शक्तिको रूपमा उभ्याएको छ। तर, उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनका घाइतेहरूले बनाएको राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर समानुपातिकमा उम्मेदवारी दिएको छ। यसले नयाँ र विद्रोही मतदाताहरू बलेको चिमतिर मोडिनसक्ने उज्यालोका नेता केदार खड्का बताउँछन्।

‘हाम्रा साथीहरू घर–घर पुग्नुभएको छ। फागुन १५ पछि हाम्रो पक्षमा थप १५–२० प्रतिशत मत बढ्छ,’ उनले भने, ‘जहाँ–जहाँ हामी बलियो छौँ, त्यहाँ उहाँहरूलाई (रास्वपा)लाई कठिन हुने निश्चित छ।’

काठमाडौँ उपत्यका र बागमती प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा उज्यालो पार्टीका उम्मेदवारबारे चर्चा हुन थालेको छ। चुनावको मुखमा रास्वपाले धोका दिएकाले जनताले मतमार्फत त्यसको जवाफ दिने खड्का बताउँछन्।   

रास्वपाका नेता गणेश पराजुली भने काठमाडौँ ३ बाहेक अन्यत्र कुनै समस्या नहुने दाबी गर्छन्। 

‘हामीलाई कुलमानको आफ्नै क्षेत्रबाहेक अन्त कहीँ गाह्रो छैन,’ उनले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad