नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिबीचको जनमत संग्रह भएको बताएका छन्।
सोमबार झापा-५ का मतदातासँगको कुराकानीमा अध्यक्ष ओलीले निर्वाचनबाट देशलाई समृद्धिको दिशामा लैजाने उम्मेदवार छान्नुपर्नेमा जोड दिए। एमालेलाई बच्चादेखि ज्येष्ठ नागरिकसम्मको ख्याल गर्ने पार्टीको रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा एमालेको विकल्प नभएको उनको दाबी थियो।
निर्वाचनले देशको रक्षा गर्ने र विकासको पाटो साट्ने अवसर प्रदान गरेको उनको भनाइ छ। ‘आज देश जलाउने र देश बनाउनेका बीचमा यो जनमत संग्रह हो,’ ओलीले भने, ‘हामीले देश बनाउनुपर्ने छ, सुशासन ल्याउनुपर्ने छ, शान्ति सुव्यवस्था कायम गर्नुपर्ने छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेछ।’
उनले विभिन्न किसिमका ठगीको काण्डहरू छानबिन गर्नुपर्ने बताए। ‘विभिन्न प्रकारका ठगीका काण्डहरू, विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरू गर्ने गराउनेहरूमाथि कारबाही गर्नुपर्ने छ, जनतालाई सुविधा दिनुपर्ने छ र देशमा छिटोछिटो विकास गर्नुपर्नेछ,’ उनले भने।
जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने उनको भनाइ थियो। ‘अहिले कस्तो चलेको छ भने एउटा आकाशे हल्ला छ। एक-दुई जना जनता अलिकति अल्मलिन्छ, अलिकति भ्रममा पर्छ,’ ओलीले भने, ‘कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन। जनता अब बाठो भइसक्या छ। देखिसक्या छ। बुझिसक्या छ। जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन।’
विकास गर्ने र आगो लगाउनेलाई जनताले चिनिसिकेको उनको भनाइ थियो। जनता बुझ्ने भइसकेको बताउँदै ओलीले भने, ‘जनता कसले विकास गर्छ, कसले आगो लाउँछ कसले देश बचाउँछ, कसले देश जलाउँछ यो कुरा थाहा पाइसकेको छ जनताले। त्यसर्थ देश जलाउनेलाई होइन, देश बचाउनेलाई। देश जलाउनेलाई होइन देशको विकास गर्नेलाई यस पल्टको निर्वाचनमा अझ बढी मतले जिताउनुपर्ने आवश्यकता परेको छ।’
Shares

प्रतिक्रिया