उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाईका साथै सुशासन कायम गर्न सफल होस् भनी शुभकामना दिएका छन्।
घिसिङले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत अब बन्ने रास्वपाको सरकारले राम्रो काम गरे आफ्नो पार्टीले समर्थन गर्ने र गलत गरे सडकबाट भए पनि खबरदारी गर्ने उल्लेख गरेका छन्।
‘चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु’, उनले लेखेका छन्, ‘सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ।’
साथै अध्यक्ष घिसिङले लोडसेडिङ अन्त्य गरेर जनताको मन जित्न सकिए पनि मत भने जित्न नसकिएको बताएका छन्। यद्यपि यो प्राविधिक विषय मात्र भएकाले पार्टीका नेता-कार्यकर्तालाई निराश नहुन उनले अपिल पनि गरेका छन्।
‘हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो। छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रा लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ’, घिसिङले लेखेका छन्, ‘चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये उज्यालो नेपाल पार्टीले एउटा क्षेत्रमा पनि विजय हासिल गर्न सकेन। कुलमान स्वयं काठमाडौँ क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेसँग हारे।
प्रत्यक्षतर्फ सबैभन्दा बढी रास्वपाले १२५ क्षेत्रमा जित हासिल गरेको छ भने समानुपातिकतर्फ पनि यो खबर बनाउँदासम्म ५० लाख मत कटाइसकेको छ।
यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जित्दा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपा र स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा विजय हासिल गरेका छन्।
उल्लेखनीय छ- कुलमानको पार्टी पनि चुनावको मुखमा रास्वपासँग एकता सहमति गरेर पछि अलग भएको थियो।
यस्तो छ कुलमान घिसिङको पूरा सन्देश
भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै उठेको जेनजी विद्रोहपछि सम्पन्न चुनावमा नयाँ शक्तिको रूपमा उदाएको उज्यालो नेपाल पार्टीलाई माया, विश्वास र आशा राख्दै देशभरि हाम्रा उम्मेदवारहरूलाई मतदान गर्नु हुने तथा हामीप्रति सद्भाव राख्नुहुने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस अभियानमा अहोरात्र खटिनुहुने पार्टीका नेता, कार्यकर्ता तथा सहयोगीहरूप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। साथै विषम परिस्थितिका बिच पनि चुनाव सफलतापूर्वक सम्पन्न गराउन योगदान दिनुहुने सम्माननीय प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित सबैप्रति हार्दिक धन्यवाद। यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र थिएन, यो भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसर थियो।
देशलाई नाराले होइन, दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक छ। हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो। आज पनि एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको छ। यही कारण बजेट खर्च हुन सकेको छैन, विकास सुस्त छ र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको छ। हामीले १८ घण्टासम्मको लोडसेडिङको अँध्यारो पनि देख्यौँ। तर साहसी निर्णय र दृढ नेतृत्वले त्यो अँध्यारोलाई चिरेर उज्यालो सम्भव छ भन्ने प्रमाणित गर्यौँ। करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत् पुगेको अवस्थाबाट ९९ प्रतिशतसम्म विद्युत् पुर्याउने काम भयो। नेपाल विद्युत् प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलायौँ।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा छोटो समयमै बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने, बाढीले क्षति पुर्याएका सडक पुनः सञ्चालन गर्ने तथा वर्षौँदेखि अलपत्र परेका विकास आयोजनाहरूको ठेक्का तोड्ने जस्ता महत्त्वपूर्ण काम अघि बढाइएका उदाहरण छन्। बुढीगण्डकी (१२०० मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जस्ता ठुला जलविद्युत् आयोजनाहरू स्वदेशी लगानीमै निर्माण गर्न सकिने विश्वाससहित मोडालिटी तय हुनु पनि महत्त्वपूर्ण उपलब्धि हो। यी त केवल केही प्रतिनिधि कामहरू मात्र हुन्।
हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो। छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठुलो ऊर्जा र मार्गदर्शन बनेको छ।
चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु। सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ। अन्त्यमा, चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।
Shares

प्रतिक्रिया