नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनको समीक्षा गर्दै मतदाताले मन परिवर्तन गरेका कारण सोचेअनुसार परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ।
नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले चुनावको प्रारम्भिक समीक्षा गर्दै चुनावमा सोचेभन्दा उल्टो परिणाम आउनुको कारण पहिल्याएकाे एक नेताले बताए। फागुन २७ गते नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा साढे दुई घण्टा बसेको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावबारे ‘ब्रिफिङ’ गरेका थिए।
चुनावी हारजितका विषयमा प्रचण्डको प्रारम्भिक ‘ब्रिफिङ’पछि नेताहरूले सैद्धान्तिक र राजनीतिक विषय पार्टी कमिटीमा छलफल गर्ने तय गरेको बैठकमा सहभागी ती नेता बताउँछन्।
बैठकमा बोल्दै सहसंयोजक माधव नेपालले मतदाता मन परिवर्तन गरेकाले सोचेअनुसार परिणाम नआएको बताएका थिए। ‘मान्छेको मन परिवर्तन भयो, यस्तो परिणाम आयो,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने। प्रतिनिधि सभाको निर्वाचनमा उनी रौतहट-१ बाट पराजित भएका थिए।
नेकपाले आफूहरूले अघि सारेको एजेन्डा जनतामा पुर्याउन नसकेको ठहर पनि गरेको छ। ‘लहर त लरहै भयो। हामीले उठाउँदै आएको मुद्दामा दायाँबायाँ त भएको छैन, ठीकै छ,’ बैठकको निष्कर्ष सुनाउँदै ति नेताले भने।
पुराना दलप्रति घृणा फैलाएका कारण पनि रास्वपाका पक्षमा मतदाता गएको नेकपाको निचोड छ। ‘उनीहरू (रास्वपा) ले पुराना दलप्रति फैलाएको घृणा र निराशाको प्रतिफल पनि हो। त्यसैले यसलाई धेरै अश्वभाविक पनि नठानौँ,’ उनले थपे।
अर्कातिर, प्रतिनिधि सभाको चुनावमा कमिकमजोरी भए पनि नेकपाले औँल्याएको छ। रास्वपाले फैलाएको गलत सूचनालाई चिर्ने रणनीति बन्न नसकेको पनि नेकपा नेताहरूले स्वीकारेका छन्। ‘सहि सूचनाको स्रोच, त्यसको पहिचान, विश्लेषण र त्यसअनुसारको कार्यनीति बनाउन सकेनौँ, त्यहाँ पनि हाम्रो असफलता हो,’ बैठकमा सहभागी अर्का नेताले भने।
भत्कियो गढ
यसपटकको चुनावमा दलका संगठन, समर्थक र शुभेच्छुक सबै असन्तुष्ट भएर मत फेरबदल गरेको प्रचण्डले सुनाएका थिए। ‘यो पालीको चुनावमा पुराना मान्यता भत्किए। गढ, किल्ला रहेन अब। हाम्रो यति सय, यति हजार भोट भन्ने जुन थियो, त्यो रहेन अब,’ बैठकमा प्रचण्डको ब्रिफिङ सुनाउँदै अर्का नेताले भने, ‘मतअधिकारकर्ता परिवार पनि छिन्नभिन्न भयो, फरकफरक ठाउँमा भोट हाले।’
यद्यपि रास्वपाको लहर आए पनि लोकतन्त्रमाथि कुनै खतरा नरहेको प्रचण्डको भनाइ छ। ‘अहिले लोकतन्त्र ट्र्याकमै छ,’ प्रचण्डको थप भनाइ थियो, ‘भोलि लोकतन्त्र ट्र्याक बाहिर जाने स्थिति आएमा संघर्ष गर्नुपर्ने हुनसक्छ।’
महाधिवेशनमा केन्द्रित हुने, नयाँ नेतृत्व निर्वाचनबाटै छान्ने
निर्वाचनको केही समयअघि विभिन्न वामपन्थी दलसँग गरेको एकता प्रभावकारी रुपमा तल्लो तहसम्म नपुगेको नेताहरूले बताएका थिए। ‘धेरै दलसँग एकता गरिएको भए पनि त्यसअनुसार, समायोजन गर्न र एकजुट भएर लाग्न समय अपुग भयो, अब कमिटीहरू गठन गर्दै महाधिवेशनमा केन्द्रित हुनुपर्छ,’ प्रचण्डले भनेका थिए।
नेपाली कांग्रेस र नेकपा (एमाले)मा नेतृत्व परिवर्तनको आवाज उठेको भए पनि नेकपाले भने महाधिवेशनबाटै टुंगो लगाउने निष्कर्ष निकालेको छ। ‘अब पार्टी कमिटीहरू फर्मेसन गर्ने, त्यसपछि सिंगो संगठनलाई महाधिवेशनमा लगेर पुनर्गठन गर्ने। नेतृत्व परिवर्तनदेखि लिएर के के कुरा हुनसक्छन्, त्यतिवेला गर्ने तय गरेका छौँ,’ ती नेताले भने।
एमाले कमजोर भयो, वामपन्थी एकताको आधार बन्यो
नेकपा बैठकले वाम एकतामा पनि जोड दिने तय गरेको छ। चुनावपछि एमालेमा देखिएको अन्योलले गर्दा नेकपाले नै वाम एकताको नेतृत्व गर्नुपर्ने अवस्था आउनसक्ने ठम्याइँ छ। ‘वाम एकतातिर जाने, वाम दलको अभिभावकत्व हामीले गर्ने हो कि? कम्युनिस्ट पार्टीहरू अलगथलग हुनु भएन भन्ने निष्कर्ष निकालेका छौँ,’ बैठकमा सहभागी नेताले भने।
नेकपाको निर्वाचन परिचालन कमिटीमा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम, झलनाथ खनाल, फम्पा भुसाल, देव गुरुङ, अग्नि सापकोटा, जगन्नाथ खतिवडा, रञ्जिता श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायत थिए।
नेकपाले आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई पनि ध्यानमा राख्दै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधि सभाका निर्वाचनमा देखिएका कमिकमजोरी सच्याउँदै स्थानीय निर्वाचनका लागि अहिलेदेखि नै तयारी गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्। यससँगै नेकपाले केन्द्रीय निर्वाचन परिचालन समितिलाई पनि भंग गरेको छ।
प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले ८ सिटमा जित हासिल गरेको छ। त्यस्तै, समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत पाएको छ। प्रतिनिधि सभामा नेकपा चौथो दल बनेको छ। यसअघि तेस्रो दल रहेको थियो।
Shares

प्रतिक्रिया