राजनीति


रास्वपाले दुई तिहाइ पाउँदा कांग्रेस बन्यो ८४ स्थानमा दोस्रो

नेकपाको ९९ स्थानमा जमानत जफत, एमाले–कांग्रेस, रास्वापाको कति ठाउँमा?
रास्वपाले दुई तिहाइ पाउँदा कांग्रेस बन्यो ८४ स्थानमा दोस्रो

नेपालखबर
फागुन २८, २०८२ बिहिबार २२:२, काठमाडौँ

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) करिब दुई तिहाइ सिट जित्दा नेपाली कांग्रेस ३८ सिट खुम्चिएर प्रतिपक्ष कित्तामा पुगेको छ। प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये ८४ स्थानमा दोस्रो भएको कांग्रेस ६३ स्थानमा मुख्य प्रतिस्पर्धी बन्न असफल रह्यो। 

यस्तै १८ निर्वाचन क्षेत्रमा भने कांग्रेसको जमानत जफत भएको छ। कांग्रेस उम्मेदवारको झापा २, झापा ३, झापा ५ र सुनसरी १ , सप्तरी १, सप्तरी २, सिराहा ४, महोत्तरी १, महोत्तरी ३, सर्लाही २, सर्लाही ३, रौतहट ३ र बारा ४, काठमाडाँै ७, काठमाडौँ ८, भक्तपुर १, चितवन ३, रूपन्देही ३ गरी १८ ठाउँमा जमानत जफत भएको छ। 

१६३ क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले चुनाव जितेका १२५ स्थानमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो भएको छ। कांग्रेसले चुनाव जितेका १८ स्थानमध्ये ८ स्थानमा एमाले, ६ स्थानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), २–२ स्थानमा रास्वपा र श्रम संस्कृति पार्टी दोस्रो भएका छन्। ०७९को निर्वाचनमा कांग्रेस प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सहित ८९ सिट जितेर पहिलो दल बनेको थियो। अहिले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिटमा खुम्चिएको छ। 

यस्तै, प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको एमाले उम्मेदवार उठाएको १६४ (मनाङ बाहेक)क्षेत्रमध्ये ४१ स्थानमा दोस्रो भएको छ। रास्वपाले जितेका १२५ सिटमा एमाले २७ स्थानमा दोस्रो बनेको छ। एमालेले जितेका ९ स्थानमध्ये २ ठाउँमा रास्वपा दोस्रो भएको छ। कांग्रेसले जितेका १८ मध्ये ८ र नेकपाले चुनाव जितेका ३ स्थानमा एमाले दोस्रो भएको छ। स्वतन्त्र सांसद महावीर पुनले चुनाव जितेको म्याग्दीमा पनि एमाले दोस्रो बनेको छ। श्रम संस्कृति पार्टीले चुनाव जितेका २ ठाउँमा एमाले दोस्रो बनेको छ।

एमालेको ४९ क्षेत्रमा एमालेको जमानत जफत भएको छ। ०७९को चुनावमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी ७८ सिटसहित एमाले दोस्रो भएको थियो। अहिले एमाले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी २५ सिटमा सीमित भएको छ। यस्तै नेकपा १५ ठाउँमा दोस्रो हुँदा ९९ स्थानमा जमानत जफत भएको छ। प्रत्यक्षतर्फ ८ ठाउँ (धनुषा १) मा चुनाव जितेको नेकपा १७ ठाउँमा दोस्रो भएको छ। 

रास्वपाले चुनाव जितेका १२५ मध्ये १० ठाउँमा नेकपा दोस्रो भएको छ। कांग्रेसले चुनाव जितेका १८ मध्ये ६ ठाउँमा नेकपा दोस्रो बन्दा एमालेले चुनाव जितेको कुनै पनि ठाउँमा नेकपा दोस्रो भएको छैन। ०७९ सालको चुनावमा प्रत्यक्षतर्फ १८ र समानुपातिकमा १४ गरी ३२ सिट ल्याएर तत्कालीन माओवादी तेस्रो बनेको थियो। गत निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेको तत्कालीन एकीकृत समाजवादी पनि नेकपामा समाहित थियो। 

विभिन्न पार्टी र समूह गरी १९ वटा कम्युनिस्ट घटक मिलेर बनेको नेकपा २०७९ को तत्कालीन माओवादीभन्दा पनि खुम्चिएको छ। नेकपाले अहिले प्रत्यक्षमा ८ र समानुपतिकमा ९ सिट प्राप्त गरेको छ। जितविहीन जसपा ६ ठाउँमा दोस्रो भएको छ। यसअघिको चुनावमा प्रत्यक्षमा ७ र ५ गरी समानुपातिकमा १२ सिट जितेको थियो। 

गत निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ गरी ६ सिट हासिल गरेको थियो। समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाए पनि लोसपाले प्रत्यक्षतर्फ ४ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका थिए। थ्रेसहोल्ड पार गर्न नसकेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट जितेका थिए। अहिले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रत्यक्षमा ३ र समानुपातिमा ४ गरी ७ सिटका साथ संसदमा प्रवेश गरेको छ। 

२०७९ मा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४ सिट जितेको राप्रपा अहिले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी ५ सिटमा खुम्चिएको छ। २०७९ को निर्वाचनमा मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेशकुमार सिंह, रौतहट २ बाट किरणकुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका थिए। यसपटक रास्वपाको समर्थन पाएका महावीर पुन बाहेक कुनै पनि स्वतन्त्र उम्मेदवारले चुनाव जित्न सकेनन्। गत निर्वाचनपछि खुलेको प्रभु साह नेतृत्वको आम जनता पार्टी जितविहीन भयो। 

१२५ क्षेत्रमा जितेको रास्वपा अन्य पार्टीले जितेका ४० स्थान मध्ये ६ स्थानमा दोस्रो भएको छ। रास्वपाले चुनाव जितेका १२५ सिटमा कांग्रेस ७३, एमाले २७, नेकपा १०, जसपा ६, श्रम संस्कृति पार्टी २ तथा राप्रपा, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वाभिमान पार्टी तथा स्वतन्त्र एक—एक ठाउँमा दोस्रो भएको देखिन्छ। 

रास्वपाको लहरका बाबजुद उसको उम्मेदवारका १३ निर्वाचन क्षेत्रमा जमानत जफत भएको छ। मनाङ र म्यादीमा भने उसले उम्मेदवारी दिएको थिएन। रुकुम पूर्व, जुम्ला, अछाम–१, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, रुकमपश्चिम, पाँचथर, सोलुखुम्बु र खोटाङमा रास्वपाको जमानत जफत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad