मोरङको बूढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी चिनफिङका पुस्तक जलाइएको घटनाले प्रशासनिक र राजनीतिक वृत्त तरंगित बनेको छ। विश्वविद्यालयको अटोमोबाइल वर्कसप सफा गर्ने क्रममा राष्ट्रपतिका राजनीतिक र दार्शनिक विचार समेटिएका ‘द गभर्नेन्स अफ चाइना’ का थान पुस्तकहरू सार्वजनिक रूपमा जलाइएको हो।
विश्वविद्यालयका कर्मचारी र ज्यालादारी मजदुर प्रयोग गरी पुस्तक जलाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गृह मन्त्रालयले यसबारे चासो व्यक्त गरेको छ। मन्त्रालयको निर्देशनलगत्तै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विश्वविद्यालयलाई पत्र लेख्दै २४ घण्टाभित्र सत्यतथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।
'विश्वविद्यालयलाई निश्चित समयसीमा दिएर पत्र काटिएको छ, आज साँझसम्म जवाफ आइपुग्ने अपेक्षा छ," प्रजिअ कटेलले नेपालखबरसँग भने, "जिम्मेवार निकायबाट यस्तो संवेदनशील विषयमा भएको असावधानीबारे विस्तृत जानकारी आएपछि मात्र थप भन्न सकिन्छ।'
विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागले प्रयोगशाला (ल्याब) का लागि स्थान व्यवस्थापन गर्न प्रयोगविहीन अवस्थामा रहेको अटोमोबाइल वर्कसपका पुराना सामग्री हटाउने निर्णय गरेको थियो। सोही क्रममा करिब २५ दिनअघि एउटा टोलीले सामग्रीको वर्गीकरण गरी ढुसी लागेका र काम नलाग्ने कागजपत्र नष्ट गर्न स्टोर शाखा र सिभिल विभागका कर्मचारीलाई जिम्मेवारी दिएको थियो।
शनिबार दिनभरको सरसफाइपछि साँझ कलेज परिसरमै ती सामग्री जलाइएको थियो। तर, नष्ट गरिएका 'पत्रु' सामग्रीभित्र चिनियाँ राष्ट्रपतिका पुस्तकहरू समेत परेपछि विवाद सुरु भएको हो। ती पुस्तक तत्कालीन नेता स्व. भरतमोहन अधिकारीको पालामा विश्वविद्यालय स्थापनाका क्रममा ल्याइएको बताइएको छ।
प्रशासनिक स्रोतका अनुसार स्टोर शाखाका जिम्मेवार कर्मचारी र सिभिल विभागका प्राविधिक सदस्यहरूको नेतृत्वमा मजदुरहरूलाई सामग्री जलाउन आदेश दिइएको थियो। जलाउनुअघि ती पुस्तकको कूटनीतिक र ऐतिहासिक महत्त्वबारे ध्यान नदिइनुलाई प्रशासनले ‘अक्षम्य त्रुटि’ मानेको छ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले भने यसलाई नियतवश गरिएको घटना नभई फोहोर व्यवस्थापनका क्रममा भएको मानवीय कमजोरी दाबी गरेका छन्। 'स्टोरमा सडेका फोहोर जलाउने क्रममा केही थान पुस्तक परेका हुन सक्छन्, तर यो कसैको विरुद्ध वा अपमान गर्न गरिएको होइन,' नेपालखबरसँग उनले भने।
यद्यपि, विश्वविद्यालयभित्रैको एक पक्षले भने यसलाई ‘अति संवेदनशील’ विषय भन्दै युट्युबरहरूलाई बोलाएर विवाद सिर्जना गरिएको दाबी गरेको छ। घटनाको संवेदनशीलता र छिमेकी मुलुकको राष्ट्रप्रमुखको प्रतिष्ठा जोडिएकाले स्थानीय प्रशासनले यसलाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेछ।
Shares

प्रतिक्रिया