समाज


‘साथी मर्‍यो’ भन्दै घर पुगे, राति नै झोला बोकेर फरार भए : निकुञ्जभित्रको त्यो रहस्यमय सिकार

‘साथी मर्‍यो’ भन्दै घर पुगे, राति नै झोला बोकेर फरार भए : निकुञ्जभित्रको त्यो रहस्यमय सिकार

दिनेश बुढा
चैत ३, २०८२ मंगलबार १५:३१, काठमाडौँ

सुरक्षाकर्मी प्रतिनिधि सभाको निर्वाचनमा खटिएको मौका पारेर सुर्खेतका ६ जना बर्दिया राष्ट्रिय निकुञ्ज छिरे। सुर्खेतको बराहताल गाउँपालिका-१, ज्यामिरे र सुगरखाल गाउँका ४ जना, बराहताल-२ को रानीघाटका १ र लेकवेशी नगरपारिकाल-८, का एक गरी ६ जना थिए। उनीहरूसँग सिकारका लागि आवश्यक घरेलु हातहतियारसँगै भरुवा बन्दुक पनि थिए। 

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार सिकारी समूहमा बराहलात गाउँपालिका-१, का २५ वर्षीय रेशम सम्सेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल सम्सेली र बराहताल-२ रानीघाटका ३३ वर्षीय रानीघाटका टोपबहादुर खत्री थिए। ज्यामिरे र रानीघाट नजिकै पर्छन् भने लेकवेशी नगरपालिका-८, का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै थिए। 

स्थानीय बासिन्दाका अनुसार उनीहरू पहिला पनि सिकार खेल्न जान्थे। यसपटक निकुञ्जमा सिकार खेल्न गएका ६ जनामध्ये ५ जना घर फर्किए। तर, उनीहरूसँगै गएका बराहताल गाउँपालिका-२, रानीघाटका ३३ वर्षीय टोपबहादुर खत्री फर्किएनन्। 

बराहाताल गाउँपालिका-१ की वडा सदस्य दिलमाया सम्सेली मगरका अनुसार टोपबहादुरबाहेक ५ जना फागुन २४ गते घर फर्किएका थिए। उनीहरूले सँगै सिकार गएका टोपबहादुर उतै जंगलमा मरेको सुनाए। तर, मृत्युको कारण भने खुलाएनन्। आफ्ना परिवारका सदस्यसँग केही नभन्नु भन्दै सोही दिन उनीहरू घरबाट निस्किए। 

वडा सदस्य दिलमाया सम्सेली मगरले उक्त घटनाबारे तीन दिनअघि मात्रै गाउँमा हल्ला फैलिएपछि थाहा भएको बताइन्। ‘चुनावको मतगणनाका कारण म गाउँमा थिएनँ। त्यतिबेला उनीहरू समूहमा सिकार खेल्न भनेर घरबाट निस्केका रहेछन्’, उनले भनिन्, ‘फागुन २४ गत साँझ ८-९ बजेतिर ५ जना सिकार खेलेर पर्किएका रहेछन्, उनीहरूले आफ्नो घरमा घटनाबारे जानकारी गराएर सोही दिन गाउँ छाडेको कुरा जनप्रतिनिधि र प्रहरीसमक्ष उनीहरूका आफन्तले भनेका छन्।’ 

तर, यो घटना सोमबार मात्र बाहिर सार्वजनिक भएको हो। ‘पिडकहरूले परिवारका सदस्यलाई टोपबहादुरको घटनाको खबर कसैलाई नभन्नु भनेका रहेछन्’, वडा सदस्य मगरले पिडकहरूले आफ्ना आफन्तसँग भएको कुरा उद्धत गर्दै भनिन्, ‘साँझ घर पुगेपछि उनीहरूले घटनाबारे कसैलाई नभन्नु भनेर झोला बोकेर निस्के।’

वडा सदस्य मगरका अनुसार सिकार खेल्न गएकाहरूले टोपबहादुर हिँड्दाखेरी लडेर आफैँले बोकेको बन्दुक पट्किएर लागेको बताएका थिए। 

यस्तै, घटना गाउँभरि फैलिएपछि सुनिल सम्सेलीकी आमाले टोपबहादुरका भिनाजु नाता पर्ने आशाराम महतरालाई घटनाबारे सुनाएकी थिइन्। त्यसपछि घटनाबारे थाहा पाउनासाथ आशाराम तत्काल प्रहरी चौकी रानिघाट पुगेपछि घटनाबारे जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार स्थानीय आशारामले सोमबार बिहान आफ्ना साला नाता पर्ने टोबहादुर खत्रीसहित ६ जना सिकार खेल्न गएको अवस्थामा सम्पर्कविहीन भएको जानकारी गराएका थिए। उनले जानकारी गराएसँगै प्रहरी चौकी रानिघाटबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको कमान्डमा चार जनाको प्रहरी टोली खोजतलासमा खटिएको डीएसपी बुढथापाले जानकारी दिए। प्रहरी टोलीले घटनाबारे थप बुझेर जिल्ला प्रहरी कार्यालय, बर्दियालाई खबर गरेको छ। 

प्रवक्ता बुढथापाका अनुसार घटनास्थल बर्दिया जिल्लामा पर्छ। घटना भएको १० दिन बितिसकेको र पाँचै जना भारततर्फ लागेको हुनसक्ने उनको भनाइ छ। 

एक-आपसमा झगडा भएको वा जनावरलाई हानेको गोली टोपबहादुरलाई लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको डीएसपी बुढथापाले बताए। उनीहरूको खोजी कार्य सुरु भइसकेको उनको भनाइ छ। घटना भएको बर्दिया राष्ट्रिय निकुञ्ज र बराहताल गाउँपालिकाको वडा नम्बर १ सिमावर्ती क्षेत्रमा हो। 

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बर्दिया र सुर्खेतको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार बिहानदेखि नै खोजीकार्य जारी राखेको जानकारी दिए। 

यस्तै, बराहताल गाउँपालिका-२ का वडाध्यक्ष भीमबहादुर साउदले टोपबहादुर खत्री २ नम्बर वडाका स्थानीय नागरिक भएको जानकारी दिए। ‘घटनाबारे हिजो मात्रै जानकारी आएको हो। उहाँको मृत्यु भएन-भएको पुष्टि भएको छैन,’ वडाध्यक्ष साउदले भने। 

बराहताल गाउँपालिका-१ का वडाध्यक्ष बमबहादुर बडुवालले घटनाबारे आफूलाई सोमबार बेलुका मात्रै जानकारी भएको बताए। ‘उनीहरू २३ गते सिकार खेल्नका लागि जंगल गएको र एक जनाबाहेक ५ जना २४ गते फर्किएको भन्ने छ’, बडुवालले भने, ‘२४ गते फर्किएकाहरूले स्याउँलामा चिप्लिएर टोपबहादुरले बोकेको हतियार पट्किएर मृत्यु भएको जानकारी दिएका थिए। तर, सबै जना त्यहीँ राति नै फरार भएको भन्ने छ। थप मैले बुझ्न पाएको छैन।’

वडा सदस्य मगरले घटनाबारे हल्ला फैलिएपछि सोमबारदेखि प्रहरी र स्थानीयले टोपबहादुरको खोजी कार्य सुरु गरेको बताइन्। ‘म आज गाउँमै छु। सुरक्षाकर्मी र स्थानीय आफन्तहरू टोपबहादुरको खोजीमा निकुञ्जतर्फ जानुभएको छ,’ उनले भनिन्। 

यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले घटनाबारे जानकारी प्राप्त हुनासाथ खोजतलासको कार्य जारी रहेको बताए। उनले आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारी लगायतको टोली ड्रोन क्यामेरासहित घटनास्थलमा खटिएर खोज तलास गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad