नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति अवलम्बन गरेको ठहर गरेको छ।
सरकारी हस्तक्षेपको विरोधमा साउन ९ गते माइतीघर मण्डलमा बृहत् प्रदर्शन गर्ने महासंघले घोषणा गरेको छ। बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी आम निर्वाचनपछि गठन भएको वर्तमान सरकारबाट प्रेस स्वतन्त्रताको संवैधानिक मर्मअनुसार सञ्चार क्षेत्रमैत्री नीति आउने अपेक्षा गरिएको भए पनि व्यवहारमा प्रेसमाथि दबाब, अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन तथा सञ्चारगृह लक्षित गतिविधि बढ्दै गएको जनाएको छ।
महासंघले यस्ता गतिविधिका कारण नेपाली सञ्चार क्षेत्र डरलाग्दो स्वनियन्त्रणको अवस्थाबाट गुज्रिरहेको जनाएको छ। लोकतान्त्रिक व्यवस्थामा सञ्चार क्षेत्रले लामो समयदेखि उठाउँदै आएका समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चार माध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापन व्यवस्थाको समयानुकूल सुधार, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, सञ्चार क्षेत्रसँग सम्बन्धित आवश्यक संरचनाको गठन तथा पत्रकारको बीमा र सामाजिक सुरक्षालगायतका मागप्रति सरकारले अपेक्षित चासो नदेखाएको जनाएको छ।
विज्ञप्तिमा निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशबाट हटाइएको स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनप्रति भने आशंका व्यक्त गरेको छ। अदालतको आदेश व्यवहारमा कार्यान्वयन नभए सञ्चार क्षेत्र थप समस्यामा पर्ने महासंघको भनाइ छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारगृहको सुरक्षा र नागरिक अधिकारको संरक्षण सुनिश्चित गर्न सरकारसँग तत्काल प्रतिकूल नीतिहरू फिर्ता लिन महासंघले माग गरेको छ। साथै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अन्तर्राष्ट्रिय मान्यता र लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।
यही मागलाई थप सशक्त रूपमा उठाउन नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाले साउन ९ गते शनिबार दिउँसो ३ बजे काठमाडौँको माइतीघर मण्डलमा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। कार्यक्रममा सञ्चारकर्मी, नागरिक अधिकारका पक्षधर तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि महासंघले आह्वान गरेको छ।
संयुक्त विज्ञप्तिमा उपत्यका प्रदेश समितिकी कार्यवाहक अध्यक्ष रोजिना थापा (कार्की), काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल, ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की र भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकारले हस्ताक्षर गरेका छन्।
Shares

प्रतिक्रिया