सरकारले मातहतका सबै निकायलाई साउन महिनाभित्रै खरिद प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि मन्त्रालयहरूले पनि मातहतका निकायलाई परिपत्र गरेका छन्। बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि मातहतका निकायलाई परिपत्र गरेको छ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत कौशल पाण्डेले मातहतका निकायलाई पठाएको पत्रमा साउन महिनाभित्रै खरिद प्रक्रिया सुरु गर्न भनिएको छ। पत्रमा सबै आयोजना तथा कार्यक्रमका लागि बोलपत्र आह्वानको सूचना साउन महिनाभित्रै प्रकाशित गर्न भनिएको छ।

त्यसको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ। पत्रमा भनिएको छ, ‘सबै आयोजना/कार्यक्रमहरूका लागि बोलपत्र आह्वानको सूचना प्रकाशित गर्ने लगायतका खरिद प्रक्रिया साउन महिनाभित्रै सुरु गरी सो को विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (भौतिक पूर्वाधार विकास शाखा) मा तोकिएको ढाँचामा पठाई सो को जानकारी यस मन्त्रालयलाई दिनुहुन निर्णयानुसार अनुरोध छ।’
यसअघि साउन ५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयहरूलाई पठाएको पत्रमा ‘शून्य दिन खरिद नीति’ लागू गरिएकाले साउनभित्रै सबै खरिद प्रक्रिया सुरु गर्न भनिएको थियो।

Shares

प्रतिक्रिया