पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुक विदेशीको खेलमैदान बन्ने खतरा बढेको बताएका छन्।
बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति सकारात्मक दिशामा अगाडि नबढेको र मुलुक संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका हुन्।
नेता नेपालले अहिलेको चुनौतीपूर्ण समयमा आफ्नो पार्टीको काँधमा गम्भीर जिम्मेवारी आएको उल्लेख गर्दै देशको अस्तित्व र सार्वभौमसत्तामाथि नै प्रश्न उठ्न थालेको बताए।
सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्
पूर्वप्रधानमन्त्री नेपालले सरकारलाई तमासा देखाउन छाडेर जनताका समस्याप्रति संवेदनशील र जिम्मेवार हुन आग्रह गरे। नेपालले मुलुकमा बढ्दै गएको आत्महत्याको प्रवृत्ति र नागरिकले भोगिरहेका पीडाप्रति सरकार गम्भीर हुनुपर्ने बताए।
उनले सरकारले सञ्चार गृह र राजनीतिक दलका नेताहरूको घर अगाडि गाडी तेर्स्याएर शक्ति प्रदर्शन गर्ने जस्ता अपरिपक्व कार्य गर्न नहुने टिप्पणी गरे।
वरिष्ठ पत्रकारद्वय गुरागाईं र श्रेष्ठ पुरस्कृत
समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा नेता नेपालले गुरागाईंलाई उक्त पुरस्कार प्रदान गरे। सो पुरस्कारको राशि रु ५० हजार रहेको छ।
‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ। सो पुरस्कारको राशि रु २५ हजार रहेको छ।
Shares

प्रतिक्रिया