राजनीति


हर्कको थाप्लोमा माझकिरातको ‘विद्रोही विरासत’

हर्कको थाप्लोमा माझकिरातको ‘विद्रोही विरासत’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ।


वाशुदेव मिश्र
चैत ६, २०८२ शुक्रबार ९:२२, पोखरा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साउन ६ गते पत्रकारसँगको कुराकानीमा भनिन्, ‘म राजनीतिमा अघि बढेँ। माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ।’

नेकपा (एमाले) मा सक्रिय राजनीति गर्ने मनसायले भण्डारीले यो अभिव्यक्ति दिएकी थिइन्। सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयपछि भण्डारीको सक्रिय राजनीति अघि बढ्न सकेनन्। अहिले उनी मौन बसेकी छन्। 

पूर्वराष्ट्रपति भण्डारी मौन रहे पनि माझकिरातकै प्रतिनिधित्व गर्ने हर्कराज राई (साम्पाङ) भने चर्चामा छन्। सुनसरीको धरान उपमहानगरपालिकाको मेयर हुँदा नै चर्चा बटुलेका हर्क भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि प्रसंशा पनि बटुलिरहेका छन्। 

तीन महिनाअघि २०८२ कात्तिक १६ मा उनको नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले फागुन २१ को चुनावबाट राष्ट्रिय पार्टीको दर्ता पनि पाएको छ। प्रत्यक्षतर्फ ३ सिट जितेको उनको पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाउँदै ४ सांसद थपेको छ। 

वर्षौंदेखि लागेका दलले नराम्रोसँग पराजय भोगेका बेला श्रम संस्कृति पार्टीको सफलताम माझकिरातीकै हात छ। भलै, २०३९ फागुन १५ मा खोटाङको खार्ताम्छामा जन्मिएका हर्कले चुनाव भने पल्लोकिरातमा पर्ने सुनसरीबाट जितेकै किन नहुन्!

माँझकिरात र विद्रोहको कथा
मदन पुरस्कार विजेता इतिहास अध्येता भगिराज इङ्नामका अनुसार १८७१ सालमा तत्कालीन इस्ट इन्डिया कम्पनी (ब्रिटिस) ले नेपालमा आक्रमण गर्नुअघि पूर्वको अरुण नदीदेखि पश्चिमको दूधकोसीसम्म पहाडी इलाकालाई माझकिरातको नामले चिनिन्थ्यो। त्यो क्षेत्रमा अहिले भोजपुर, खोटाङ, संखुवासभा, उदयपुर र सिन्धुली जिल्ला पर्छन्। 

लडाइँ हुनुअघिको लालमोहोरमा टिस्टासम्मलाई नै पल्लोकिरात भनिएको छ। लडाइँले सीमा खुम्च्याएपछि सुनसरी अरुणपूर्व पश्चिम र दूधकोसीपूर्वलाई पल्लोकिरात भनिने गरेको पाइन्छ। ‘मेचीपूर्व सप्तकोसी पश्चिमसम्मको भूभाग पल्लोकिरात भयो,’ इङ्नामले नेपालखबरसँग भने, ‘सप्तकोसी पश्चिम र दूधकोसी पूर्वको भाग माझकिरात भइहाल्यो। दूधकोसी पश्चिम धुलिखेलबाट पूर्वलाई वल्लोकिरात भन्ने छ।’

हर्क साम्पाङ मेयर बनेको सुनसरीको धरानसहित आदिवासी किरातको राज्य रहेको तीन वटै क्षेत्रलाई समुच्चमा किरात प्रदेश मान्नुपर्ने इङ्नामको भनाइ छ। माझकिरातमा खम्बू र पल्लोकिरातमा लिम्बूहरूको बाहुल्य रहेको छ। 

नेपालको इतिहास पल्टाउँदा पनि काठमाडौँ उपत्यकामा सुरुमा गोपालवंशी, त्यसपछि महिषपालवंशी र अनि किरातवंशीले शासन गरेको पाइन्छ। वंशावलीमा लेखिएका यी कुरालाई इतिहासकार बाबुराम आचार्यको ‘प्राचिनकालका नेपाल’ले पुष्टि गर्छ। इतिहास शिरोमणि आचार्यका अनुसार किरातहरूले इसापूर्व ५५० देखि २५० सम्म अविछिन्न शासन गरेका थिए।  

यिनै आदिवासी किरातहरू कालान्तरमा पूर्वी नेपाल पुगे। तामाकोसी र अरुण नदीको बीचको भागलाई आवाद गरे। योे क्षेत्रको शासन हातमा लिए। 

पछि पाल्पाका सेनवंशी राजा आफ्नो राज्य बिस्तार गर्ने क्रममा झापासम्म पुगे।  त्यो कुरा मानदेवले चाँगुनारायणमा राखेको शिलालेखबाट प्रष्ट हुने इतिहासकार धनबज्र बज्राचार्यद्वारा ‘लिखित लिच्छवीकालको अभिलेख’ पुस्तकमा उल्लेख छ। राई, लिम्बू, सुनुवार र याख्खाहरू किरात जातिभित्र समेटिन्छन्। 

चाँगुनारायणमा रहेको शिलालेख विक्रम संवत् ५२१ को हो र त्यो शिलालेखमा मानदेवले ‘आफूराजा भएपछि आमाको आज्ञा पाएर पूर्वको बाटो लागेको र त्यहाँ पूर्वीया सण्ठ रजौटाले दबेर शिर निहुराए, तिनका श्रीपेचको माला भुइँमा खसे, हुकूममा तामेल रहने तिनीहरूलाई थमौती गरी जगर फिंजाएको सिंह जस्तै निडर भई राजा पश्चिमतिर लागे’ लेखिएको धनबज्रको भनाइ छ। 

कालान्तरमा पाल्पाका राजा मुकुन्द सेन प्रथम शक्तिशाली बने। उनले आफ्नो राज्यलाई पूर्वमा टिस्टासम्म नै पुर्‍याए। काठमाडौँ नजिकको मकवानपुर नै कब्जा गरे। माझकिरात पाल्पा राज्यअन्तर्गत नै थियो तर हर्ताकर्ता चाहिँ खम्बु राईहरू नै थिए। 

मुकुन्द सेनको १६१० सालमा निधन भएपछि राज्य पनि टुक्रन सुरु गयो। मकवानपुर टुक्रिएर कोसीपूर्व विजयपुर अर्कै राज्य बन्यो। विजयपुरमा राजा विधाताइन्द्र सेन र मकवानपुरमा शुभ सेन राजा बनेको इतिहास छ। 

सेन राजाहरूबीचको कलह अनि पूर्णियाका नवावहरूको हस्तक्षेप र त्यसबाट मुक्तिबारेको इतिहास लामो छ। कालान्तरमा शुभ सेनका छोराहरूले राज्य फिर्ता पाए। शुभ सेनका दुई छोराबीच राज्य बाँडिदा मकवानपुर राज्य अन्तर्गत नै पहाडतिर सिन्धुलीको पौवागढीदेखि पूर्व अरुण कोसीसम्म रहेका सुनकोसीदेखि दक्षिणसम्मको माझकिरातलाई चौदण्डी प्रदेश बनाइएको पाइन्छ। 

दूधकोसीदेखि अरुण कोसीसम्मको माझकिरात पनि चौदण्डीमै सामेल थियो। उनका अनुसार  हालको उदयपुरदेखि दक्षिणतिरको भावरमा नयाँ राजधानी चौदण्डी बन्यो। शुभ सेनका दुई छोरामध्ये जेठा महिपति सेन कमलादेखि पूर्व विजयपुरको र कान्छा मानिक मकवानपुरका राजा भएको पाइन्छ। मानिकका चार छोरामध्ये जेठा हेमकर्ण सेन मकवानपुरका राजा भए।

माइलाले हेमकर्णको प्रतिनिधिका रुपमा माझकिरातको प्रशासन चलाउने जिम्मेवारी पाए। दरबारमा रहेका बानियाँ मन्त्री र किरात मन्त्रीबीच मत नमिल्दा किराती मन्त्रीहरूले जगत सेनलाई १७८४ सालमा चौदण्डीका राजा घोषित गरे। माझकिरात छुट्टै राज्यको रुपमा उदाएसँगै खम्बू राईहरू दरबारका हर्ताकर्ता बने।

त्यतिवेला खम्बू राईहरूको अधिनमा रहन नखोज्ने पुरोहित र सरदारहरूले विकल्प खोजेको अध्यता राजकुमार दिक्पालले लेखेका छन्। राज्य बिस्तारको क्रममा रहेका पृथ्वीनारायण शाहलाई आक्रमणका निम्ति निम्तो दिए। त्यसको नेतृत्व खार्पाली पोखरेल हरिनन्द उपाध्याय र क्षेत्री कर्मचारी स्वरूपसिंह कार्कीबाट भएको इतिहासकार बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जीवनी’ पुस्तकलाई उधृत गर्दै दिक्पालले लेखेका छन्। यद्यपि, हरिनन्दका सन्तानले चाहिँ त्यो भनाइको खण्डन गरेको पनि दिक्पाल सुनाउँछन्। 

अन्ततः १८३० सालमा कर्ण सेन राजा रहेकै बेला माझकिरात गोर्खा राज्यमा विलिन भयो। किपटको अधिकार भने कायमै राखिएको पाइन्छ। पृथ्वीनारायण शाह र लिम्बूहरूबीच १८३१ साउन १२ मा भएको सम्झौता अनुसारको ‘...जीमि भुमि रहिञ्जेल तिम्रो शाखा सन्तान तक भोग गर। हामीले खोसे मासे मानी पूजी ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस’ भन्ने लालमोहरले त्यसको पुष्टि गर्छ।

माझकिरातलाई गोर्खामा विलय गराउने क्रममा ठूलो शक्ति प्रयोग भएको र खम्बू राईहरूमाथि ज्यादति गरिएका तथ्यहरू पनि दिक्पालको हिमालखबरमा प्रकाशित आलेखमा उल्लेख छ। त्यस्तै, डा. हर्क गुरुङले ‘मैले देखेको नेपाल’ पुस्तकमा उल्लेख गरे अनुसार गोर्खाली सेना अरुण नदीको पूर्व छिर्न नसकेपछि पृथ्वीनारायण शाहले सो सम्झौता गरेका थिए। राष्ट्रिय जनगणना २०७८ ले भने राई र लिम्बूलाई भाषाको आधारमा फरक राखेको छ।  

माझकिरात गोर्खामा विलयबाट खुशी थिएन। नाखुस रहेको माझकिरातले विद्रोहका लागि १८६२ सालमा मौका छोप्यो। तत्कालीन मुख्तियार रणबहादुर शाहले राज्यको खर्च जुटाउन भनेर बिर्ता, गुठी र किपट जग्ग्गा जफतको घोषणा गरे। खासमा आफू बनारस रहँदा लागेको ऋण तिर्नका लागि उनले त्यो निर्णय गराएको इतिहासकारले उल्लेख गरेको पाइन्छ। 

१९५८ सालमा बनारस गएका उनी खर्च सकिएपछि स्वदेश फर्केका थिए। भनिन्छ- त्यो जुुक्ति भीमसेन थापाको थियो। ‘बासठ्ठी हरण’ काण्डको रूपमा इतिहासमा चर्चित यो काण्डका कारण ६२ जना ब्राह्मणहरूले पाएको बिर्ता र गुठी अनि राईहरूको किपट जग्गा जफत हुने भयो। एकसाथ ब्राह्मण र राईसहित त्यो क्षेत्रका जनताले विद्रोहको राँको बोके। 

इतिहासकार ज्ञानमणि नेपालद्वारा लिखित ‘नेपालको महाभारत’ का अनुसार ‘बाग्यान पर्व’ भनिने विद्रोहमा बाहुन, क्षेत्री, राई, घर्ती सबै सामेल थिए। विद्रोह दबाउन काजीहरू रणजित पाँडे, भीमसेन थापा, रनध्वज थापा, बहादुर भण्डारी र बालनरसिंह कुँवरले हवल्दार केहरसिंह थापालाई आदेश दिए। १८६४ आश्विन, सुदी ३ रोज १ मा दिइएको यो आदेश अनुुसार केहरसिंह नेतृत्वको फौजले निर्मम दमन गर्‍यो।

विद्रोहमा सामेल भएका दत्तु उपाध्याय कोइराला, पशुपति जैसी, पीताम्बर उपाध्याय, रामभद्र उपाध्याय, प्रल्लाद जैसी र भगिरथ ढुङ्गानाको चारपाटा मुडियो, जात खोसियो र सर्वस्वहरण भयो। अटल खत्री, नरी बस्नेत, कनकसिंह घर्ती, केसर घर्ती, धीर्जे घर्ती, बन्दु घर्ती र गजसिंह घर्तीलाई काटियो। 

यस्तै अटल राई, भरथसिंह राई, कंठवीर राई, चामुफाल्या राई, सुजा राई र दिलिमी राईको पनि हत्या गरियो। कतिसम्म भने अटल राई, भरथसिंह राई र कंठवीर राईका सन्तानलाई पनि छाडिएन। 

माझकिरातमा किपट खोसिए पनि पल्लोकिरातमा चाहिँ २०२१ सालसम्मै किपट प्रथा कायम रहेको पाइन्छ। भूमिसुधार लागू गरी किपट खोसिँदा त्यहाँका लिम्बू समुदायले चर्को विरोध गरेका थिए। २०३३ सालसम्म पनि किपट कुनै न कुनै रुपमा रहेको इतिहासकारहरूको भनाइ छ।

माझकिरातको योगमाया-विद्रोह
१९२४ सालमा भोजपुरको मझुवाबेंसीमा जन्मेकी योगमाया न्यौपानेको सानैमा विहे भयो। १० वर्षमा उनले पति गुमाइन्। सतिप्रथा हटेकै थिएन। तर, योगमाया जोगिइन्। ‘पति टोकुवा’को अवहेलना सहँदै अघि बढिन्। 

त्यसपछि पनि प्रेममा परिन्, विहे गरिन्। त्यो विहे पनि त्यस्तै भयो। तेस्रो विहेपछि चाहिँ उनले छोरी नैनकलालाई भाइको जिम्मामा छाडेर आसाम भासिइन्। 

आसाम पुगेपछि उनी हिन्दू सुधारवादी नेता दयानन्द सरस्वतीको प्रभावमा परिन्। नेपाल फर्केर धार्मिक यात्रामा निस्केकी उनीबारे विभिन्न किंबदन्ती सुनिन्छन्। स्वर्गद्वारी महाप्रभु अभयानन्द दोस्रोसँग जोसमनी सन्तपरम्परा अनुसार आत्मिक योगशिक्षा लिएपछि भने उनी साधक बनिन्। योग साधनाले खारिएकी योगमायाले सुधारको अभियान थालिन्। 

तत्कालीन श्री ३ महाराज जुद्ध समसेरसँग ‘सत्य धर्मको भिक्षा’ मागिन्। उनले राखेको २४ बुँदे अपिलको सुनुवाइ भएन। त्यसको विरोधमा राखेको अग्नी समाधिको कार्यक्रममा सरकारी हस्तक्षेप भयो। १९९५ कात्तिक २६ गतेको त्यो अभियान रोकियो। 

त्यसपछि पनि योगमाया र उनकी पुत्री नैनकला रोकिएनन्। १९९८ असार २० गते हरिशयनी एकादशीका दिन उनीसहित ६८ जनाले जलसमाधि लिए। त्यो जलसमाधि सत्ताविरुद्धको विद्रोह थियो। त्यसको नेतृत्व माझकिरातकै योगमायाले गरेकी थिइन्। 

भोजपुरकै नारदमणि थुलुङ र रामप्रसाद राईहरूले २००७ सालको क्रान्तिमा अग्रमोर्चा सम्हालेका थिए। थुलुङ कालान्तरमा मन्त्री बनेका थिए भने रामप्रसादले भने केआई सिंहसँग मिलेर सिंहदरबार कब्जा अभियानमा पनि सहभागी भएका थिए। 

साम्पाङको ‘श्रम विद्रोह’
२०७९ सालमा स्वतन्त्र उम्मेदवारको रुपमा धरानको मेयर बनेका हर्क साम्पाङले जिम्मेवारी सम्हालेसँगै ‘श्रम विद्रोह’को सुरुवात गरे। कोकाहा खोलाको पानी धरान झार्ने अभियानमा श्रमदान गर्न खटिए। देश-विदेशमा रहेका नागरिकको साथ पाए। प्याच्च बोलिहाल्ने र अरुलाई पिरोल्ने स्वभावका कारण आलोचित बने पनि उनी रोकिएनन्। 

कानुन, नियम र नियमावलीको ख्याल राख्नुभन्दा पनि आफ्नो बोलीकै आधारमा उपमहाननगर चलाए। सामाजिक सञ्जालमा मुखरित भइरहने हर्कले आलोचक र प्रशंसक दुवै कमाए। 

जेनजी आन्दोलनपछि देश सम्हाल्ने भन्दै प्रधानमन्त्री हुने भनेर काठमाडौँ हानिए। प्रधानसेनापतिसँग वार्तामा बसे तर प्रधानमन्त्री नपाएपछि आफै पार्टी खोल्ने निर्णयमा पुगे। श्रम संस्कृति पार्टीको स्थापनासँगै श्रम संस्कृति र ‘हर्कवाद’लाई मार्गनिर्देशक सिद्धान्त बनाएका उनलाई जनताले पत्याइदिए। 

सुनसरी-१ बाट संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङलाई ८ हजार ४९२ मतले पछि पार्दै निर्वाचित भए। हर्कले ३५ हजार ७४१ मत पाउँदा गोमाले २७ हजार २४९ मत पाएकी थिइन्। 

त्यस्तै, भोजपुरमा हर्क नेतृत्वकै श्रम संस्कृति पार्टीका धुव्रराज राई निर्वाचित भएका छन्। कोसी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले सचिव शेरधन राईलाई पराजित गर्दै पूर्वलाहुरे ध्रुवराजले संसद यात्रा तय गरेका हुन्। उनले १६ हजार ६६३ मत ल्याउँदा शेरधनले १४ हजार ७५० मत पाए।

खोटाङमा २९ वर्षीय ओरेन राईले श्रम संस्कृतिको झण्डा फहराए। एमालेका देवविक्रम राईलाई पराजित गरेका उनले १६ हजार ६१२ मत पाए। प्रतिस्पर्धी देवविक्रमले १२ हजार ७१४ मा पाए। 

धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक गरेका उनले चुनावपछि भने सुझबुझपूर्ण निर्णय गरेका छन्। धरानको मेयर हुँदाको छविलाई बिर्साउँदै समानुपातिकमा सबै क्षेत्रलाई समेटेका छन्। 

आदिवासी जनजातितर्फबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी संग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुरलाई समानुपातिकबाट सांसद बनाएका छन्। 

हर्कको पार्टीले जितेका तीन वटै क्षेत्रमा आदिवासी जनजातिको बाहुल्य छ। तीन वर्षअघि प्रदेश नम्बर १ लाई ‘कोसी’ नामकरण गर्ने बेला यो क्षेत्र विरोध उठेको थियो। 

त्यसो त कुनै समय गोपाल किराँतीले त्यही भूमिबाट खम्बूवान राष्ट्रिय मोर्चाको घोषणा गरेका थिए। कालान्तरमा उनी माओवादीमा मिसिए। सशस्त्र विद्रोहकालीन समयमा माओवादीले यो क्षेत्रलाई लिम्बुवान-खम्बुवान नै भनेको थियो। 

हर्कलाई माझकिरात र समग्र कोसीले आड-भरोसा दिँदा देशैभरबाट पनि साथ पाएका छन्। देशका सबै जसो क्षेत्रबाट थोरबहुत समानुपातिक मत पाएका छन्। त्यो मतलाई न्याय गर्दै माझकिरातको विद्रोही विरासतलाई जोगाउने जिम्मेवारी हर्क साम्पाङको थाप्लोमा आइपुगेको छ।

अध्येता भगिराज इङ्हाङको भनाइ मान्ने हो भने हर्कमा विद्रोही चेत मात्र नभएर कामको हुटहुटी पनि उत्तिकै छ।

'माझकिरातमा जन्मेर पल्लोकिरातलाई कर्मथलो बनाएको हर्क कामले प्रमाणित भएको मान्छे हो', इङ्हाङले नेपालखबरसँग भने, 'सांसद भएसँगै पनि उ उस्तै सुनिएको छ। कता पुल बनाउने भन्दै छ। विद्रोही त जनता हुन्। चुनावले त्यही भन्छ। अब हर्कहरूले त्यो विद्रोहलाई सिर्जनात्मक तरिकाले उपयोग गर्नुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad