एकातिर मधेस राजनीति र जनता समाजवादी पार्टी (जसपा) नेपालको लामो विरासत बोकेका पाका ससुरा, अर्कोतिर नयाँ पुस्ताको लहर बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा लाग्न खोजेकी बुहारी।
डा अंकिता ठाकुरले निकै साहस बटुलेर ससुरा जयप्रकाश ठाकुरसँग भनिन्– ‘बुवा, म रास्वपामा जाने सोचमा छु!’
सुरुमा जयप्रकाश केही बोलेनन्। त्यसपछि गम्भीर भएर सोधे– ‘तिमीले आफ्नो ठाउँ र समाजका लागि काम गर्न सक्छौ त?’
‘सक्छु बुवा,’ उनले दृढतासाथ जवाफ दिइन्।
‘राजनीति रहर पूरा गर्न जाने होइन, ठूलो जिम्मेवारी बोकेर हिँड्नुपर्छ। रहर मात्रै हो भने अगाडि नबढ। तर आफ्नै गाउँठाउँको सेवा गर्छु भन्ने आँट छ भने मेरो साथ छ,’ जयप्रकाशले मुस्कुराउँदै भने।
जयप्रकाशलाई कुनै बेला बुहारी आफ्नै पार्टीबाट राजनीति गरे हुन्थ्यो भन्ने लाग्थ्यो। तर, ‘यसैबाट राजनीति गर’ भन्न सकेका थिएनन्। यत्तिकैमा अंकिताले आफ्नो इच्छा सुनाएकी थिइन्। बुहारीको चाहनामा जयप्रकाश असहमत हुन सकेनन्।
निर्वाचनको मिति नजिकिँदै थियो। जयप्रकाश जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वय समिति सदस्य थिए। यही बेला उनले पार्टीगत राजनीति नै परित्याग गरे।
उनले नातावाद, कृपावाद, जातिवाद, अर्थवाद तथा नस्लीय चिन्तनबाट पार्टी ग्रसित भइसकेकोले जसपा छाडेको घोषणा गरे। ससुराले राजनीति छाड्ने र बुहारीले राजनीतिक जीवन थाल्ने अनौठो संयोग जुर्यो।
जयप्रकाश ठाकुर २०३१ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए। तराई मधेस लोकतान्त्रिक पार्टी स्थापना भएपछि उनी त्यसमा लागे। दोस्रो संविधानसभा र ०७४ तथा ०७९ सालको प्रतिनिधिसभामा उम्मेदवार भए। निर्वाचित भने हुन सकेका थिएनन्। पछिल्लो समय उनी लोसपाबाट छुट्टिएर जसपामा गएका थिए। त्यहाँ पनि कुरा नमिलेपछि गत फागुनमा पार्टी परित्याग गरेका थिए।
अंकिता हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद भएकी छिन्। पेसाले उनी दन्तरोग विशेषज्ञ हुन्। उनको परिवारमा चिकित्सक र इन्जिनियर बन्ने परम्परा जस्तै थियो। परिवारको प्रेरणा र समाजसेवाको चाहनाले उनले चिकित्सा क्षेत्र रोजिन्।

उनको राजनीतिप्रति रुचि विवाहपछि सुरु भएको थियो। घरको वातावरण र ससुराको मार्गदर्शनले राजनीतितर्फ आकर्षित गरेको उनी बताउँछिन्।
जेनजी आन्दोलनपछि अंकिताले रास्वपा जाने निर्णय गरिन्। त्यसअघि पनि उनलाई रास्वपामा आउन धेरै पटक आग्रह गरिएको बताउँछिन्। तर उनी ‘अहिले समय भएको छैन’ भन्दै पछि हट्ने गर्थिन्।
‘रास्वपामा लाग्नुभएको दाइहरूसँग चिनजान थियो। उहाँहरूले धेरै पटक मधेसको महिलाको प्रतिनिधित्व गर्नुपर्छ भन्नुभयो। मैले अहिले तपाईंहरू काम गर्दै गर्नुहोस्, पछि आउँला नि भनेर टार्दै आएको थिएँ,’ उनी थप्छिन्, ‘भदौ २३ र २४ को घटनाले अब पुरानो पार्टी विरुद्धको दमन अन्त्य गर्नुपर्छ भन्ने लागेर रास्वपा आउने निर्णय गरेँ।’
यो निर्णयबारे घरमा कसरी सुनाउने होला भन्ने दोमन हुन थाल्यो। उनले पतिको सल्लाह लिइन्।
रेडियोलोजिस्ट श्रीमानले रास्वपाबाट राजनीतिमा जान उनलाई सहमति दिए। श्रीमानको साथ र सहयोग पाएपछि उनले घरमा सुनाएकी थिइन्।
‘राजनीति घरमै देखेर सिकेँ,’ उनी भन्छिन्, ‘अब नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्छ। तिमीहरू अब राजनीतिमा लाग भनेर ससुरा–बुवाको प्रेरणा र श्रीमानको साथका कारण राजनीतिमा आएँ।’
रास्वपामा जोडिएपछि उनी घरदैलो कार्यक्रममा जान थालिन्। उनी बालेन्द्र शाहको निर्वाचन क्षेत्रमा पनि पुगेकी थिइन्। बालेन्द्रकी श्रीमतीसँग घरदैलो कार्यक्रममा हिँडेकी थिइन्।
अब समानुपातिक सांसद बनेर प्रतिनिधिसभाको यात्रा तय गर्नेछिन्।
२ दिन रास्वपाको तालिम लिएर फर्किएकी डा अंकिताले तालिमले आफूमा राजनीतिक सचेतना बढाएको बताइन्।

दन्तरोग विशेषज्ञबाट सांसदसम्म
सप्तरीमा जन्मिएकी उनको बाल्यकाल भने काठमाडौँमा बितेको थियो।
अंकिताले ललितपुरस्थित ज्ञान शिखा बोर्डिङ हाइस्कुलबाट विद्यालय शिक्षा पूरा गरिन्। उनी विद्यालय तहदेखि नै नेतृत्व र रचनात्मक गतिविधिमा सक्रिय हुन्थिन्।
स्कुलका विभिन्न गतिविधिमा अग्रपंक्तिमा रहने उनी ‘फ्रेन्ड्स अफ जु’ नामक समूहको अध्यक्ष भएर करिब ६ वर्ष काम गरिन्।
बाल्यकालदेखि नै टेलिभिजन, रेडियो र सार्वजनिक कार्यक्रमहरूमा उनको उपस्थिति देखिन्थ्यो। त्यही सक्रियताले उनलाई सञ्चार क्षेत्रतर्फ पनि तान्यो। स्कुल पढ्दापढ्दै उनले विभिन्न मिडिया कार्यक्रममा सहभागी हुने अवसर पाइन्।
सेन्ट जेभियर्स कलेजबाट प्लस–टु अध्ययन गरेकी अंकिताको परिवारमा डाक्टर, इन्जिनियर भएकाले सानैदेखि यी मध्ये केही बन्नुपर्छ भन्ने नैतिक दबाब थियो। उनको रुचि दन्तरोग विषयमा हुन थाल्यो।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) भैरहवाबाट दन्त चिकित्सा (बीडीएस) पढिन्। भैरहवामा पढ्दाको समय उनले स्थानीय टेलिभिजन र एफएममा उद्घोषकका रूपमा समेत काम गरिन्।
चिकित्सा शिक्षा पढ्दै गर्दा संस्थाले गरिब तथा असहाय बिरामीको उपचारका लागि रकम संकलन सुरु गर्यो। उनले पनि चन्दा संकलन गरेर पैसा तिर्न नसक्ने बिरामीहरूको उपचार गराउन सहयोग गरेकी थिइन्।
अध्ययन पूरा गरेपछि ललितपुरको नोभा डेन्टल एन्ड एस्थेटिक क्लिनिकमा काम गर्न थालिन्। उनी हाल यो क्लिनिककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
सन् २०२३ मा आयोजित ‘मिसेस नेपाल कल्चर’ प्रतियोगिताकी फर्स्ट रनर–अप समेत बनेकी अंकिता अब संसदमा पुगेर स्वास्थ्य नीति, सामाजिक न्याय र महिलाको अधिकारका विषयमा आवाज उठाउने तयारीमा छन्।
मधेसका धेरै महिलाहरू अझै पनि अवसर र पहुँचबाट वञ्चित छन्। महिलालाई घरको चार पर्खालबाट बाहिर ल्याएर नेतृत्वमा पुर्याउने काम गर्नुपर्ने उनको भनाइ छ। उनी मधेसको स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताउँछिन्।
‘म मधेसकी छोरी र बुहारीको हैसियतले मधेसको महिलाको आवाज उठाउँछु,’ ६ वर्षीय छोराकी आमासमेत रहेकी उनी भन्छिन्, ‘सबैले परिवर्तन चाहियो, छोरा–छोरीलाई परिवर्तन चाहियो भन्ने सचेतना बढेकाले अब काम गर्नुपर्छ। हरेक घर–घरबाट महिलाहरू पनि जोडिन आउनुभयो। मधेस जागेको छ। अब जनताले महसुस गर्ने गरी काम गर्नुपर्छ। ससुरा–बुवाबाट राजनीति हस्तान्तरण भएको छ, त्यो जिम्मेवारी लिन तयार छु।’
Shares

प्रतिक्रिया