जेनजी अगुवा रक्षा बममाथि भएको दुर्व्यवहारको नेपाल जेनजी फ्रन्टले भर्त्सना गरेको छ।
शुक्रबार फ्रन्टले प्रेस विज्ञप्ति जारी गरी आन्दोलनकारीमाथि यस प्रकारको आक्रमण सह्य नहुने जनाएको छ। ‘शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यस प्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन।’
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी फ्रन्ट लगायतका संस्था माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएका छन्। यहि क्रममा चैत ५ गते माइतीघरमा धर्नामा बसिरहेका वेला केही युवाले बममाथि दुर्व्यवहार गरेका थिए।
यस्ता क्रियाकलापले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकका लागि भइरहेको आन्दोलन कमजोर हुने फ्रन्टले जनाएको छ। ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ। जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गइरहेको छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ,’ विज्ञप्तिमा भनिएको छ।
सही मुद्दा बोकेर एक्लै भए पनि लडिरहने फ्रन्टले जनाएको छ। ‘हामी सधैं जेनजी विद्रोहका सहिद, घाइते, सम्पूर्ण आन्दोलनकारी र समग्र नेपाली नागरिकको हित तथा अग्रगामी परिवर्तनका लागि लडिरहेका छौँ, लडिरहनेछौँ,’ फ्रन्टले भनेको छ, ‘यस्ता घटनाले हाम्रा प्रतिबद्धता र मनोबललाई कत्ति पनि विचलित गर्न सक्दैन, गर्नेछैन।’
Shares

प्रतिक्रिया