विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र पश्चिम एसियामा जारी तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ। इरान र इजरायलबीचको द्वन्द्वले विश्वव्यापी ऊर्जा सुरक्षामा चुनौती थपिरहेका बेला दुई नेताबीच भएको यो संवादलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री मोदीले फेसबुकमार्फत सोमबार भएको उक्त संवादको जानकारी दिँदै पश्चिम एसियाको पछिल्लो अवस्थाबारे ‘उपयोगी विचार–विमर्श’ भएको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीलाई फोन गरेर यस क्षेत्रको सुरक्षा चासोबारे छलफल गरेका हुन्।
भारतले यसअघि नै मध्यपूर्वको अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै आएको छ। संवादका क्रममा मोदीले भारतको स्पष्ट अडान दोहोर्याउँदै भनेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन प्राप्त भयो र पश्चिम एशियाको अवस्थाबारे उपयोगी विचार-विमर्श भयो। भारतले तनाव न्यूनीकरण र यथाशीघ्र शान्ति पुन:स्थापनाको समर्थन गर्दछ।’
विशेष गरी विश्वको तेल आपूर्तिको मुख्य नाका मानिने 'स्ट्रेट अफ होर्मुज' मा हुन सक्ने सम्भावित अवरोधप्रति दुवै नेताले गम्भीर चासो देखाएका छन्। इरान र पश्चिमा शक्ति राष्ट्रहरूबीचको टकरावले यो जलमार्ग असुरक्षित बनेमा त्यसको सिधा असर भारत र अन्य देशमा पर्ने निश्चित छ।
यस विषयमा मोदीले थप प्रस्ट पारेका छन्, ‘स्ट्रेट अफ होर्मुज खुला, सुरक्षित र सबैका लागि पहुँचयोग्य रहनु सम्पूर्ण विश्वका लागि अत्यन्त आवश्यक छ।’
नयाँ दिल्ली र वासिङ्टनबीचको यो उच्चस्तरीय संवादले बदलिँदो वैश्विक सुरक्षा संरचनामा भारतको भूमिकालाई थप केन्द्रित गरेको छ। संवादको अन्त्यमा दुवै नेताले यस क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्नका लागि आगामी दिनमा पनि निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता जनाएका छन्। ‘शान्ति र स्थायित्वका प्रयासहरूबारे निरन्तर सम्पर्कमा रहने विषयमा हामी सहमत भयौँ,’ मोदीले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया