नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्की आयोगले कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य रहेको बताएका छन्।
बिहीबार एमालेका नवनिर्वाचित सांसदसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कार्की आयोगको सिफारिस निराधार भएको दाबी गरेका हुन्।
फौजदारी मुद्दामा छानिबन र मुद्दा चलाउन गरिएको सिफारिसबारे बोल्दै अोलीले भने, ‘त्यो अत्यन्तै निराधार र कानुनी हिसाबले प्रधानमन्त्री, गृहमन्त्री र आईजीपीको बारेमा सिफारिस गर्नै नमिल्ने कुरा हो।’
आफूविरुद्ध केही प्रमाण नभेटेपछि फौजदारी दण्ड संहिताको दफा १८१ र १८२ देखाएको उनको भनाइ थियो। ‘यो सिफारिस चरमपूर्वाग्रह, कतै केही नभेटेपछि ति दफा ठोसेको छ। बदनाम गर्ने, चरित्र हत्या गर्ने, घृणाको राजनीतिको अर्को प्रकट भएको मात्रै हो,’ ओलीले भने।
पूर्वप्रधानमन्त्री ओलीले यसलाई आयोगको कुकर्म भनेका छन्। ‘यो निन्दनीय छ, खेदजन्य छ, अस्वीकार्य छ,’ ओलीले भने, ‘आयोगले गरेको कुकर्म हो। यसमा दुःख व्यक्त गर्न सक्छौँ, गर्छौँ।’
Shares

प्रतिक्रिया