राजनीति


सीता बादी: झुप्राखोलाबाट सिंहदरबारको यात्रा

गिटीबालुवा छानेर जीविका चलाएकी सीता अब महिला, बालकालिकाका लागि काम गर्नेछिन्
सीता बादी: झुप्राखोलाबाट सिंहदरबारको यात्रा

दिनेश बुढा
चैत १३, २०८२ शुक्रबार १२:११, सुर्खेत

बादी समुदायकी सीता बादी कर्णाली प्रदेशबाट मन्त्री बनेकी छन्। समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनेकी बादीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएको छ। 

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा कर्णाली प्रदेशबाट मन्त्री बनेकी उनी एक्ली महिला हुन्। उनको यो उपलब्धि व्यक्तिगत मात्र नभई समग्र बादी, दलित तथा सीमान्तकृत समुदायको प्रतिनिधित्वका रूपमा हेरिएको छ। 

२०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, झुप्राखोलामा जन्मिएकी बादीले बाल्यकालदेखि नै गरिबी, छुवाछुत, सामाजिक अपमान र बहिष्कारको तीतो अनुभव भोगिन्। नदी किनार र अस्थायी बस्तीमा बसोबास गर्ने बादी समुदायका अधिकांश परिवारझैँ उनको परिवारसँग पनि आफ्नै जग्गा थिएन। 

जीविकोपार्जनका लागि खोलाको बालुवा उत्खनन जस्ता कठिन श्रममा निर्भर रहँदै आएको उनको परिवार अहिले पनि त्यही अवस्थामै छ। सामाजिक विषयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। 

उनी पढाइ अधिकार होइन, संघर्ष भएको बताउँछिन्। ‘राजनीति पढ्नु संयोग थिएन्,’ उनले भनिन्, ‘हाम्रो समुदाय किन सधैं पछाडि पर्छ भन्ने बुझ्न चाहन्थेँ। त्यसैले मैले राजनीतिशास्त्र अध्ययन गरेँ।’

उनले आफ्नो अध्ययनसँगै लामो समय सामाजिक क्षेत्रमा काम गरेकी छन्। उनले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षा र महिलालाई सीपमूलक तालिम प्रदान गर्दै आएकी छन्। 

चुनिखेल क्षेत्रमा हस्तकला व्यवसाय सञ्चालन गरी आफू आर्थिक रूपमा सक्षम बन्नुका साथै अन्य महिलालाई रोजगारीको अवसर पनि सिर्जना गरेकी छन्। यही अनुभवले उनलाई परिवर्तनका लागि निर्णय गर्ने ठाउँमा पुर्‍याएको छ। 

राजनीतिमा प्रवेश गर्दा उनले ‘तिमी कहाँ, संसद् कहाँ?’ भन्ने प्रश्न धेरै पटक सुन्नुपरेको थियो। तर, उनले त्यस्ता अविश्वासलाई चुनौती दिँदै अघि बढिन्। संविधानले समानता सुनिश्चित गरे पनि व्यवहारमा विभेद कायमै रहेको उनको बुझाइ छ। ‘कसैले थरकै कारण सम्मान पाउँछन्, कसैले जन्मकै कारण अपमान,’ उनले भनिन्।

उनले बादी समुदायबाट पहिलोपटक संघीय संसद्मा प्रतिनिधित्व गर्दै मन्त्री बनेर रेकर्ड बनाएकी छन्। अब आफ्नो समुदायका आधारभूत मुद्दा शिक्षा, स्वास्थ्य, रोजगारी र भूमिहीनताबारे काम गर्ने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad