राजनीति


बालेनलाई वामदेवको प्रश्न- ७४ वर्षको वृद्ध ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ?

बालेनलाई वामदेवको प्रश्न- ७४ वर्षको वृद्ध ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ?

नेपालखबर
चैत २१, २०८२ शनिबार १८:२७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आग्रह गरेका छन्। 

नेता गौतमले शानिबार वक्तव्य जारी गरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीलाई रिहा गर्न आग्रह गरेका हुन्। उनले आफ्नो वक्तव्यलाई प्रधानमन्त्रीलाई खुलापत्र भनेका छन्। 

प्रधानमन्त्री शाहलाई सम्बोधन गरेर लेखिएको वक्तव्यमा गौतमले शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्री शाहलाई शुभकामना पनि दिँदै गौतमले भनेका छन्, ‘आज तपाईँ नेपालको ४३औँ प्रधानमन्त्री बन्नु भएको छ। आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ।’

पूर्वउप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका गौतमले कुनै पनि घटनाको छानबिन प्रतिवेदनका आधारमा सिधै पक्राउ गर्नु उचित नभएको जिकिर गरेका छन्। ‘हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानबिन प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारबाही प्रक्रिया अगाडि बढ्ने हो,’ गौतमले भनेका छन्। 

उनले पूर्वप्रधानमन्त्री ओलीलाई अपमानित हुने गरी थुन्ने काम गलत भएको जनाएका छन्। ‘म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको वृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ? उहाँलाई थुन्नका निम्ति जे–जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र?,’ गौतमले भनेका छन्। 

पूर्वप्रधानमन्त्री ओलीलाई थुन्न प्रयोग गरिएका कुराको पहिले परीक्षण हुनुपर्ने जिकिर गरेका छन्। ‘हाम्रो संविधानबमोजिम कसैलाई मृत्युदण्ड दिइन्न। तर, संसारका अन्य राष्ट्रमा मृत्युदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ,’ उनले भनेका छन्, ‘केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियो। त्यसो नगरी रातारात घर घेरेर, एकाबिहानै पक्राउ गर्ने शैली गलत थियो।’

ओलीलाई थुन्नु गलत भएको जनाउँदै रिहा गर्न प्रधानमन्त्री शाहसँग आग्रह गरेका छन्। गौतमले भनेका छन्, ‘म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला। एउटा वृद्ध, शारीरिक रूपमा पनि अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad