चार दलबिच राष्ट्रियसभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने सहमति भएको छ।
आइतबार नेपाली कांग्रेस, एमाले, नेकपा र जसपा नेपालले राष्ट्रियसभाको उपाध्यक्ष पदमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने सहमति गरेका हुन्।
चार दलबिच भएको भागबन्डाअनुसार कांग्रेसले दुई संसदीय समितिका सभापति पद पाउनेछ भने नेकपा र जसपा नेपालबाट एक/एक समितिमा सभापति हुने राष्ट्रियसभामा एमाले संसदीय दलका नेता प्रेम दंगालले नेपालखबरलाई जानकारी दिए।
‘हाम्रो राष्ट्रिय सहमति कायम भयो’, उनले भने, ‘अब सभापतिहरू पनि सर्वसम्मत हुन्छन्, यसले राष्ट्रिय राजनीतिमा राम्रै सन्देश दिन्छ।’
राष्ट्रियसभामा विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार गरी चार समिति छन्।
त्यस्तै दुईवटा संयुक्त समिति पनि छन्, जसमा प्रतिनिधिसभाका सदस्य पनि रहन्छन्।
राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि यही चैत २३ गते निर्वाचन गर्ने तालिका छ।
निर्वाचन तालिकाअनुसार यसका लागि चैत २२ गते आइतबार उम्मेदवारी दर्ता गर्नुपर्नेछ।
राष्ट्रियसभाको अध्यक्ष भने नेकपाका नारायणप्रसाद दाहाल छन्।
Shares

प्रतिक्रिया