नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले अहिले चलिरहेको वामपन्थी एकताको चर्चालाई असान्दर्भिक भनेर टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै पौडेलले अहिले एमालेको पुनर्गठन आवश्यक भएको जिकिर गरेका छन्। ‘नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो,’ पौडेलले भनेका छन्।
पार्टी पुनर्गठनबाट ध्यान मोड्न वामपन्थी एकताको चर्चा गरिएको आरोप लगाएका छन्। पौडेलले भनेका छन्, ‘यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन्?’
केही समययता एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच एकताको चर्चा भइरहेको छ। बिहीबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि एकताको बहस झन बढेको छ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न बिहीबार साँझ प्रचण्ड अस्पताल पुगेका थिए। उनीहरूबीच ४० मिनेट कुराकानी भएको थियो।
Shares

प्रतिक्रिया