नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले छुट्टा–छुट्टै समूहगत छलफल गरेका छन्।
कांग्रेस नियमति र विशेष महाधिवेशनमा विभाजित हुँदा खड्का र कोइराला एक ठाउँमा उभिए। गत पुसमा तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन हुँदा खड्का र कोइराला नियमित महाधिवेशनको पक्षमा एकमत थिए।
विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दा खड्का र कोइरालाले सामुहिक रुपमा प्रतिवादमा उत्रिए। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय पनि खड्का र कोइराला समूह एक भएरै लिए।
सर्वोच्च अदालतको फैसला नआएसम्म कोइराला र खड्का समूहको छलफल बैठक एउटै हुने गरेको थियो। यही वैशाख ४ गते सर्वोच्च अदालतले पनि थापा नेतृत्वकै कार्यसमितिलाई वैधता दिएपछि खड्का समूहको छलफलमा नेता कोइराला जान छाडेका छन्।
खड्काको अगुवाइमा वैशाख १५ र १६ मा सम्पन्न भेलामा १४ औं महाधिवेशनमा निर्वाचित भएका पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र क्षेत्रीय सभापतिहरू लगायत सहभागी थिए। त्यहाँ कोइराला समूहका नेताहरु सहभागी थिएनन्।
कोइरालाले बिहीबार ९आज० छुट्टै भेला आयोजना गरे। तर, खड्का समूहको दुई दिने भेला र कोइराला समूहको निष्कर्ष भने एउटै छ।
विशेष महाधिवेशन राष्ट्रिय राजनीतिलाई धमिल्याउने र कांग्रेसलाई कमजोर अवस्थामा ल्याउने षडयन्त्रको पहिलो कदम बन्न पुगेको खड्का समूहको बैठकको निष्कर्ष छ। यस्तै कोइराला समूहले पनि विशेष महाधिवेशनले पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेको छ।
बिहीबार विहान बालुवाटारस्थित ओपेरा होटलमा भएको बागमती प्रदेशस्तरीय भेलाबाट कोइराला समूहले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको ठहर गरेका छ। यस्तै कांग्रेसले सुरु गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई गलत र बदनीयतपूर्ण भएको खड्का समूहको निष्कर्ष छ।
खड्का समूहले क्रियाशील सदस्यता अद्यावधिक नगर्न र नगराउन पार्टीका सबै तहका जिम्मेवार पदाधिकारीमा अपील पनि गरेको छ। कोइराला समूहको छलफलमा पनि सहभागीहरुले पन्ध्रौं महाधिवेशनका लागी क्रियाशिल सदस्यता नविकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने धारणा राखेका छन्।
अहिले आएर सदस्यता अध्यावधिक व्यवहारिक नभएको उनीहरुको तर्क छ। खड्का समूहका छलफलमा सहभागी नेताहरु शशांक कोइराला, सुजाता कोइराला, एनपी साउद, शिव हुमागाईँ, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, निलकाजी शाक्य लगायतका कोइराला समूहको भेलामा पनि पुगेका थिए।
Shares

प्रतिक्रिया