राजनीति


दक्षिणपन्थी शक्तिहरूले मजदूरमाथि डोजर चलाइरहेका छन्: जगतबहादुर सिम्खडा

दक्षिणपन्थी शक्तिहरूले मजदूरमाथि डोजर चलाइरहेका छन्: जगतबहादुर सिम्खडा

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १२:४९, काठमाडौँ

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले लोकप्रियतावादको नाममा श्रमिकका हक-अधिकार र ट्रेड युनियन आन्दोलनमाथि भइरहेको प्रहार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिम्खडाले नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको रगत र पसिना बगेको स्मरण गराए। आज तिनै श्रमिकका झुपडीमाथि डोजर चलाउनु र ट्रेड युनियन अधिकारमाथि बन्देज लगाउन खोज्नु फाँसीवादी चिन्तन भएको उनको भनाइ थियो। 

‘जुन वर्गले रगत बगाएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो, आज तिनै मजदुरका अधिकारमाथि दक्षिणपन्थी शक्तिहरूले लोकप्रियतावादको मुकुण्डो लगाएर डोजर चलाइरहेका छन्,’ सिम्खडाले भने। 

पछिल्लो समय विकसित डिजिटल अर्थतन्त्र र ‘गिग इकोनोमी’का नाममा श्रमिकलाई आधुनिक दास बनाउन खोजिएको भन्दै उनले चिन्ता व्यक्त गरे। राइडर, अनलाइन भेन्डर र आउटसोर्सिङमा कार्यरत श्रमिकलाई श्रम ऐनको दायराभन्दा बाहिर राखेर मालिकविहीन बनाउने खेल भइरहेको उनको तर्क थियो। 

‘जीडीपीमा २९ प्रतिशत योगदान पु¥याउने श्रमिकलाई राज्यले विदेशी मुद्रा छाप्ने मेसिन मात्र ठानेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको मुख्य रोजगारदाता राज्य बन्नुपर्छ र उनीहरूको सुरक्षाको शतप्रतिशत जिम्मा सरकारले लिनुपर्छ,’ उनले भने। 

श्रम ऐनका मजदूर विरोधी दफाहरू खारेज गर्न सरकारसँग माग गरे। विशेष गरी श्रम ऐनको दफा १४५ (कटौती), दफा १०९ (सरुवा), दफा ३९ (जगेडा) र दफा ५८ (आउटसोर्सिङ)लाई श्रमिक विरोधी भन्दै ती प्रावधान तत्काल हटाउन आग्रह गरे। 

बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिकको न्युनतम ज्यालाले जीवन धान्न मुस्किल परेको उल्लेख गर्दै सिम्खडाले वैज्ञानिक ढङ्गले तलब भत्ता वृद्धि गर्न र श्रमिकका छोराछोरीका लागि गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको ग्यारेन्टी गर्न राज्यसँग माग गरे। 

अबको आन्दोलन उद्योग र कलकारखानामा मात्र सिमित नभई सडक, सदन र डिजिटल प्लेटफर्मसम्म विस्तार हुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad