राजनीति


सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ: माधवकुमार नेपाल

सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ: माधवकुमार नेपाल

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १५:८, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाएका छन्।

१३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

सरकारले सुकुम्बासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत  बेवास्ता गरिरहेको सहसंयोजक नेपालको भनाई थियो।

उनले सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको जिकिर समेत गरे। उनले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताए। सहसंयोजक नेपालले सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि स्पष्ट पारे। 

नेता नेपालले भने,‘यो सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । मजदुर विरोधी काम गरिरहेको छ। ट्रेड युनियन अधिकार विरोधी काम गरिरहेको छ। जनताको बास बस्ने अधिकारलाई खोसी रहेको छ । रोजगारीको अधिकार जनताको अधिकार हो। त्यसलाई पनि बेवास्ता गरिरहेको छ। त्यसो हुनाले पनि हामीले सरकारलाई अहिले नै सावधान गराउनु पर्छ। तपाईंको एक सय दिन पनि पूरा भएको छैन। तर लक्षण राम्रो देखाइरहनुभएको छैन।’

सहसंयोजक नेपालले सरकारको गलत कामको विरोध गर्न पनि पार्टीमा आवद्ध मजदुर नेताहरूलाई निर्देशन दिए। उनले सरकारका कदम जायज र उचित नभएकाले त्यसको विरोध गर्नुपर्ने अवस्था आएको दाबी समेत गरे।

मजदुर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुरविरोधी देखिएको टिप्पणी गरे।

कार्ल मार्क्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा नेता नेपालले जोड दिए। वर्तमान सरकार गठन भएको १०० दिन पनि पूरा नहुँदै गलत लक्षणहरू देखिएको नेता नेपालको दाबी छ।

सरकारले सुकुम्बासी समस्याको उचित विकल्प नखोजिकन दमन गरेको, ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेको र अध्यादेशमार्फत शासन गर्न खोजेकोमा उनले आपत्ति जनाए। 

नेपालको भूराजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै नेता नेपालले असंलग्न परराष्ट्र नीतिको महत्वमाथि प्रकाश पारे। 

‘हामी दुई ठुला छिमेकीको बिचमा छौँ। हामी कुनैपनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ र कसैको ‘पुच्छर’ पनि बन्न सक्दैनौँ।’
उनले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सबै सचेत हुनुपर्ने बताए। 

प्रतिकूल राजनीतिक अवस्थामा पनि निराश नहुन आग्रह गर्दै उनले भने, ‘हारपछि जित अवश्य हुन्छ। मजदुर वर्गले समाजका सबै तहका समस्या बुझेर परिवर्तनको नेतृत्व गर्नुपर्छ।’

देशमा बढ्दो बेरोजगारी र युवाहरूको पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad