पूर्वमन्त्री सुदन किराँती नेतृत्वको समूह र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबीच आज एकता घोषणा हुँदैछ। शुक्रबार दिउँसो तीन बजे बागबजारस्थित हार्दिक होटलमा हुने कार्यक्रममा दुई पार्टीबिच एकता घोषणा गर्ने तयारी छ।
पूर्व माओवादी नेतासमेत रहेका किराँती एकताको लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग निरन्तर संवादमा थिए। किराँतीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेता र पछि कोसीको मुख्यमन्त्री दिने सहमतिसमेत दुई नेताबिच भइसकेको चर्चा छ। यसै सन्दर्भमा सुदन किराँतीसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानी:
तपाईं श्रम संस्कृत पार्टीको वरिष्ठ नेता बन्न लाग्नु भएको हो?
आज पार्टी एकता हुँदै छ। हामी एकता कार्यक्रममै यो सबै विषय घोषणा गर्नेछौँ। सबै कुरा जानकारीको लागि घोषणा कार्यक्रमसम्म पर्खनुस् न। हामीले तयार गरेको डकुमेन्टमा पार्टी एकता भन्ने नै छ। सुदन किराँती समूह र श्रम संस्कृति पार्टीबिच एकता भन्ने नै छ डकुमेन्टमा। त्यहीअनुसार तपाईँहरूले लेखिदिनु होला।
एकता हुँदा पदको बाँडफाँड कसरी गर्नु भएको छ?
तपाईँ पार्टीको दोस्रो वरियताको नेता बन्दै हुनुहुन्छ भन्ने कुराहरू आएका छन् नि?
अँ... भरे आइहाल्छ सबै कुरा। जे होस् हामीबिच सैद्धान्तिक, व्यहारिक कुराहरू टुंगिएका छन्। वार्ता कमिटीले थप छलफल गरेर पदसहितका सबै कुराहरू मिलाउँदैछ।
केही दिनअघि हर्क साम्पाङसँग कुरा नमिलेपछि तपाईँले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पनि वार्ता गर्नु भएको थियो नि?
त्यो भेट हर्क साम्पाङ जीसँग कुरा नमिलेर भएको होइन। नयाँ वैकल्पिक शक्तिहरू भएर जानुपर्यो भनेर हामीले कुराकानी गरेका मात्रै हौँ। एउटाले अर्काको खुट्टा तान्दा त पुरानै तरिका हुन्छ नि!
तपाईंहरूको यो एकता प्रक्रियामा कुलमान घिसिङ पनि जोडिनु हुन्छ?
हामी निरन्तर छलफल, सहकार्य गर्दै जान्छौँ। विषय केन्द्रीय छलफल गर्दै गएपछि एकताको एउटा वातावरण बन्छ भन्ने कुरा भएको छ उहाँसँग।
तपाईं पूर्व माओवादी पृष्ठभूमिको नेता, यो एकता प्रक्रियामा अरु पुराना माओवादी नेताहरू पनि जोडिनु हुन्छ कि?
म पछिल्लो चरणमा प्रलोपा भएर यो अभियानमा आएको हो। माओवादी पृष्ठभूमिका कयौँ साथीहरू अहिले छुटिसक्नु भएको छ। म चाहीँ नयाँ अभियान थाल्नको निम्ति तयारीमा रहेको मान्छे हो। मेरो अभियानको टोली ठूलै छ। त्यसको केही हिस्सा पूर्व माओवादी पृष्ठभूमिका साथीहरू पनि हुनुहुन्छ।
तपाईंलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेतासँगै पछि कोसीको मुख्यमन्त्री पनि दिने भन्ने सहमति भएको हो?
त्यो मुख्यमन्त्रीको विषय पछि पार्टीले टुंग्याउला। पार्टीले कसलाई आवश्यक देख्छ, त्यतिबेलै हामी सल्लाह गर्छौँ। अहिलेलाई हामीबिच सैद्धान्तिक, व्यहारिक कुरा, नेतृत्वको विषयहरू टुंगिएका छन्।
Shares

प्रतिक्रिया