राजनीति


सुकुम्वासी बस्तीमा डोजरबारे गगनले भने- यो खालको क्रुरता र बर्बरता अहिलेसम्म देखेको छैन

सुकुम्वासी बस्तीमा डोजरबारे गगनले भने- यो खालको क्रुरता र बर्बरता अहिलेसम्म देखेको छैन

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १८:१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेको गलत कामहरू सिको नगर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन्। 

शुक्रबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘ग्रीन टेबल’ छलफल शृंखलाअन्तर्गत सुकुम्बासी समस्या सम्बन्धी कार्यक्रममा बोल्दै थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुनेमा जोड दिए। 

‘अहिले सत्तामा बसिरहनुभएका साथीहरूको जुन क्रुरता छ नि, जुन बर्बरता छ। यो क्रुरता र बर्बरता पछाडि पनि कम्फटेबल फिल गर्ने कुरा मैले चाँही विगतमा देखेको छैन,’ थापाले भने, ‘यो खालको क्रुरता, बर्बरता मैले अहिलेसम्म देखेको छैन।’

सरकारले सुकुम्वासी बस्तीमा बर्बरता देखाएर पनि ‘कम्फरटेबल फिल’ गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको जिकिर गरे। सरकारले बल प्रयोग गर्दा नागरिकको पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरे। ‘राज्य चलाउँदै गर्दा मसँग करुणा हुनुपर्छ। मैले न्याय गर्नुपर्छ, मैले विवेक पुर्‍याउनु पर्दछ,’ उनले भने।

सुकुम्वासी तथा अव्यवस्थित बस्ती व्यवस्थापनका नाममा कानुनभन्दा बाहिर गएर डोजर चलाउने शैली स्वीकार्य नहुने उनको भनाइ थियो। डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै कानुन, नीति र योजनाका आधारमा मात्रै समस्या समाधान खोजिनुपर्ने बताए। ‘कानुनले दिएको अधिकारभन्दा बाहिर गएर केही पनि गर्नु हुँदैन,’ थापाले भने। 

दशकौँदेखि जटिल बन्दै आएको सुकुम्वासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्ने बताए। वास्तविक सुकुम्वासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने उनको भनाइ थियो। 

कांग्रेसले यस विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै ग्रिन टेबलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने पनि उनले बताए। 

कांग्रेसले ‘ग्रीन टेबल’ कार्यक्रममार्फत नीति निर्माण र जनसरोकारका विषयमा खुला संवाद अघि बढाउन थालेको छ। कांग्रेसभित्र मात्रै सीमित रहने परम्परागत छलफलभन्दा फरक शैलीमा विज्ञ र सरोकारवालासँग प्रत्यक्ष बहस सुरु गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad