प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरेर संसद् बैठक अवरुद्ध गरिरहेका छन्। विपक्षीको अवरोधका कारण सभामुख डोलप्रसाद अर्यालले दुई पटक बैठक स्थगित गरिसकेका छन्।
प्रधानन्त्री शाहले सरकारको नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको उत्तर दिनुपर्ने माग्दै संसद चल्न दिएका छैनन्। बुधबार बिहान ११ बजेदेखि सुरु भएको बैठक दुई पटक स्थगित भइसकेको छ। तर, संसद् बैठकमा जाने प्रधानमन्त्रीको कुनै कार्यक्रम बनेको छैन।
उनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसद्मा टेबल गरेपछि विपक्षी दलहरू बिच्किएका हुन्।
कहाँ छन् प्रधानमन्त्री शाह?
प्रतिनिधि सभामा सांसदहरूले प्रधानमन्त्रीको व्यापक खोजी गरेर संसद् बैठक चल्नै नदिएको बेला कहाँ गए त उनी? नेपालखबरले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी, सचिवालयलगायत विभिन्न व्यक्तिसँग सम्पर्क गरेको थियो।
उनीहरूले दिएको जानकारी अनुसार प्रधानमन्त्री आफ्नै कार्यकक्षमा छन्। ‘अहिले प्रधानमन्त्रीज्यू आफ्नै कार्यकक्षमा हुनुहुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘विशेष भेटघाट पनि छैन।’
सिंहदरबारभित्रै रहेको संसद् भवन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको दूरी एक मिनेटको पनि छैन। प्रधानमन्त्रीको कार्यकक्षमा धेरै व्यक्तिको लागि पहुँच हुँदैन। सीमित व्यक्तिलाई मात्र उनको च्याम्बर जाने सुविधा छ।
त्यसमाथि प्रधानमन्त्रीले धेरै व्यक्तिको जमघट हुन दिएका छैनन्।
बुधबार विहान ९:३३ मा सिंहदरबार प्रवेश गरेका प्रधानमन्त्रीले साढे १० बजे मन्त्रिपरिषद्को बैठक राखेका थिए। उनको कार्यकक्षसँगै रहेको हलमा ५३ मिनेट पछि मन्त्रिपरिषद् बैठकबाट एक मन्त्री निस्केका थिए। त्यस आधारमा करिब ४५ मिनेट मन्त्रिपरिषद् बैठक बसेको देखिन्छ।
त्यसपछि औपचारिक कार्यक्रम र भेटघाट नभएपनि प्रधानमन्त्री शाह करिब पाँच घण्टा प्रधानमन्त्री कार्यालयमा बिताए तर छेवैको संसद भवनमा गएनन्। संसद् बैठकमा उनको तीब्र खोजी भइरहँदा अपरान्ह चार बजे प्रधानमन्त्री शाह सिंहदरबारबाट बाहिरिएको सिंहदरबार सुरक्षा स्रोत बताउँछन्।
‘प्रधानमन्त्रीज्यू आफ्नै काममा व्यस्त हुनुहुन्छ भन्ने जानकारी पाएका छौँ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।
विपक्षीको अडान कायमै
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दलका नेता भीष्मराज आङदेम्बेका अनुसार संसद् सचिवालयले नै आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखेको सूचना सार्वजनिक गरेको थियो। ‘सरकारले ल्याएको कार्यक्रमको जवाफ प्रधानमन्त्रीले दिने हो, यो संसदीय अभ्यास र विगतको परम्परा पनि हो,’ आङदेम्बेले भने, ‘यहाँ आएर उहाँले सांसदको कुरा सुन्नुपर्छ।’ यही कुरा संसद्मा उठाएको उनले बताए।
प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभइ नीति तथा कार्यक्रममाथि अरुको जवाफको अर्थ नहुने एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल बताउँछिन्।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर, राष्ट्रपतिले आफ्नै कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर ४५ मिनेट संसद् बाहिर रहेका थिए।
प्रधानमन्त्रीले संसद्मा अर्मादित व्यवहार देखाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यही समयमा बसेको संसद् बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानमा विपक्षी छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने बैठक छोडेर हिडेका छन्। प्रधानमन्त्री नआउँदासम्म बैठकमा उपस्थित हुनुको अर्थ नभएको उनको भनाइ थियो।
उनले भने, ‘प्रधानमन्त्री नआई नीति तथा कार्यक्रममा के छलफल गर्नु? उनले भने कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्री असक्षम हो।’
प्रधानमन्त्रीलाई उपस्थित गराउने मसँग अधिकार छैन: सभामुख
सभामुख डोलप्रसाद अर्यालले भने आफूसँग प्रधानमन्त्रीलाई मात्र नभएर कुनै पनि सदस्यलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित गराउन रुलिङ गर्न माग गरेपछि सभामुख अर्यालले सो कुरा बताएका हुन्।
‘हामी कानुन निर्माणको थलोमा छौँ। हामी त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिहेका छौँ। हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ। तर, अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नुपर्यो भनेर,’ अर्यालले प्रतिनिधि सभाको बैठकमा भने, ‘म माननीय सदस्यहरूलाई आगामी दिन पनि कोही पनि माननीय सदस्यज्यूहरूको सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोलि यो सदनमा आउन सक्नु हुन्छ वा सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका सोध्न सक्ने कुनै आधार अधिकार मैले देख्दिनँ।’
Shares

प्रतिक्रिया