सुदूरपश्चिम


दोधारा चाँदनी सुक्खा बन्दरगाह- भौतिक संरचना निर्माणको काम तीव्र

दोधारा चाँदनी सुक्खा बन्दरगाह- भौतिक संरचना निर्माणको काम तीव्र

गोकुल जोशी
बैशाख ३१, २०८३ बिहिबार १४:४३, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माण स्थल निर्माणको काम धमाधम भइरहेको छ। अहिले बन्दरगाह निर्माणस्थलमा घेरबार लगाउनेदेखि बन्दरगाहका अन्य संरचना निर्माण कार्य तीव्र रुपमा चलिरहेको छ। 

पछिल्लो तीन महिनायता उक्त क्षेत्रमा प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोडअनलोड सेडलगायतको निर्माण कार्य भइरहेको छ। 

सुक्खा बन्दरगाह निर्माणको ठेक्का भारतीय कम्पनी कम्प्ट कन्सट्रक्सनले पाएको छ। भारत सरकारको सहयोगमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहका लागि भारतकै निर्माण कम्पनी कम्ट कन्सट्रक्सनले २ अर्ब ४० करोड भारुमा ठेक्का पाएको हो। तीन वर्षभित्र काम सक्नेगरी गत साउनमा ठेक्का सम्झौता भएको थियो। 

सुक्खा बन्दरगाहको काम तीव्र गतिमा भइरहेको छ इण्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले बताए। उनका अनुसार पर्खाल, आवास क्षेत्रदेखि आवश्यक भौतिक संरचना लगायतको काम चलिरहेको छ। 

अहिले मलेरिया नालामा पुल निर्माणको काम पनि भइरहेको छ। निर्माण कार्य अनुगमनको काम भारतकै राइट्स लिमिटेडले गरिरहेको छ। इण्टरमोडल यातायात विकास समितिले सहजीकरणको काम गरिरहेको उनले बताए। 

बन्दरगाह निर्माणका लागि कम्पनीले निर्माण सामग्रीदेखि उपकरण सबै भारतबाटै ल्याएको हो। 

सुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ मा रहेको गौरीशंकर सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन खाली गरिएको छ। 

उक्त वनमा रहेका १ हजार ७ सय २ रुख कटान गरिएको थियो। अहिले २५ दशमलव ३ हेक्टरमा मात्रै संरचनाहरू निर्माण भइरहेका छन्। 

सुक्खा बन्दरगाह निर्माणकै लागि महाकाली नदीमा चार लेनको पक्की पुल र पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि मलेरिया नालासम्म ८ किलोमिटर बढी ६ लेनको पहुँच मार्ग निर्माण भइसकेको छ। 

भारततर्फ पनि राष्ट्रिय राजमार्गको जोगबुडा क्षेत्रबाट सुक्खा बन्दरगाहसम्मको पहुँच मार्ग निर्माण भइरहेको छ। बन्दरगाह निर्माण भएपछि यस क्षेत्रमा व्यावसायिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो

दोधारा चाँदनी सुक्खा बन्दरगाहः यसरी हुँदैछ काम (तस्बिरहरू)


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad