राजनीति


रास्वपाको पहिलो महाधिवेशनमा ३ हजार प्रतिनिधि, दुई चरणमा चुनाव

पहिले सभापति र ९९ केन्द्रीय सदस्य चुनिने, त्यसपछि १० पदाधिकारी
रास्वपाको पहिलो महाधिवेशनमा ३ हजार प्रतिनिधि, दुई चरणमा चुनाव

सागर न्यौपाने
बैशाख ३०, २०८३ बुधबार २१:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा झण्डै ३ हजार प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टी गठन भएको चार वर्ष पुगेकै दिन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा सो पार्टीले प्रथम महाधिवेशन आयोजना गर्दैछ। 

पार्टीले केन्द्रदेखि वडा तहसम्म बनाएको संगठनबाट महाधिवेशन प्रतिनिधि चयन गरेर ल्याउनेछ। रास्वपाले सातै प्रदेश, ७७ वटै जिल्ला र ५ सयभन्दा बढी पालिकामा कार्यसमिति गठन गरिसकेको छ।  

केन्द्रीय समिति, विभिन्न निकायहरू, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग, ३८ वटा केन्द्रीय विभाग, प्रतिनिधि सभाका सबै सांसद, प्रदेश समितिका प्रमुख, उपप्रमुख र सचिव र प्रदेशका अनुशासन, लेखा निर्वाचन आयोगका पदाधिकारी रास्वपाको महाधिवेशन प्रतिनिधि रहन्छन्।

यस्तै, प्रत्येक जिल्ला समितिका सभापतिसहित ५ जना, जिल्ला समितिले चयन गरेर पठाउने ५ जना, ७४ जिल्ला– काठमाडौँ सम्पर्क मञ्चका एकएक जना, १३० वटा निर्वाचन क्षेत्रबाट २ जनाको दरले महाधिवेशनका प्रतिनिधि हुनेछन्। यसैगरी, प्रवास नेपाली सम्पर्क विभागबाट पनि महाधिवेशनमा प्रतिनिधि आउनेछन्। रास्वपाको कम्तीमा २५ देशमा सम्पर्क समिति छ। 

यस्तै, पालिका सभापति सबै महाधिवेशनमा प्रतिनिधि रहन पाउँछन्। रास्वपाले अहिलेसम्म ५ सयभन्दा बढी पालिकामा संगठन बनाएको छ। बाँकी पालिकामा अधिवेशन र भेला जारी रहेको रास्वपा संगठन विभाग सचिव शंकर श्रेष्ठले बताए।

पालिका अधिवेशनले गाउँपालिकामा १, नगरपालिकामा २, उपमहानगरपालिकामा ३ र महानगरपालिकामा ४ जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट गरेर पठाउन पाउँछ। तर, यसरी पठाउँदा कुनै कमिटीमा नरहेका व्यक्तिलाई चयन गर्नुपर्ने बाध्यकारी प्रावधान गरिएको उनको भनाइ छ।

यस्तै, संघीय नेतृत्व मञ्च, केन्द्रीय समितिले मनोनीत गरेका व्यक्ति पनि महाधिवेशन प्रतिनिधि रहन्छन्। रास्वपाले प्रतिनिधि सभाको चुनावमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार रहेका तर सांसद हुन नसकेका नेतालाई पनि महाधिवेशन प्रतिनिधि बनाउने भएको छ। 

‘यी सबैबाट मतदाता हुने प्रतिनिधि ३ हजार आसपास हुने देखिन्छ, छनौट प्रक्रिया जारी रहेकोले संख्या बढ्न सक्छ,’ रास्वपा संगठन विभाग सचिव श्रेष्ठले थपे।

स्थापना भएको चार वर्षमै झण्डै दुई तिहाई बहुमत ल्याएर केन्द्रमा बलियो सरकार बनाए लगत्तै रास्वपा पहिलो महाधिवेशनमा जुटेको हो। त्यसैले पनि रास्वपाको यो पहिलो महाधिवेशन नै नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक हुँदैछ।

नेतृत्व चयन गर्न दुई चरणमा निर्वाचन
रास्वपाको मौजुदा विधान अनुसार नेतृत्व चयनको लागि दुई चरणमा निर्वाचन हुन्छ। पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन गरिन्छ। 

त्यसपछि पदाधिकारी चयनको चुनाव हुन्छ। सभापतिबाहेक निर्वाचित पदाधिकारी संख्या १० रहेको छ। जसमा उपसभापति ४, महामन्त्री २, सहमहामन्त्री ४ जना निर्वाचित हुने व्यवस्था छ। यी पदका लागि निर्वाचित ९९ जना सदस्यले मात्र उम्मेदवारी दिन पाउँछन्। 

यस्तै, १ जना कोषाध्यक्ष, प्रवक्ता र सहकोषाध्यक्ष भने कार्यसमिति बैठकले मनोनीत गर्नेछ। त्यसो त विधान संशोधनका लागि गठित कार्यदलले काम गरिरहेको छ। 

महाधिवेशनको मिति तोकिएसँगै बुधबारदेखि रास्वपाको केन्द्रीय समिति भंग भएर सभापति रवि लामिछानेको नेतृत्वमा आयोजक समितिमा रूपान्तरण भएको छ। महाधिवेशनबाट रवि नै नेतृत्वमा चुनिएर आउने निश्चित छ। 

वरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व गरेकाले महाधिवेशनबाट रवि नै चुनिने नेताहरू बताउँछन्। तथापि, लोकतान्त्रिक प्रक्रिया अनुसार नै नेतृत्व चयन गर्ने उनीहरूको भनाइ छ। 

‘महाधिवेशनका प्रतिनिधि सबैलाई उठ्न पाउने अधिकार हुन्छ। केन्द्रले बलजफ्ती गर्दैन,’ एक पदाधिकारीले भने, ‘सर्वसम्मतको प्रयास पनि हुनेछ। सबैको सहमति आएमा चुनावको झन्झट हुँदैन। पार्टीले लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व चयन गर्छ।’

खर्चिलो र भव्य मञ्च नबनाउने, चन्दा नलिने
नेताहरूका अनुसार रास्वपाले महाधिवेशनका लागि खर्चिलो र भव्य मञ्च बनाउने छैन।

महाधिवेशनमा ठूलो संख्या सहभागी हुने भएकोले चितवनको नारायणी किनारदेखि विभिन्न खुल्ला चौर प्रस्ताव गरिएको छ। 

‘करोडौँ खर्च गरेर हाइफाइ तरिकाले गर्दैनौँ, आम जनमानसलाई सन्देश दिनेगरी सामान्य तरिकाले महाधिवेशन सम्पन्न गर्छाैँ,’ संगठन विभाग सचिव शंकर श्रेष्ठले भने,  ‘व्यक्ति, संस्था र व्यापारिक घराना कसैसँग पनि सहयोग रकम माग्दैनौँ। पार्टी सदस्यसँग लेबी उठाउँछौँ र प्रतिनिधिबाट शुल्क लिन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad