नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्रीले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरिरहेको भन्दै आपत्ति जनाइन्।
‘यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ। अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ,’ झाँक्रीले भनिन्, ‘यो काम गरिरहँदा उहाँहरूले कहाँ जान्छौँ भन्ने समेत थाहा पाउनुभएको छैन। यसले नयाँ बाटो दिँदैन।’
सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै पुरानै कार्यक्रमहरुको निरन्तरता भएको टिप्पणी गरिन्। ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरा हो। यसमा बुँदा घटाइएको छ। पुरानै कार्यक्रमहरू दोहो¥याएर खाँदेर लेखिएको छ। त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन,’ उनले भनिन्।
उनले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको बताइन्। ‘यति ठूलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाँही थियो। त्यो मौका नेपालको राजनीतिक इतिहासमा सबै पार्टीलाई जनताले एक न एक पटक दिएका छन्। तर हरेक पटक नेपाली जनताको परिवर्तन र रुपन्तरणको चाहाना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो,’ झाँक्रीले भनिन्, ‘यो नीति तथा कार्यक्रममा पनि यही कुरा देखिन्छ।’
उनले सरकारले सुशासन र डेलिभरीमा जोड दिएको भन्दै नागरिक, राहदानी र जग्गाधनी पूर्जा बाढ्नु मात्रै डेलिभरी नहुने बताइन्। सबै वर्ग र समुदायको मानव अधिकार र मौलिक हकको सुनिश्चितता गर्न आग्रह गरिन्।
Shares

प्रतिक्रिया