सीमा क्षेत्रमा लगाएको सय रुपैयाँको मापदण्डले सबैभन्दा बढी मधेस प्रदेशलाई अप्ठ्यारो भएको सांसद चन्द्रेश्वर मण्डलले बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मण्डलले सरकारले भारतबाट सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाएकोमा आपत्ति जनाए। ‘सय रुपैयाँको सामानमा भन्सार लगाउने सरकारको निर्णयले सबभन्दा पीडामा मधेस परेको छ,’ मण्डलले भने।
मधेस प्रदेसका जनता दैनिक उपभोग्य सामान भारतबाटै ल्याउने गरेको उनले सुनाए। कयौँ वर्षदेखि नेपाल-भारत सीमा क्षेत्रका बासिन्दा दैनिक उपभोग्य सामान ल्याउने गरेको बताए।
‘मधेस प्रदेशका जनता पूजापाठ, बिहेबारी, श्राद्ध गर्न खाद्य सामान भारतबाट लिन्छौँ। यो अहिले बन्द गरिएको छ,’ मण्डलले भने, ‘यसलाई सच्याउनको लागि अनुरोध गर्छु।’
मधेसका जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई विश्वास गरेर मत दिएको उनले स्मरण गराए। मधेसका ३० सिटमध्ये २९ सिट रास्वपाले जितेको छ। एउटा सिट पनि रास्वपा उम्मेदवारकै कारण गुमेको उनले सुनाए।
तर, अहिले सरकारले मधेसलाई नै वेवास्ता गरेको उनको भनाइ थियो। ‘मधेसका जनताले ठोस अपेक्षा राखेको छ। गरिब, दलित आम मतदाताले यो सरकारसँग आशा गरेको छ,’ मण्डलले भने, ‘तर, मधेसका लागि नीति कार्यक्रममा ठोस कार्यक्रम आएन।’
Shares

प्रतिक्रिया