ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
आज (शुक्रबार) विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा उनले आयोजना कार्यान्वयनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
‘एक दिन काम रोकिँदा पनि परियोजनाको लागत उल्लेख्य रूपमा बढ्छ, त्यसैले त्यसतर्फ गम्भीर हुनुहोला। र, स्पष्ट कार्यतालिका बनाएर पूर्ण क्षमताका साथ काम अघि बढाउनुहोला,’ उनले भने।
मन्त्री श्रेष्ठले परिणाम देखिने गरी काम गर्नुपर्ने बताए। वित्तीय क्षमता र स्रोतको अवस्थालाई आधार मानेर यथार्थपरक कार्ययोजना तयार गर्न निर्देशन दिँदै नीतिगत समस्याको समाधानका लागि मन्त्रालय सदैव सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।
‘कुनै परियोजनामा नीतिगत वा प्रशासनिक अवरोध भए त्यसको समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्छ,’ उनले भने।
Shares

प्रतिक्रिया